आन्तरिक राजश्व विभागले कर तिर्नुपर्ने समयसीमा सारेको छ।
यसअघि विभागले जेठ २५ गतेभित्र चैतसम्म बुझाउनु पर्ने सबै कर बुझाउन सूचना जारी गरेको थियो।
लकडाउनका बेला कर बुझाउन ताकेता गरेको भन्दै उक्त कदमको विरोध भएपछि सरकारले समय सारेको हो।
विभागले बुधबार अर्को सूचना जारी गर्दै मूल्यअभिवृद्धि कर र अन्त:शुल्क असार ७ गतेसम्म बुझाउनु पर्ने र आयकरको दोस्रो किस्ता असार १५ सम्म बुझाइसक्नुपर्ने व्यवस्था गरेको छ।
उक्त मितिमा कर नबुझाएमा ब्याज तथा थप जरिवाना लाग्नेछ।
सरकारले लकडाउनका कारण चैत २५ देखि समयसीमा सार्दै आएको थियो।
नयाँ थपिएको समयभित्र व्यवसायीहरुले २०७६ को माघ,फागुन चैत र २०७७ को वैशाखको मूल्य अभिबृद्धि करको विवरणअनुसार कर बुझाउनुपर्ने छ।
त्यस्तै अन्त:शुल्क २०७६ को फागुन,चैत र २०७७ को वैशाखको विवरण र सोही विवरणअनुसारको कर असार ७ भित्रै बुजाउनुपर्ने छ।
आयकरको विवरण तथा कर बुझाउने समयसीमा भने दुई प्रकारको तोकिएको छ। गएको फागुन,चैत र वैशाख महिनाको बुझाउनुपर्ने अग्रिम कर कट्टीको विवरण तथा असुलीको विवरणअनुसारको कर असार ७ गतेभित्रै बुझाउनुपर्ने छ।
त्यस्तै चैत महिनाभित्रै बुझाउनुपर्ने चालु वर्षको संसोधित अनुमानित आयकरको दोस्रो किस्ता बापतको रकम भने असार १५ भित्र बुझाउनुपरेने छ।
गएको फागुन,चैत र वैशाखको शिक्षा सेवा शुल्क,दुर सञ्चार सेवा दस्तुर, टेलिफोन स्वामित्व शुल्क पनि असार ७ भित्रै बुझाउनुपर्ने छ।