आइएमई खल्ती लिमिटेड (खल्ती) ले आफ्ना सम्पूर्ण प्रयोगकर्ताहरूका लागि 'सुपर वालेट' सुविधा सार्वजनिक गरेको छ।
ग्लोबल आइएमई बैंक लिमिटेडसँगको साझेदारीमा सञ्चालित यो सेवा नेपालकै पहिलो यस्तो डिजिटल वालेट सुविधा हो।
जसले प्रयोगकर्ताहरूलाई आफ्नो वालेटमा रहेको मौज्दातमा प्रत्यक्ष ब्याज प्रदान गर्दछ।
यससँगै खल्ती नेपालमा 'नियो बैंकिङ' युगको सुरुवात गर्ने पहिलो डिजिटल भुक्तानी प्लेटफर्म बनेको छ।
यसअघि यो ब्याज सुविधा साविकको आइएमई पेबाट माइग्रेट भएका सीमित प्रयोगकर्ताहरूका लागि मात्र उपलब्ध थियो।
तर अब यो सीमा हटाउँदै खल्तीले आफ्ना सम्पूर्ण केवाइसी प्रमाणित व्यक्तिगत प्रयोगकर्ताहरूका लागि 'सुपर वालेट' को सुविधा विस्तार गरेको छ।
यससँगै खल्ती वालेट अब केवल भुक्तानी गर्ने माध्यम मात्र नभई प्रयोगकर्ताको एक आधुनिक बचत उपकरणका रूपमा परिणत भएको छ।
सुपर वालेटमा आकर्षक ब्याजदर सुविधा छ।
हाल वार्षिक २.७५ प्रतिशतका दरले ब्याज प्रदान गरिने र यो दर साझेदार बैंकद्वारा निर्धारित मानक ब्याजदरमा आधारित रहेको हुनाले मासिक रूपमा परिवर्तन हुन सक्ने कम्पनीले जनाएको छ।
स्वचालित ब्याजको सुविधा पनि यसअन्तर्गत प्रयोगकर्ताले पाउनेछन्।
सुपर वालेट सक्रिय भएपछि वालेटमा रहेको मौज्दातमा दैनिक आधारमा ब्याज गणना भई मासिक रूपमा स्वतः वालेटमा जम्मा हुने कम्पनीको भनाइ छ।
यस्तै सरल डिजिटल प्रक्रिया रहेकाले कुनै बैंक भ्रमण वा झन्झटिलो कागजी प्रक्रिया बिना नै खल्ती एपबाटै यो सुविधा तुरुन्त सुरू गर्न सकिने कम्पनीको भनाइ छ।
कम्पनीका अनुसार सुपर वालेट सुविधा प्राप्त गर्न प्रयोगकर्ताको खाता केवाइसी प्रमाणित हुनुपर्नेछ।
यस्तै केवाइसी प्रमाणित भई कम्तीमा १० वटा सफल कारोबार सम्पन्न गरेको वा केवाइसी प्रमाणित भई वालेटमा ओभरनाइट ब्यालेन्स १ हजार रूपैयाँ कायम गरेको व्यक्तिगत खातामा यो सुविधा उपलब्ध हुनेछ।
यो सुविधा व्यक्तिगत खाताका लागि मात्र उपलब्ध छ।
पिओएस र मर्चेन्ट खाताहरू यसका लागि योग्य नहुने कम्पनीले जनाएको छ।