नेपालको औद्योगिक तथा व्यावसायिक घराना चौधरी ग्रुपले आफ्ना कर्मचारीहरूको दीर्घ सेवा, समर्पण र योगदानको कदर गर्दै 'एम्प्लोयी सर्भिस माइलस्टोन रिकग्निसन प्रोग्राम' मार्फत सम्मान गरेको छ।
ललितपुरको द प्लाजामा आइतबार आयोजित कार्यक्रममा ग्रुपअन्तर्गतका विभिन्न कम्पनी तथा व्यवसायिक इकाइमा लामो समयदेखि कार्यरत २६३ कर्मचारीहरूलाई विशेष सम्मान प्रदान गरिएको हो ।
'अनरिङ माइलस्टोन्स, सेलिब्रेटिङ यू' भन्ने उदेश्य सहित आयोजित कार्यक्रममा १० वर्षभन्दा बढी तथा २० वर्षभन्दा बढी सेवा अवधि पूरा गरेका कर्मचारीहरूलाई सम्मान गरिएको हो।
त्यस्तै तीन वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीहरूलाई समेत कम्पनीले कदर पत्र प्रदान गर्दै उनीहरूको योगदानको उच्च सम्मान गरेको थियो।
चौधरी ग्रुपले कार्यक्रममार्फत कर्मचारीहरूको संस्थाप्रतिको निष्ठा, मेहनत र निरन्तर योगदानको उच्च मूल्यांकन गरेको हो।
चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरी, चौधरी ग्रुपकी निर्देशक सारिका चौधरी तथा संस्थाका शीर्ष नेतृत्वले दिर्घ सेवा गर्ने कर्मचारीहरुलाई कदर पत्र सहित सम्मान वितरण गरे।
कम्पनीका प्रबन्ध निर्देशक निर्वाण चौधरीले कर्मचारीहरू नै संस्थाको सबैभन्दा ठूलो शक्ति भएको उल्लेख गर्दै दीर्घकालीन समर्पण र विश्वासकै कारण चौधरी ग्रुपले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा सफलता हासिल गर्न सकेको बताए।
'हाम्रो सफलताको आधार नै हाम्रो टिम हो। कर्मचारीहरूको निरन्तर मेहनत, निष्ठा र प्रतिबद्धताले नै चौधरी ग्रुपलाई आजको स्थानमा पुर्याएको हो। हामी केवल व्यवसाय निर्माण गरिरहेका छैनौं, हामी विश्वास, सम्बन्ध र भविष्य निर्माण गरिरहेका छौं,' उनले भने।
चौधरी ग्रुपले कर्मचारीमैत्री कार्यसंस्कृति, दीर्घकालीन करिअर विकास तथा संस्थाप्रतिको अपनत्वलाई सुदृढ बनाउने उद्देश्यले यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै आएको जनाएको छ।
कार्यक्रममा सहभागी कर्मचारीहरूले संस्थाबाट प्राप्त सम्मानले आफूहरूलाई थप प्रेरित र जिम्मेवार बनाएको प्रतिक्रिया दिएका थिए।