अचेल जन्मदिन होओस् वा वार्षिकोत्सव, मातातीर्थ औंसी होओस् वा पितृ (कुशे) औंसी, हरेकजसो विशेष अवसरमा केक काट्ने चलन बढ्दो छ। कुनै सफलतामा पनि रमाइलो गर्न केक खोजी हुन्छ।
केट काट्ने चलन पश्चिमा अर्थात् युरोप–अमेरिकातिरको मानिन्छ। त्यसैले कतिपयलाई यो चलन चित्त बुझ्दैन।
यस्तैमध्ये एक हुन अनुपा श्रेष्ठ।
'कुनै खुसीयालीमा केक काटेर रमाइलो गर्नु वा सर्प्राइज दिनु पश्चिमा संस्कृति हो। हामीले आफ्नो संस्कृति भुल्नु हुँदैन,' उनी भन्छिन्, 'हामीले आफ्नै संस्कृतिअनुसार खुसी बाँड्न सक्छौं।'
अनुपासँगै उनका साथीहरू विनिशा श्रेष्ठ, राज्यलक्ष्मी श्रेष्ठ र समीक्षा बास्कोटा केकको विकल्प खोजीमा थिए। यही मेसोमा उनीहरूले सुरू गरेका हुन् 'यःमरि मयजू'।
'नेपाली संस्कृति प्रवर्द्धन गर्ने उद्देश्यले यःमरि मयजू सुरू भएको हो,' यसको व्यवस्थापन सम्हालिरहेकी अनुपाले भनिन्।
विनिशा यःमरि मयजूको अन्तर्राष्ट्रिय बजार प्रवर्द्धनमा लागेकी छन्। राज्यलक्ष्मी र समीक्षा भने कम्पनीको दैनिक गतिविधिमा संलग्न छैनन्। राज्यलक्ष्मी रञ्जना लिपिको संरक्षण अभियानमा छिन्, समीक्षा राजनीतिमा। परोक्ष रूपमा भने यी दुई जना पनि आआफ्नो क्षेत्रमा यःमरि मयजूको प्रवर्द्धनको काम गर्छन्।
![](https://www.setopati.com/uploads/editor/old_cms_images/FEATURE/Chetana/yamari%20%283%29.jpg)
यःमरि मयजू 'इभेन्ट व्यवस्थापक' कम्पनी हो। यसले उत्सवका लागि विभिन्न प्याकेज उपलब्ध गराउँछ र ग्राहकले भनेका ठाउँमा सेवा दिन्छ। खानासँगै मनोरञ्जन पनि गराउँछ।
मानौं, तपाईं आफ्नो साथीको जन्मदिनमा केही विशेष गर्न चाहनुहुन्छ। यःमरि मयजूले तपाईंको बजेटअनुसार प्याकेज तयार पारिदिन्छ। त्यसमा खानपिनका परिकारहरू हुन्छन्। विशेष परिकार यःमरि हुन्छ। उपहार पनि राख्न सक्नुहुन्छ।
तपाईंले भनेको ठाउँमा यःमरि मयजूको टोली पुग्छ। उत्सव सुरू गर्न टोलीका सदस्यले माटोको सुकुन्दामा दियो बालिदिन्छन्। सुकुन्दा भनेको नेवारी परम्परामा गणेशको आकृतिसहितको खास किसिमको दियो हो। भक्तपुरका परम्परागत व्यवसायीले बनाएको सुकुन्दा प्रयोग हुन्छ। यो प्याकेजमै आउँछ।
'नेवारी परम्परमा कुनै शुभकार्य सुरू गर्दा दियो बाल्ने चलन छ,' अनुपाले भनिन्, 'हामी पनि हरेक कार्यक्रमअघि सुकुन्दा बाल्छौं।'
सुकुन्दा बालेपछि यःमरि मयजूको टोलीले विशेष प्रस्तुति दिन्छ। यसमा नाचगान समावेश हुन्छ। परिवारजन र आमन्त्रितहरूलाई खानपिन गराउँछ र टोली बिदा हुन्छ।
यस प्रकारको 'सर्प्राइज प्याकेज' मानिसको मस्तिष्कमा लामो समय रहने अनुपा बताउँछिन्।
प्याकेज लिएर गएको टोलीमा युवतीहरूले प्रस्तुति पूरा गर्छन्। यसैअनुसार टोलीलाई 'मयजू' भनिएको हो, मयजू अर्थात् युवती। टोलीमा सहभागी मयजूहरू प्रायः नेवारी पोसाकमा सजिएका हुन्छन्। समुदाय विशेषका ग्राहकको मागअनुसार अन्य वेशभूषामा पनि पुग्छन्।
'हाम्रो दीर्घकालीन लक्ष्य नेपालको हरेक संस्कृति र परम्परा प्रवर्द्धन गर्नु हो,' उनले भनिन्।
बायाँबाट क्रमशः अनुपा श्रेष्ठ, विनिशा श्रेष्ठ, समीक्षा बास्कोटा र राज्यलक्ष्मी श्रेष्ठ![](https://www.setopati.com/uploads/editor/old_cms_images/FEATURE/Chetana/yamari%20%282%29.jpg)
यसरी लिइने सेवाको न्यूनतम शुल्क पाँच हजार रूपैयाँ छ। समारोहमा सहभागी संख्या, खानाका परिकार र अन्य प्रस्तुतिका आधारमा शुल्क तय हुन्छ।
यःमरि मयजू २०७७ पुसदेखि सुरू भएको हो। सुरूमा यो ग्राहकहरूको घरमै यःमरि पुर्याउने उद्देश्यका साथ खुलेको थियो।
नेवार समुदायमा मार्ग शुक्ल पूर्णिमाका दिन यःमरि पुन्ही मनाइन्छ। यस दिन यःमरि बनाएर खाने चलन छ। यसै दिन किरात समुदायले उँधौली पर्व मनाउँछन्।
अनुपा सञ्चारकर्मी थिइन्। करिब २० वर्ष उनी सञ्चारक्षेत्रमा रहिन्। २०७३ सालमा सक्रिय राजनीतिमा लागिन्। यही समय विनिशा, राज्यलक्ष्मी र समीक्षासँग उनको परिचय भयो। अनुपा आबद्ध पार्टीमा बढीजसो युवाहरू थिए। उनीहरू नेपालमै काम गर्नुपर्छ, नेपाललाई अन्तर्राष्ट्रिय जगतमा चिनाउनुपर्छ भन्ने विषयमा अनेक छफलफ गर्थे।
त्यस्तो छलफलबाट अनुपा प्रभावित भइन्। त्यसै बेला कुनै कामबारे सोच्न थालिन्। कुरैकुरामा उनीहरूले यःमरि मयजूको अवधारणा विकास गरेका हुन्।
यःमरि चामलको पिठो मुछेर बनाएको सोली आकारमा भित्र चाकु र तिल वा खुवा हाली बफ्याएर पकाइन्छ।
'यःमरि खानु भनेको पञ्चतत्व सेवन गर्नु हो। यःमरि बनाउँदा प्रयोग हुने पिठोले धर्ती, पानीले जल, चाकुले अग्नि, तिलले वायु र खाली भागले आकाश जनाउँछ। धर्ती (माटो), जल, अग्नि, वायु र आकाश पञ्चतत्व मानिन्छन्,' अनुपाले भनिन्।
यःमरिको अर्थ 'मिठो रोटी' हो। नेवार समुदायमा सभ्यता र संस्कृतिको परिकार मानिने यःमरिबारे थुप्रै किम्बदन्तीहरू छन्। यःमरि मयजूको टोलीले ग्राहकहरूलाई यसबारे पनि जानकारी गराउँछ। यःमरिको उत्पत्ति, लोकप्रियता र स्वादबारे कथा भन्छ।
![](https://www.setopati.com/uploads/editor/old_cms_images/FEATURE/Chetana/yamari%20%285%29.jpg)
हाल यःमरि मयजूमा नौ जना मयजू छन्। उनीहरू आवश्यकता अनुसारको संख्यामा ग्राहकको उत्सवमा सहभागी हुन्छन् र सम्पन्न गराइदिन्छन्। यःमरि र अन्य परिकार बनाउन थप तीन जना महिला काम गर्छन्।
गत पुसदेखि काठमाडौंको कलंकीमा यःमरि मयजूको पसल पनि सुरू भएको छ। अनुपाका अनुसार पसलबाट दैनिक तीन सय वटासम्म यःमरि बिक्छ।
त्यस्तै मासिक छ वटासम्म प्याकेजको अर्डर आउने गरेको छ। सेवाका लागि अग्रिम अर्डर गर्नुपर्छ।
अनुपाका अनुसार यःमरि नेवारी परिकार भएकाले होला, ग्राहक पनि नेवार समुदायकै बढी छन्।
'नाम सुन्दा नेवार समुदायको मात्रै हो कि जस्तो लाग्न सक्छ तर हामी सबै समुदायका ग्राहकलाई सेवा दिन्छौं। अहिले नेवार समुदायका ग्राहक ६० प्रतिशत र अन्य ४० प्रतिशत जति हुन्छन्,' उनले भनिन्।
यःमरि मयजूले संस्कृति हस्तान्तरणमा सहयोग गर्ने उद्देश्यले कार्यशाला पनि सुरू गरेको छ। यो कार्यशाला स्कुले विद्यार्थी र तिनका अभिभावकका लागि लक्षित हो। यसलाई स्कुलहरूमा विस्तार गर्दै जाने योजना छ।
गत साल यःमरि मयजूले 'यःमरि पुन्ही सप्ताह' आयोजना गरेको थियो। आयोजक सदस्यहरूले विभिन्न स्कुलहरूमा पुगेर विद्यार्थीहरूलाई यःमरिको विशेषता बताए। यससँग जोडिएका कथाहरू सुनाए। उक्त कार्यक्रम विद्यालय प्रशासन, शिक्षक, विद्यार्थी सबैले रूचाएको अनुपाले बताइन्।
यःमरि मयजूलाई अन्तर्राष्ट्रिय ब्रान्डका रूपमा चिनाउने सञ्चालकहरूको लक्ष्य छ।
'यसमार्फत नेपाली जातीय संस्कृति र परम्परा प्रवर्द्धनमा सघाउ पुर्याउनु मुख्य उद्देश्य हो,' अनुपाले भनिन्।
(यःमरि मयजूको फेसबुक पेजमा जान यहाँ क्लिक गर्नुहोस्)