दाङ तुलसीपुर उपमहानगरपालिका–७ निवासी टीकाकुमारी सार्की यसअघि चुलोचौकामा मात्रै सीमित थिइन्। घरायसी काम गर्नेबाहेक अरू केही थिएन। तर, अहिले उनले गुडिया बनाउन सिकेपछि दैनिकी नै फेरिएको छ। ‘पहिले घरमै बस्ने हुन्थ्यो, काम पनि केही हुँदैनथ्यो, तर अहिले गुडिया बनाउन थालेकी छु,’ उनले भने।
त्यस्तै तुलसीपुर–६ की मीना लामिछाने पनि अहिले अचार बनाउनमा व्यस्त छिन्। घरमा उत्पादन भएको लसुन, खुर्सानी, पाँच, बोडीलगायतका अचार बनाएर बेच्ने गरेकी छन्। उनीहरू यसरी उद्यममा जोडिएका छन्। आयआर्जनमा जोडिएपछि घर खर्च चलाउन पनि घरका अन्य सदस्यसँग माग्नुपर्ने अवस्थाको अन्त्य भएको छ। ‘पहिले केही खर्च चाहियो भने पनि घरमा माग्नु पथ्र्यो,’ लामिछानेले भने, ‘अब त हामी आफै कमाउने भइसकेका छौं।’
उनीहरू उदाहरणमात्रै हुन्। अहिले तुलसीपुरका महिलाहरू यसरी नै आयआर्जनमा जोडिएका छन्। सेवा प्रतिष्ठान दाङको आयोजना तथा सामाजिक विकास डिभिजन कार्यालय तुलसीपुरको आर्थिक सहयोगमा १५ दिने अचार उत्पादन तथा गुडिया निर्माण तालिम सिकेपछि महिलाहरू स्वरोजगारीमार्फत आम्दानीमा जोडिएका हुन्। तुलसीपुर ६, ७ र ९ नं वडाका महिलालाई तालिम दिइएको थियो।
जसमा २५ जना अचार बनाउने, ४७ जना गुडिया बनाउने तालिम दिएर महिलालाई हाल आयआर्जनमा जोडिएको सामाजिक विकास डिभिजन कार्यालय तुलसीपुरका प्रमुख गिरीराज पाण्डेले बताए। उनका अनुसार महिलाहरूले ११ प्रकारका अचार बनाउन सिकेका छन् भने नौ प्रकारका गुडिया बनाउन सिकेका छन्। खरायो, पाण्डा, गणेश, टायर कुसन, लभकुसन, फलावर कुसन, चारकुने कुसन बनाउन सिकेका हुन्। त्यस्तै बोइलर अचार, मिक्स अचार, टिमुर अचार, बोडीको अचार, करेलाको अचार, कागतीको अचार, भागो छोप, मिक्स अचार, लसुन र अदुवाको अचार बनाउन सिकेका हुन्।