केही समयअघि सर्वसाधारणमा सेयर जारी भएको पियोर इनर्जी लिमिटेडको अझै सेयर सूचीकरण हुन सकेको छैन।
सिडिएस एण्ड क्लियरिङ लिमिटेडबाट विवाद निकालेको कारण सेयर कारोबार नभएको कम्पनीले बताउँदै आएको छ।
विशेषगरी सेयरको अन्तर्राष्ट्रिय पहिचानको लागि दिइने आइएसआइएन वा आइजिन नम्बरमा विवाद भएकोले कम्पनी सेयर सूचीकरणमै नगएको बुझिएको छ।
धितोपत्र, ऋणपत्र जस्ता बजारका उपकरणहरूलाई जारी गर्ने संस्था अनुसार दिइने १२ अंकको विशेष पहिचान नम्बर हो, आइजिन।
सिडिएससी सञ्चालन कार्यविधिले सिडिएससीले यस्तो आइजिन नम्बर दिने व्यवस्था गरेको छ। तर, सञ्चालन कार्यविधिमा कतै पनि आइजिन कसरी दिने भन्ने खुलाइएको छैन।
अहिले बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीलाई दुइटा आइजिन दिने गरिएको छ भने अन्यलाई एउटै आइजिन दिँदै आइएको छ।
बैंक तथा वित्तीय संस्थामा संस्थापक र सर्वसाधारणमा रहेको सेयर छुट्याउनु पर्ने व्यवस्था ती क्षेत्रसँग सम्बन्धित ऐनले नै गरेको छ। यही कारण यी संस्थाको संस्थापक वा सर्वसाधारण सेयरलाई छुट्याउन अलगअलग आइजिन दिँदै आइएको छ।
अन्यमा भने निश्चित समयपछि सर्वसाधारण र संस्थापक सेयर एउटै मानिन्छ र त्यही अनुसार कारोबार हुने भएकोले एउटै आइजिन दिइएको हुन्छ।
अहिले अन्य संस्थामा समेत संस्थापक सेयर र सर्वसाधारण सेयरलाई दुइटा आइजिन दिने कुरा उठेपछि विवाद देखिएको हो। तर, सिडिएस एण्ड क्लियरिङ लिमिटेडले भने आइजिनको विवाद नभएको बताएको छ।
‘अहिले आइजिनको विवाद होइन,’ सिडिएससीका एक उच्च अधिकारीले भनिन्, ‘अहिले हामीले सेयर कारोबार हुने प्रणाली (टिएमएस) मा संस्थापक सेयर नदेखाएका हौं। तीन वर्षपछि मात्रै कारोबार गर्न पाइने सेयर अहिले नै कारोबार प्रणालीमा देखिनुपर्ने आवश्यकता पनि छैन।’
जलविद्युत् कम्पनीहरूको संस्थापक तथा स्थानीय तहमा जारी गरिएको सेयरलाई सूचीकरण भएको तीन वर्षसम्म कारोबार गर्न नपाउने गरेर लकिङ पिरियड तोकिएको छ। धितोपत्र दर्ता तथा निष्कासन नियमावलीले नै यस्तो व्यवस्था गरेको छ।
तर, आइजिन नम्बरकै आधारमा भने प्रणालीले लकिङ अवधिसम्म संस्थापक सेयरको कारोबार रोक्का राख्ने गर्दैन।
अहिले पनि नेपाल स्टक एक्सचेन्जमा ९१ वटा जलविद्युत् कम्पनी छन्। तिनीहरू सबै कम्पनीले संस्थापक तथा सर्वसाधारण दुवै सेयरमा एउटै आइजिन पाइरहेका छन्। यो अवधिमा यस्ता कम्पनीहरूको सेयर कारोबार नगर्न नमिल्ने गरेर प्रणालीले रोक्का राख्ने भएपनि कम्पनीहरूले नै प्रणालीमा लकिङ पिरियड उल्लेख गर्ने गर्छन्।
त्यो समयअघि यस्ता सेयर कारोबार नै भएमा भने कारबाही हुन्छ। हालसम्म यसरी समय अगावै यस्ता सेयरको कारोबार नभएको सिडिएस एण्ड क्लियरिङ लिमिटेडका प्रवक्ता सुरेश न्यौपाने बताँउछन्।
त्यसो भए अहिले किन एकाएक आइजिनको विवाद आयो त? हामीले न्यौपानेसँग सोधे पनि उनले यसबारेमा थप कुरा गर्न इच्छा देखाएनन्।
तर, विवाद बढ्दै गएपछि धितोपत्र बोर्डमा समेत यस विषयमा उजुरी पर्यो। धितोपत्र बोर्डले सिडिएससीलाई पत्राचार समेत गर्यो तर गाँठो फुकेन।
बोर्डले गरेको पत्राचारमा सिडिएससीलाई ‘प्रचलित व्यवस्था तथा प्रचलित असल अभ्यासका अनुरूप अबिलम्ब आवश्यक निर्णय लिन निर्देशन दिएको छ। सिडिएससीले भने त्यसमा चासो देखाएको छैन।
सिडिएससी प्रबन्ध निर्देशक प्रविण पन्दाकले स्पष्ट कानुनी आधार नभएकोले आफूहरूले एउटै आइजिन भने नदिने बताउने गरेकी छन्।
‘मलाई एउटै आइजिन दिनुहोस् भनेर धितोपत्र बोर्डबाट लिखित पत्र नै आएमा दिनेछु,’ पन्दाकलाई उदृत गर्दै ती अधिकारीले भनिन्, ‘नत्र, भविष्यमा केही समस्या आए म फस्ने गरेर काम गर्दिनँ।’
पन्दाकले सेतोपाटीसँग औपचारिक कुराकानी गर्न इन्कार गरिन्। तर, त्यस्तै आशय व्यक्त गरिन्।
यी कम्पनीहरूको संस्थापक सेयरको किनबेच तीन वर्षसम्म नहुने व्यवस्था रहेकोले सो समयसम्ममा यस सम्बन्धमा कार्यविधि लगायतका कुनै न कुनै व्यवस्था गरिने उनको आशय थियो।
तर, प्रणालीमा लकिङ पिरियड कायम राख्न आइजिनको प्रयोग नै नहुने भएकोले यसमा सिडिएससीले अनावश्यक विवाद झिकिरहेको यस क्षेत्रका जानकारहरू बताउँछन्।
‘अन्तर्राष्ट्रिय स्तरमा कम्पनीहरू कारोबारमा गएको दिन त्यो सेयर चिन्न सकियोस् भनेर छुट्याउन दिएको एउटा विशेष संकेत नम्बर मात्र हो, आइजिन,’ ती जानकारले भने, ‘कम्पनीको नाम अनुसार दिने संकेत मिल्न जानसक्छ भनेर मात्रै आइजिन दिनुपर्छ भनिएको हो।’
धितोमा राखिएको कारण सेयर कारोबार रोक्का गर्नुपर्दा, लकिङ पिरियडको कारण वा सञ्चालक समिति मै सम्बन्धित सेयरधनी रहेको कारण रोक्का राख्न यस्तो संकेत प्रयोग नै नहुने भएकोले यसरी आइजिन विवादमा कम्पनीहरूलाई अल्झाउन नहुने ती जानकार बताउँछन्।
सेयर कारोबारपछि राफसाफको लागि भने आइजिन नम्बरको प्रयोग हुन्छ। रोक्का राखिएको सेयर कारोबार नै नहुने अवस्था रहेकोले आइजिन नम्बरको विवाद त्यसै उठाइएको उनको भनाइ छ।
यसअघि पनि विभिन्न कम्पनीमा कहिले दुइटा आइजिन नम्बर दिने कहिले हटाइने भएको थियो। लगानी क्षेत्रबाट नेप्सेमा सूचीकृत एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडमा पछि एउटै आइजिन नम्बर प्रयोगमा ल्याइएको थियो। लगानी क्षेत्रकै इमर्जिङ नेपाल लिमिटेड र हाइड्रोइलेक्ट्री इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीमा भने अहिले पनि दुइटा आइजिन प्रयोग गरिएको छ।
यो पनि:
'लकिङ पिरियड' नखुल्दै सेयर किनबेच भए को हुन्छ जिम्मेवार?