शुक्रबार अन्तर्राष्ट्रिय बजारमा प्रतिडलर ९०.३७ भारूमा कारोबार भइरहेको छ।
यसै दिन प्रतिडलर बराबर ९०.८६ भारूको विनिमय दर पुग्यो। भारूमा भएको यो अवमूल्यनलाई अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले हालसम्मकै उच्च भएको बताएका छन्।
अमेरिकाले भारतलाई लगाएको उच्च व्यापार कर, त्यसको सन्दर्भमा विगत दुई दिनयता दुई पक्षबीच भइरहेको वार्ताबाट ठोस निष्कर्ष बाहिर आएको छैन।
व्यापार मामिलामा दुई देशका प्रतिनिधिबीच छलफल चलिरहँदा वैदेशिक लगानीकर्ताहरूले पोजिसन लिन सकेका छैनन्। र, विदेशी लगानी बाहिरिने क्रम चलिरहेकै छ। यसले गर्दा भारू इतिहासकै कमजोर भइरहेको छ।
भारू कमजोर हुँदा ३२ वर्षदेखि सटही दर स्थिर राखिएको नेपाललाई समेत असर परिरहेको छ। सन् १९९३ (वि.सं २०४९) मा एक भारतीय रूपैयाँ बराबर एक रूपैयाँ ६० पैसाको स्थिर विनिमय दर कायम छ।
भारू कमजोर हुँदा पछिल्लो एक वर्षमा मात्रै डलरसँग नेपाली रूपैयाँ ६.९५ प्रतिशतले सस्तो भएको छ। २०८१ मंसिर १६ मा एक डलरको लागि एक सय ३५ रूपैयाँ ४८ पैसा तिरिरहेका नेपालीहरू अहिले एक सय ४४ रूपैयाँ ९० पैसा तिरिरहेका छन्।
यो राष्ट्र बैंकले तोकेको डलरको बिक्री दर हो।
डलरको भाउ बढ्दा सामान्यतया नेपाल भित्रने रेमिटेन्स बढ्छ। तर, आयात महंगिने, मूल्य वृद्धि हुने जस्ता समस्या देखापर्छ।
नेपालमा पछिल्लो समय रेमिटेन्स भित्रने दर उच्च छ। पछिल्लो समय रेमिटेन्स बढिरहेकै कारण मुलुकको विदेशी मुद्राको सञ्चिति २९ खर्ब ७९ अर्ब रूपैयाँ पुगेको छ। यो सञ्चितिले मुलुकको १६ महिनाभन्दा बढीको आयात धान्ने अवस्था छ।
यसरी नेपाली मुद्रा अवमूल्यन भइरहँदा रेमिटेन्स बढे पनि बजार भाउ महँगिँदा वास्तविक क्रय क्षमतामा भने ह्रास आउनेछ।
अर्थमन्त्री रामेश्वर खनालकै केही महिना अघिको उच्चस्तरिय आर्थिक सुधार सुझाव आयोगको प्रतिवेदनले समेत मुद्रा अवमूल्यनको भार बैंकिङ क्षेत्रको ब्याजदरमा धेरै परिरहेको उल्लेख गरेको छ।
प्रतिवेदनमा भनिएको छ, ‘अमेरिकी डलरसँग विनिमय दरमा आउने परिवर्तन नेपालको कारणलेभन्दा भारतीय मुद्राको कारण हुँदा भारत हुँदै तेस्रो मुलुकबाट हुने आयात मूल्य प्रभावित हुने र डलरमा भुक्तानी गर्नुपर्ने वैदेशिक ऋणको भारमा परिवर्तन आउने गरेको छ। खासमा डलरको मूल्य धेरैजसो समय बढ्ने गरेको छ।’
यसले गर्दा मौद्रिक नीतिको प्रभावकारितामा कमी आउने गरेको, नेपाली अर्थतन्त्रमा ब्याजदरमा बढी उतारचढाव आउने गरेको र यसले दीर्घकालीन प्रकृतिको लगानीको व्यावसायिक लगानी नकारात्मक ढंगले प्रभावित हुने गरेको प्रतिवेदनले उल्लेख गरेको छ।
खनाल संयोजक रहेको प्रतिवेदनले विनिमय दर परिवर्तन नै गर्न सुझाव नदिएको र पुनमूल्यांकन गर्नुपर्ने होकी मात्र भनेको राष्ट्र बैंकको बुझाइ छ।
त्यसबाहेक केही समयअघि अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) को नेपालसम्बन्धी आर्टिकल–४ कन्सल्टेशन रिपोर्टले पनि डलरसँगको विनिमय दर ह्रास भइरहेपनि भारूसँग नेपाली मुद्राको विनिमय दर स्थिर गरिरहेकोले यसले प्रभावकारी विनिमयदरमा खासै परिवर्तन नआएको उल्लेख गरेको छ।
‘आइएमएफले पनि भारूसँग स्थिर राखिएको विनिमय दरले खासै समस्या नभएको उल्लेख गरेको छ,’ राष्ट्र बैंकका अनुसन्धान बिभाग प्रमुख तथा कार्यकारी निर्देशक डा. रामशरण खरेल भन्छन्, ‘हामी आफैले पनि विनिमय दरको सूक्ष्म विश्लेषण गरिरहेकै छौं।’
उच्च आयात हुने मुलुकको मूल्य वृद्धिदरको तुलनामा मूल्य वृद्धि धेरै भएको अवस्थामा, विदेशी मुद्राको सञ्चिति उच्च हुँदा, मुद्रा उच्च दरमा अधिमूल्यन भएको कारण निर्यात प्रतिस्पर्धा क्षमता घटेमा पनि स्थिर विनिमयको विकल्पमा जानुपर्ने मान्यता छ।
तर, अहिले पनि भारतबाट नेपालमा हुने आयातको हिस्सा धेरै हुनु, मुलुकमा राजनीतिक स्थिरता नहुनु, मुलुकको चालु खाता पूर्ण परिवर्त्र्य (कन्भर्टिबल नहुनु) जस्ता कारणले स्थिर विनिमय दरको विकल्पमा जाने समय नभएको राष्ट्र बैंकको बुझाइ छ।