खोकनाका कान्छा महर्जनले केही महिनाअघि आफ्नो पाँच रोपनी जग्गामा तोरीको दाना छरे।
ती तोरी अहिलेसम्म राम्ररी उम्रिएका छैनन्।
'मौसम यस्तो छ। आकाशबाट पानी परेको छैन। राजकुलोबाट पानी नआएको पाँच वर्ष भइसक्यो,' दुःखी हुँदै कान्छाले भने, 'यतिबेला यहाँका खेत हेर्नुभयो भने सबै बाँझो देख्नुहुन्छ। तोरी छरेर के गर्नु? मेरो १५-२० हजार रूपैयाँ मात्र खर्च भयो।'
गत साता फोटो सर्कलले 'रिइम्याजिनिङ म्युजियम्स इन नेपाल' नामक चार दिने कार्यशाला सञ्चालन गरेको थियो। नेपाल र नेपालबाहिरका संग्रहालयहरू कसरी सञ्चालन र परिभाषित भइरहेका छन् भन्ने विषयमा विभिन्न संग्रहालयका प्रस्तुतिसँगै त्यसबारे छलफल भएको थियो।
त्यहीक्रममा कुनै पनि ठाउँ कसरी आफैंमा संग्रहालय हुन सक्छ भन्ने बुझाउन सहभागीहरूलाई एक दिन खोकना घुमाउन लगिएको थियो।
हामी पनि पुगेका थियौं।
खोकना पुगेपछि सहभागीहरूलाई तीन भागमा विभाजन गरियो — खेत, राजकुलो र तोरी मिल।
यी तीनैको सम्बन्ध एकअर्कासँग अन्योन्याश्रित छ।
हामी पुग्दा खेतहरू हराभरा थिएनन्, बाँझा थिए। राजुकलोमा पानी थिएन। सामुदायिक तोरी मिल एउटा मात्र सञ्चालनमा थियो।
कान्छा महर्जनसँग हाम्रो भेट पनि फोटो सर्कलको त्यही कार्यशालाबेला भएको हो। उनी खोकनाको सामुदायिक तोरी मिल 'गाबु ज्याः सा' का सञ्चालक पनि हुन्।
खोकनामा चारवटा सामुदायिक तोरी मिल छन् — गाबु ज्याः सा, कुटु सा, न्ह्योबु सा र न्हु सा।
नेपाल भाषामा 'सा' भनेको कोल वा मिल हो। यहाँका तीनवटा मिल; गाबु ज्याः सा, कुटु सा र न्ह्योबु सा ठाउँका आधारमा नामकरण गरिएका हुन्।
न्हु सा भने सबभन्दा नयाँ तोरी मिल भएको आधारमा राखिएको हो। नेपाल भाषामा 'न्हु' को अर्थ नयाँ हो।
न्हु सा खुलेको सन् १९०२ मा हो। त्यस आधारमा यो १२२ वर्ष पुरानो मिल हो। सन् २००९ मा त्रिभुवन विश्वविद्यालयबाट प्रकाशित 'नेपलिज जर्नल अफ डेभलपमेन्ट एन्ड रूरल स्टडिज' को अंक ६ मा खोकनाको मिलबारे अध्ययन गरिएको रिपोर्ट प्रकाशित छ।
तुलसी शरण सिग्देल र निराना शाक्यद्वारा अध्ययन गरिएको उक्त रिपोर्टका अनुसार न्हु सामा करिब १५६ जनाको सेयर लगानी थियो।
'यो मिल सामुदायिक रूपमा खुलेको थियो। सन् १९९० सम्म यो मिल सञ्चालन थियो,' रिपोर्टमा लेखिएको छ।
रिपोर्टअनुसार करिब ६ सय वर्षअघि सबैभन्दा पुरानो मिलका रूपमा कुटु सा संचालनमा आएको थियो।
![khokana oil mill (14).jpg](https://www.setopati.com/uploads/editor/2023 chetana G/misc/oil mill khokana/khokana oil mill (14).jpg)
![khokana oil mill (2).jpg](https://www.setopati.com/uploads/editor/2023 chetana G/misc/oil mill khokana/khokana oil mill (2).jpg)
खोकनाकै स्थानीय हरिनाथ डंगोलले पनि आफ्नो स्नातकोत्तर थेसिसमा खोकनाको तेल मिलबारे अध्ययन गरेका छन्। उनका अनुसार खोकनाको हाल संचालनमा रहेको मिल गाबु ज्याः सा करिब ४-५ सय वर्ष पुरानो हो। यो मिलमा १४४ जनाको सेयर लगानी थियो।
खोकनाका चारवटै तेल मिल सहकारी ढाँचामा चलेका देखिन्छन्। संसारमा सहकारीको सुरूआत सन् १८४४ मा बेलायतमा भएको थियो। सेयर लगानी हुँदै चलेको खोकनाको तेल मिल हेर्ने हो भने नेपालमा यसको अभ्यास धेरै अगाडिबाट भएको बुझ्न सकिन्छ।
'हरेक वर्षको वैशाख २ गते भिन्द्यः (भिमसेन) पूजा गरेपछि मिलका सेयरधनीहरूलाई बोलाएर भोज हुन्थ्यो। त्यो अहिलेका सहकारी र आधुनिक संघसंस्थासँग ठ्याक्कै मिल्छ,' तुलसी शरण सिग्देल र निराना शाक्यको रिपोर्टमा लेखिएको छ, 'त्यही दिन वर्षभरिको आम्दानी र खर्चको लेखाजोखा गरिन्थ्यो। भविष्यमा मिल कसरी सञ्चालन गर्ने भनेर छलफल पनि हुन्थ्यो।'
मिलको साझा कोषमा जम्मा भएको रकम सडक, पोखरी, बाटो निर्माण लगायत विकासका गतिविधिमा खर्च गरिन्थ्यो।
'गाउँका प्रधानपञ्चले चारवटै मिलका प्रमुख व्यक्तिलाई बोलाउँथे र विकासका गतिविधिमा लगानी गर्न आह्वान गर्थे। सरकारी निकायलाई आफ्नो गाउँ विकासका निम्ति सहयोग गर्न झक्झकाउन जरूरत नै पर्थेन,' रिपोर्टमा लेखिएको छ।
गाबु ज्याः साका सञ्चालक कान्छा महर्जनका अनुसार त्यतिबेला चारवटा मिलमा एक हिसाबको प्रतिस्पर्धा जस्तै हुन्थ्यो। गाउँभरका मानिस कुनै न कुनै मिलमा आबद्ध हुन्थे। उनीहरू आफ्नो खेतमा उब्जिएका तोरी आफूआबद्ध मिलमा लगेर पिन्थे। आफ्नो संकलनमा भएका तोरी उनीहरू दिनमा मात्र होइन, रातभर पनि पिन्थे। त्यसलाई आफू उपभोग गर्थे र बजारमा पनि बेच्थे।
'त्योबेला काठमाडौं वरपर तोरी तेल आपूर्ति गर्ने खोकना मात्र थियो। त्यसैले यहाँको तेलको माग व्यापक थियो। चारवटा मिलले सिंगो काठमाडौंलाई भ्याइरहेको थियो,' उनले भने।
तेल खर्पनमा बोक्दै दक्षिणकाली, थानकोट, मातातीर्थ, चन्द्रागिरि, भिमफेदी, सिस्नेरी, कुलेखानी, हेटौंडा हुँदै टाढाटाढासम्म पुगेको कान्छालाई अझै सम्झना छ।
'कहिलेकाहीँ त दुई-तीन दिन लगाएर पनि बेचेर आउँथ्यौं,' कान्छाले भने, 'हामी तेल बेचेर पैसा होइन, तोरीकै दाना साटेर ल्याउँथ्यौं। त्यसलाई पिनेर फेरि तेल बनाउथ्यौं।'
आफ्नो फाइदा तेलमा भन्दा बाँकी भएको तोरीको छोक्रा अर्थात् पिनामा हुने गरेको उनी बताउँछन्।
'नगद भनेकै पिनामा हो। तेलमा भन्दा पिनामा फाइदा हुन्थ्यो र अहिले पनि त्यसैमा बढी फाइदा हुन्छ,' उनले भने।
कान्छाले २०६९ सालमा यो मिल पुनः सुचारू गरेका हुन्। त्यसअघि तीस वर्षसम्म बन्द थियो। यहाँका अन्य मिल पनि त्यहीताका बन्द भएका हुन्। उनका अनुसार वरपर धमाधम नयाँ मिल खुलेपछि पुराना सामुदायिक मिल बन्द हुन थाले।
'यहाँ अन्य सुविधा सम्पन्न निजी मिल खुले। पहिलेजस्तो सेयरको ढाँचाले पनि काम गरेन र मानिसहरू यत्रतत्र छरिए,' उनले भने, 'पहिला त यहाँका सबैजसो मानिस कृषिमा लागेका थिए र फुर्सदको समय सदुपयोग गर्न मिललाई व्यावसायिक ढंगले लगेका थिए। अहिले त आम्दानीका लागि मिलमा मात्र भर पर्नुपर्ने अवस्था पनि रहेन।'
उनी आफैं पनि मिल बन्द भएपछि तीस वर्ष निजामती सेवामा लागेका थिए। अवकाश पाएपछि पुनः मिलकै काममा फर्किएका हुन्।
'खोकनाका मान्छेले यहाँको तेल भनेर अन्तको बेच्न थाले। तेलमा धेरै मिसावट भएको कुरा आएपछि फेरि मिल चलाउनुपर्यो भनेर आँटेको हुँ,' उनले भने।
२०६९ सालयताका ११ वर्षमा कान्छाले मिलमा धेरै समस्या भोगेका छन्। पहिलो समस्या त तोरी पाउनु नै भयो। सामुदायिक ढाँचामा मिल सञ्चालन नहुँदा उनी एक्लैले तोरी खोज्नुपर्ने भयो। पहिले पनि खोकनाको मात्रै तोरीले पुग्दैन थियो। काठमाडौं वरपर फल्ने तोरी पनि ल्याएर पेलिन्थ्यो।
अहिले काठमाडौं वरपरकोले पनि नपुग्ने भइसक्यो। कान्छाकोमा अस्ट्रेलिया, युक्रेन र क्यानडाबाट समेत तोरी आउँछ।
'दस वर्षअघिसम्म नेपाली तोरी प्रशस्तै थियो। अहिले ५० प्रतिशत नेपाली तोरी पुर्याउन धौधौ परिसक्यो,' उनले भने, 'अहिले हामी मिलमा आधा नेपाली र आधा विदेशी तोरी हालेर तेल निकाल्छौं। सबभन्दा राम्रो अस्ट्रेलियाको तोरी हो।'
राजकुलोको उचित व्यवस्थापन नहुँदा पनि तोरी फल्न समस्या भएको उनको बुझाइ छ।
कान्छा महर्जन![khokana oil mill (4).jpg](https://www.setopati.com/uploads/editor/2023 chetana G/misc/oil mill khokana/khokana oil mill (4).jpg)
खोकनामा करिब ८ किलोमिटर टाढा टीकाभैरवबाट राजकुलोमार्फत पानी आपूर्ति हुन्छ। अहिले यो राजकुलो कम, फोहोर फाल्ने नहरजस्तो ज्यादा देखिन्छ। पहिला हरेक साल राजकुलो मर्मत र सरसफाइ गरिन्थ्यो। राजकुलो भएपछि खेतमा सिँचाइको समस्या थिएन। अहिले पनि वर्षको दुईपटक सफा गरिन्छ तर कुलोबाट पानी आउँदैन।
'हामी हरेक वर्ष बाजा बजाएर कुलो सफा गर्न जान्छौं तर पानी आए पो!' कान्छाले भने, 'पहिले माटोको कुलो थियो, सफा गर्नासाथ पानी झर्थ्यो। जबदेखि कंक्रिटको भयो, त्यसलाई बनाउने अनि बिगार्ने गर्दागर्दै पानी प्रणालीमै असर पुग्यो। राजकुलोको नाममा अहिलेसम्म करोडौं बजेट खर्च भइसक्यो। पानी चाहिँ आउँदैन।'
उनका अनुसार करिब पाँच वर्षयता राजकुलोबाट राम्ररी पानी आएको छैन। बर्खा नहुँदा बालीनालीको विजोग भएको उनी बताउँछन्।
स्थानीय हरिनाथ डंगोल सरकारको पुननिर्मित संरचनाले राम्ररी काम गर्न नसकेको बताउँछन्।
'खोकना गाउँ विकास समिति हुँदै ठीक थियो। मानिसहरू श्रद्धापूर्वक भित्री मनबाटै राजकुलो सफा गर्न जान्थे। म नगए कुलो सफा हुँदैन र आफ्नै खेतलाई घाटा हुन्छ भन्ने सोच्थे,' हरिनाथले भने, 'अहिले त वडाले पछि आफ्नो काममा सिफारिस नदेला भन्ने डरले मात्र जान्छन्।'
खेतमा काम गर्ने मानिसको उचित सम्मान नहुँदा पनि धेरैले यो काम छाडेको र राजकुलोको महत्त्व नबुझेको उनी बताउँछन्।
'खेतमा काम गर्ने तल्लो तह र विदेश जाने उच्च तहको भन्ने सोचले पनि मानिसहरू कृषिमा त्यति आकर्षित भएनन्। यहाँ काम गर्दाभन्दा बाहिर फाइदा हुनुका साथै सम्मान पाइने भएपछि मानिसले पुर्ख्यौली सीप त्यत्तिकै छाडे,' हरिनाथले भने।
ललितपुर महानगरपालिका वडा नम्बर २१ (खोकना) का वडाध्यक्ष रवीन्द्र महर्जनका अनुसार खोकनामा बन्ने भनिएका ठूला परियोजना पनि खेतीका लागि समस्या हुन्।
'स्मार्ट सिटी बनाउन करिब ६ हजार रोपनी जग्गा लाने निर्णय गरिएको छ। त्यसबारे हामी निरन्तर विरोध गरिरहेका छौं,' वडाध्यक्ष रवीन्द्रले भने, 'यहाँको खेतियोग्य जमिन सकेसम्म संरक्षण गर्नुपर्छ भनेर हामीले नक्सा बनाएर योजना बनाएका छौं। कुन ठाउँमा कस्तो बाली उपयुक्त होला भनेर अध्ययन पनि गरिरहेका छौं।'
राजकुलोका लागि वडाबाट यो वर्ष ६० लाख रूपैयाँ बजेट खर्च हुँदैछ। तर टीकाभैरवदेखि खोकनासम्म आउने बीचको बाटोमै समस्या भएकाले पानी आउन समस्या भइरहेको उनले बताए।
खोकनाको सामुदायिक तोरी मिलमा पनि वडाले चासो दिएर काम गरिरहेको उनको भनाइ छ।
वर्षौंदेखि सञ्चालनमा नआएका र भूकम्पले क्षति पुर्याएका मिललाई अनुदान दिएर निर्माण गरिँदैछ। तिनलाई पुनः सञ्चालनमा ल्याउन आफूहरूले सहकारीसँग पनि समन्वय गरेर काम गर्न खोजेको वडाध्यक्ष रवीन्द्रले बताए।
'हामी केही अनुदान दिन्छौं, सहकारी पनि अगाडि बढ्नुस् भनेर कुराकानी हुँदैछ,' उनले भने।
खोकना काठमाडौं उपत्यकाको दक्षिणतर्फ पर्ने पुरानो नेवार बस्ती हो। यो नेपालमा बिजुली पुगेको पहिलो सहर पनि हो। राणा प्रधानमन्त्री चन्द्र शमशेरले सन् १९११ मा पहिलोपटक यहाँ बिजुली पुर्याएका थिए। स्थानीय गाउँ र तोरी तेलको औद्योगिक सम्पदा प्रतिनिधित्व गर्ने ठाउँका रूपमा युनेस्कोले खोकनालाई विश्व सम्पदाको सूचीमा प्रस्तावित पनि गरेको थियो।
खोकनाको मौलिकता जोगाउन यहाँका सामुदायिक तोरी मिलहरू तत्काल खोल्नुपर्ने आवश्यकता देख्छन् स्थानीय हरिनाथ डंगोल।
परम्परागत तरिकाले चल्दै आएको सेयर प्रणालीलाई पनि नयाँ ढंगले आधिकारिक रूपमा सञ्चालन गर्नुपर्ने उनको भनाइ छ।
'हामीलाई पनि यहाँका तोरी मिलमा सेयर लगानी गर्न मन छ तर डराइरहेका छौं। सरकारले उचित तरिकाले सञ्चालनमा ल्याउने हो भने हामी खुसीखुसी लगानी गर्ने थियौं,' उनले भने।
यहाँको पुर्ख्यौली सीप, कला र ज्ञानलाई पनि समुदाय स्तरमा परिचालित गर्दै नयाँ पुस्तालाई हस्तान्तरण गर्नुपर्ने आवश्यकता उनले देखेका छन्।
'हामीसँग भएकै ज्ञान र सीप परिचालन गर्न सकियो भने त्यो आफैंमा संग्रहालय हो,' रैथाने खाजाघर 'लाछी' का सञ्चालक पनि रहेका हरिनाथले भने, 'कुनै दिन हाम्रो तोरीको मिल, यहाँको बिउ वा संस्कृति, परम्परा र सीपहरू संग्रहालयमा खोज्दै हिँड्नुपर्यो भने त्योभन्दा दुःखको कुरा अर्को नहोला!'
सबै तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी
![khokana oil mill (6).jpg](https://www.setopati.com/uploads/editor/2023 chetana G/misc/oil mill khokana/khokana oil mill (6).jpg)
![khokana oil mill (7).jpg](https://www.setopati.com/uploads/editor/2023 chetana G/misc/oil mill khokana/khokana oil mill (7).jpg)
![khokana oil mill (1).jpg](https://www.setopati.com/uploads/editor/2023 chetana G/misc/oil mill khokana/khokana oil mill (1).jpg)
![khokana oil mill (3).jpg](https://www.setopati.com/uploads/editor/2023 chetana G/misc/oil mill khokana/khokana oil mill (3).jpg)
![khokana oil mill (12).jpg](https://www.setopati.com/uploads/editor/2023 chetana G/misc/oil mill khokana/khokana oil mill (12).jpg)
![khokana oil mill (13).jpg](https://www.setopati.com/uploads/editor/2023 chetana G/misc/oil mill khokana/khokana oil mill (13).jpg)
![khokana oil mill (10).jpg](https://www.setopati.com/uploads/editor/2023 chetana G/misc/oil mill khokana/khokana oil mill (10).jpg)
![khokana oil mill (5).jpg](https://www.setopati.com/uploads/editor/2023 chetana G/misc/oil mill khokana/khokana oil mill (5).jpg)
![khokana oil mill (8).jpg](https://www.setopati.com/uploads/editor/2023 chetana G/misc/oil mill khokana/khokana oil mill (8).jpg)