बुधबार सेयर बजार १२ अंकले बढ्यो। सो अंकको वृद्धिसँगै परिसूचकले ३ हजार १२३ अंकको उच्च रेकर्ड बनाएको छ।
यसअघि हिजो ३१११ को उच्च रेकर्ड बनाएको थियो। बजार बढ्दै जाँदा दिनदिनै नयाँ रेकर्ड बन्न थालेको छ। यस दिन १५ अर्ब ५९ करोड रुपैयाँको सेयर किनबेच भयो।
यस दिन हाइड्रोपावर समूह चम्किएको छ। सो समूह १९४ अंकले बढ्यो। कमाउनेमा पनि अधिकांश जलविद्युत कम्पनीका लगानीकर्ता नै अगाडि रहे।
सो समूह चम्किनुको मुख्य कारण हकप्रद निष्कासन गरी बैंकको ऋण तिर्न सक्ने व्यवस्था मिलाइनु रहेको बताउँछन् सेयर लगानीकर्ता संघका अध्यक्ष उत्तम अर्याल। ‘जलविद्युत आयोजनाहरुले बैंकको ऋण तिर्न हकप्रद जारी गर्न पाउने व्यवस्थाले नै समूह चम्किएको हो’ उनले भने ‘यसले आयोजनाको ऋण र बैंकको ब्याज घट्न जानेछ।’
त्यस्तै विद्युत प्राधिकरणमा कुलमान घिसिङ ल्याउने चर्चाले पनि जलविद्युत समूहमा प्रभाव पारेको हो।
यस दिन बैंकिङ ४, विकास बैंक ६४, फाइनान्स ४४, उत्पादन ३० अंकले बढे। होटल तथा पर्यटन ७, जीवन बीमा २, माइक्रोफाइनानस १२५, निर्जीवन बीमा ८०, अन्य १० र ब्यापार समूह ६० अंकले घटे।
यस दिन माथिल्लो तामाकोसी, कालिका पावर, खानीखोला हाइड्रोपावर, दिव्यश्वरी हाइड्रो, युनियन लाइफ इन्स्योरेन्स, अपि पावर, घलेम्दी हाइड्रोपावरको मूल्य ठिक १० प्रतिशतले बढ्यो।
जीवन विकास लघुवित्त, नारायणी डेभलपमेन्ट, सान्जेन जलविद्युतको मूल्य साढे ९ प्रतिशतभन्दा धेरैले बढेको छ। आँखुखोलाको मूल्य ९ प्रतिशतले बढ्यो। पाँचथर पावरको मूल्य ८ प्रतिशतले बढ्यो।
ङादी ग्रुप पावरको मूल्य ५ प्रतिशतले घट्यो। पोखरा फाइनान्स, विजय लघुवित्त, नेरुढे लघुवित्त, माहुली लघुवित्त तथा साधना लघुवित्तको मूल्य ४ प्रतिशतले घट्यो।
कारोबारका आधारमा अपि पावर अग्रस्थानमा रह्यो। सो कम्पनीको ७९ करोडको कारोबार हुँदा दोस्रोमा रहेको अरुणभ्यालीको ५६ करोडको कारोबार हुँदा सानिमा माइ हाइड्रोको ५० करोडको कारोबार भयो।