नेपालको तयारी चिया प्रवेशमा भारतले नयाँ कानुनी तगारो लगाएपछि नेपाली पक्षले परीक्षणका लागि एउटा गाडी भारत पठाएको छ।
भारतीय चिया बोर्डले यसअघि अभ्यासमा रहेको प्रावधान खारेज गर्दै कडा नियम लागू गरेपछि मे १ देखि नै नेपालबाट भारतीय बजारमा चिया निर्यात रोकिएको छ।
नेपालबाट सबै प्रक्रिया पूरा गरेर भारतीय नाका पुगेका चिया बोकेका गाडीहरू भारतीय नाका पानीट्यांकीबाट केही दिन अघि फर्काएको नेपाली पक्षले परीक्षणका लागि एउटा गाडी भने फेरि पठाएको छ।
'प्रत्येक गाडीको चियाको नमूना संकलन गरेर प्रयोगशाला परीक्षणका लागि कोलकाता पठाउनुपर्ने अनि त्यसको रिपोर्ट आएर 'योग्य' ठहर नभएसम्म नाकामै गाडीहरू थन्किने अवस्था भएपछि फेरि नेपालतिरै फर्काइएको थियो,' चिया उद्योगीहरूको संस्था नेपाल चिया उत्पादक संघका अध्यक्ष आदित्य पराजुलीले आइतबार सेतोपाटीसँग भने, 'अहिले हामीले परीक्षणका लागि चियाको एउटा मात्रै गाडी भारत पठाएका छौं।'
अध्यक्ष पराजुलीका अनुसार भारतीय पक्षको 'मुड' बुझ्न एउटा मात्रै गाडी पठाइएको हो।
'हामीले शुक्रबार एउटा चिया लोड गरिएको गाडी भारतीय क्षेत्रमा प्रवेश गराएका थियौं। भारतमा शनिबार र आइतबार बिदा हुने भएकाले उक्त गाडीको परीक्षण र अन्य प्रक्रिया सोमबारबाट सुरू हुने देखिन्छ,' पराजुलीले भने, 'सोमबारबाट भारतीय पक्षको व्यवहार के हुन्छ भन्ने थाहा हुन्छ। सिजनको सुरूवात भइसकेको भए पनि धेरै गाडी पठाइएको छैन। अहिले परीक्षणका रूपमा एउटा मात्र गाडी छिराइएको छ। त्यसको 'फिडब्याक' आएपछि मात्र थप कदम चालिनेछ।'
तीन दिन अघि नै पानीट्यांकी नाका पुगेको चिया बोकेको गाडीको भारतीय पक्षले स्याम्पल (नमुना) संकलन गरिसकेको छैन।
आइतबार दिउँसो पानीट्यांकी भन्सार नाकाका एक जना कर्मचारीले सेतोपाटीसँगको कुराकानी चियाबारेमा आफूहरूलाई थाहा नहुने टी-बोर्डकै कर्मचारीलाई सोध्नुपर्ने बताए। चिया बोर्डका कर्मचारीहरू आइतबार बिदा भएकाले काममा नआएको ती कर्मचारीले जानकारी दिए।
चिया भारत पठाएको नेपाली पक्षले भने सोमबार नमुना संकलन हुने विश्वास लिएको छ।
'त्यसपछि उनीहरूको व्यवहार कस्तो रहन्छ भन्ने कुराले हाम्रो चिया भारत कसरी पुग्छ भन्ने टुंगो लाग्नेछ,' अध्यक्ष पराजुलीले भने।
चिया उद्योगीहरूले नेपाल सरकारसँग समन्वय गरिसकेको तर कुनै ठोस जवाफ नआएको बताएका छन्।
'हामीले सरकारलाई भारतीय सरकारसँग सिधै वार्ता गरेर नेपाली चियालाई विना रोकटोक प्रवेश पाउने वातावरण मिलाउन माग गरेका छौं,' पराजुलीले भने।
भारतीय चिया बोर्डले आफूले लागू गरेको नयाँ प्रावधानलाई 'स्ट्यान्डर्ड अपरेटिङ प्रोसिड्युर' भनेको छ। यस अनुसार अब नेपालबाट चिया बोकेर जाने हरेक गाडीमा लोड भएको चियाको नमूना प्रयोगशाला परीक्षण गर्नुपर्नेछ।
यसअघि भारत जाने चियाको एउटा नमूना प्रयोगशालामा जाँचेर पास भएपछि तीन महिना वा २० वटा गाडीसम्म निर्यात गर्न पाइने सुविधा थियो।
तर मे १ देखि लागू हुने गरी प्रत्येक गाडीको चिया परीक्षण गर्नुपर्ने प्रावधान कार्यान्वयन गरिएको हो।
यो प्रावधानले झन्झट र त्रास दुवै बढाएको नेपाली चिया निर्यातकर्ताहरू बताउँछन्। भारतले नेपालको सीमा नजिकै कुनै पनि प्रयोगशाला स्थापना गरेको छैन। त्यसैले निर्यात हुने सबै खाद्यवस्तुको परीक्षण कोलकातामा मात्र हुँदै आएको छ।
कोलकाताबाट नमूना परीक्षण भएर आइपुग्न कम्तिमा दुई साता लाग्छ।
प्रत्येक गाडीमा भएका चियाको प्रयोगशाला परीक्षण गर्नुपर्ने प्रावधान सुरू भएको १० दिनयता नेपाली चियाको भारत निकासी ठप्प छ। नाकामा पुगेको एउटा गाडीको नमुना संकलन नै भइसकेको छैन।
चिया निर्यातकर्ता उद्योगी दिनेश अग्रवालका अनुसार नाकामा दुई सातासम्म चिया बोकेका गाडी बाटैमा रोकेर राख्दा झरी र घामले चियाको गुणस्तरमै प्रतिकूल प्रभाव पार्ने खतरा हुन्छ।
चिया, अदुवा, अम्लिसो, अलैंची लगायतका वस्तुको मुख्य बजार भारत हो। तीमध्ये प्रशोधन भएर तयारी अवस्थामा भारतीय बजार पुग्ने वस्तु चिया हो।
चिया उद्योगीहरूका अनुसार भारतको नयाँ प्रबन्धले लागत र झन्झट दुवै बढाइदिएको छ। यसले भारतीय बजारमा पुग्दै गर्दा नेपाली उत्पादनको प्रतिस्पर्धात्मक क्षमता घटाइदिएको छ।
राष्ट्रिय चिया तथा कफी विकास बोर्डका अनुसार नेपालमा उत्पादन हुने सिटिसी चियाको ५० प्रतिशतभन्दा बढी हिस्सा भारतीय बजारमा पुग्छ। अर्थोडक्स चियाको ९० प्रतिशत हिस्सा पनि भारत नै निर्यात हुन्छ।
नेपाली चियाले भारतीय पक्षबाट यस्तो अवरोध झेलेको यो पहिलो घटना भने होइन।
नेपालबाट भारतीय बजार जाने चिया होस् या कुचो, अदुवा होस् वा अलैंची, यी वस्तुले हरेक वर्ष कुनै न कुनै बहानामा भारतीय अवरोध झेल्दै आएका छन्। तीमध्ये चिया र अदुवाले बढी अवरोध झेल्नुपर्ने बाध्यता छ। यसको मुख्य कारण नेपाली उत्पादनले भारतीय बजार ओगटेको भन्ने त्यहाँको आन्तरिक असन्तुष्टि हो।
'दार्जिलिङको चियालाई नेपाली चियाले चुनौती दिएको भन्ने सोच भारतीय पक्षमा हाबी देखिन्छ,' चिया उद्योगी दिनेश अग्रवालले भने, 'नेपालको उत्पादनलाई आफ्नो लेभल लगाएर दार्जिलिङले बजार पठाउन थालेको धेरै भइसकेको छ। अझै पनि नेपालको चिया रोक्न त्यहाँको एउटा तप्का सक्रिय छ। सरकारले त्यसैको प्रभावमा परेर बेलाबेला यस्तो निर्णय गर्छ।'
चिया उत्पादक संघका अध्यक्ष पराजुलीले दार्जिलिङ र इलामको चिया एकै प्रकृतिको भूगोल र गुणस्तरको भएकाले फरक व्यवहार गर्न नहुने बताएका छन्।
'एकै खालको डाँडापाखा हो, जम्मा मेची नदीले छुट्याएको हो,' उनले भने, 'मेची पारीको हरेक प्याकेट चेक गर्नुपर्ने अवस्था होइन। चेक गर्दा पनि तत्कालै रिपोर्ट दिने व्यवस्था भारतले गर्न सक्छ।'
नेपालमा वार्षिक १ करोड ९० लाख किलो सिटिसी चिया उत्पादन हुने बोर्डको तथ्यांक छ। त्यसमध्ये १ करोड किलो चिया भारतीय बजारमा निर्यात हुन्छ। सिटिसी चिया झापामा सबभन्दा धेरै उत्पादन हुन्छ।
त्यस्तै, वार्षिक ७० लाख किलो उत्पादन हुने अर्थोडक्स चियामध्ये ६० लाख किलो भारतीय बजार पुग्छ। इलाम, पाँचथर, धनकुटा लगायतका पहाडी जिल्लामा यो चिया उत्पादन हुने गरेको छ।
हरेक वर्ष सरदर साढे चार अर्ब रूपैयाँभन्दा बढी विदेशी मुद्रा भित्र्याउने चियाको अन्तर्राष्ट्रिय बजार सुरक्षित गर्न सरकारले बलियो कूटनीतिक पहल गर्नुपर्ने उद्योगीहरूको भनाइ छ।