प्याराग्लाइडिङमा उड्दै गर्दा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल प्रमुख प्रेमनाथ ठाकुरले आकाशमै पाइलटलाई ‘बाउड्री क्रस’ गर्न लगाए।
प्याराग्लाइडिङलाई अनुमति दिने, क्षेत्राधिकार तोक्ने र नियमन गर्ने निकायकै वरिष्ठ अधिकारीले सीमा उल्लङ्घन गर्न लगाएपछि पाइलट विजय गौतमले प्याराग्लाइडिङ क्षेत्राधिकार बाहिर लैजान के खोजेका थिए, उनको वाकीटकी र जिपिएसमा घण्टी बज्न थाल्यो।
नेपाल हवाई खेलकुद संस्थाको कार्यालयबाट प्याराग्लाइडिङ उडान अवधिभर जिपिएसमार्फत निरीक्षण हुन्छ। जिपिएसले प्याराग्लाइडिङ कहाँ, कति गतिमा र उचाइमा उडिरहेको छ भनेर कार्यालयको कम्युटरमा भिडिओ देखाउँछ। तोकिएको क्षेत्राधिकारभन्दा बाहिर जान लाग्दा प्याराग्लाइडिङमा मात्र होइन, कार्यालयको कम्प्युटरमा पनि साइरन बज्न थाल्छ।
विमानस्थल प्रमुख चढेको प्याराग्लाइडिङमा साइरन घण्टी बज्न थालेसँगै पाइलटको लाइसेन्स नम्बर तोकेर निर्देशन आयो, ‘तपाईंले बाउण्ड्री क्रस गर्न लाग्नुभयो, तत्काल फिर्ता हुनुस्।’
ग्लाइडरमा चढेर आकाशमा उडिरहेका विमानस्थल प्रमुख ठाकुरले जिपिएस र दुइतर्फी संवाद गर्न मिल्ने वाकीटकीमा यस्तो सन्देश आएपछि भने, ‘पर्फेक्ट।’
प्याराग्लाइडिङ व्यवसायीले भने जस्तो प्रविधिले काम गरेको छ कि छैन भनेर परीक्षण गर्न आफै प्याराग्लाइडिङमा उडेर पाइलटलाई क्षेत्राधिकार नाघ्न लगाएको उनले बताए।
‘मैले पाइलटलाई अलिकति बाउण्ड्री क्रस गरौं त भनेर हामीले दिएको क्षेत्राधिकार भन्दा बाहिर जान लगाए,’ प्याराग्लाइडिङबाट ओर्लिएपछि ठाकुरले भने, ‘बाउण्ड्री क्रस गर्ने वित्तिकै डिभाइसमा घण्टी बज्यो। वाकीटकीमा यति लाइसेन्सन नम्बरको पाइलट बाउण्ड्री क्रस गर्दैछौं है, फिर्ता हुनुस् भनेर निर्देशन आयो। अनि मलाई लाग्यो, एकदम ठिक छ, पोखराको प्याराग्लाइडिङ।’
नेपाल हवाई खेलकुद संस्थाको कार्यालयबाट प्याराग्लाइडिङको जिपिएसमार्फत अनुगमन गरिरहेका प्राविधिक अधिकृत अशोक पराजुलीका अनुसार प्याराग्लाइडिङ टेकअफ र ल्याण्डिङ नभएसम्म भिडिओ अनुगमन गरिन्छ।
नेपाल नागरिक उड्यन प्राधिकरण (क्यान) ले पोखरामा प्याराग्लाइडिङ गर्न अनुमति दिएको क्षेत्र तोकेर जिपिएसमार्फत बक्स बनाएको छ। तोकिएको बक्स क्षेत्रभन्दा बाहिर जाँदा कार्यालयबाट चेतावनीसहित उडिरहेका पाइलटलाई निर्देशन पठाउने गरेको पराजुलीले बताए।
‘प्याराग्लाइडिङ टेकअफ भएदेखि नै हामीले कति उचाइमा उडेको छ, कति गतिमा उडेको छ र क्षेत्राधिकारभित्र छ कि छैन भनेर हेर्छौं। क्षेत्राधिकार नाघेको अवस्थामा कार्यालय र प्याराग्लाइडिङमा राखिएको जिपिएसमा साइरन बज्छ, हामीले वाकीटकीमार्फत निर्देशन दिन्छौं,’ उनले भने।
नेपाल हवाई खेलकुद संस्था नाका उपाध्यक्ष खेमराज आचार्यका अनुसार पोखरामा सञ्चालित सबै प्याराग्लाइडिङमा वाकीटकी र जिपिएस लागु भएका छन्। प्याराग्लाइडिङ उडेदेखि ल्याण्ड हुँदासम्म कार्यालयको कम्युटरमा लाइभ भिडिओ हेर्न र क्षेत्राधिकार उल्लङ्घन गर्दा म्यासेज आउने प्रणाली राखेका छन्।
‘टेकअफ, ल्याण्डिङ र बाउण्ड्री क्रस गर्दा कार्यालयमा म्यासेज र साइरन बज्छ, हामीले तत्काल पाइलटलाई निर्देशन दिन सक्छौं,’ उनले भने, ‘पोखराको प्याराग्लाइडिङलाई सुरक्षित र भरपर्दो बनाउन प्रविधिका लागि मात्र हामीले एक करोड रुपैया खर्च गरेका छौं।’
क्यानले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि प्याराग्लाइडिङ सराङकोटबाट उडान गर्न रोक लगाएको छ। विमानस्थल २०२३ जनवरी १ देखि सञ्चालनमा आएको थियो। विमानस्थलको हवाई सुरक्षा कारण देखाउँदै क्यानले प्याराग्लाइडिङ ल्याण्ड गर्न पनि खपौदीको चउरमा रोक लगाएको थियो। क्यानले प्याराग्लाइडिङ उडान गर्न मान्द्रेढुङ्गा र ल्याण्ड गर्न पामे क्षेत्र तोकेको थियो।
बिहीबारदेखि क्यानले खपौदीको फेवाताल किनारमा ल्याण्ड गर्न अनुमति दिएको छ। जुन प्याराग्लाइडिङ ल्याण्ड गर्ने पुरानो ठाउँ हो। उडान पनि मान्द्रेढुङ्गाबाट तोरीपानी डाँडामा सारिएको छ। नेपाल हवाई खेलकुद संस्थाको कार्यालयले शनिबारदेखि खपौदीमा प्याराग्लाइडिङ ल्याण्ड गर्न थालेको छ।
पुरानै ठाउँमा ल्याण्ड गर्न र सराङकोटबाट उडान गर्दा विमानस्थलको हवाई सुरक्षामा असर पर्छ कि पर्दैन भनेर अध्ययन गरिएको विमानस्थल प्रमुख ठाकुरले बताए। कार्यदलले दिएको प्रतिवेदन अनुसार खपौदीमा ल्याण्ड गर्न अनुमति दिएको उनको भनाइ छ।
‘प्याराग्लाइडिङ व्यवसाय सुक्यो भनेर व्यवसायी धेरै चिन्तित हुनुहुन्थ्यो। हामीले अध्ययन कार्यदल बनाएर प्याराग्लाइडिङको टेकअफ र ल्याण्ड गर्ने साइट हेर्यौं,’ उनले भने, ‘हेलिकप्टर, अल्ट्रालाइट र विमानस्थलबाट जहाज ओभरसुट गर्दा पनि नआउने ठाउँमा किन प्रतिवन्ध लगाउने भनेर फुकुवा गर्यौं।’
प्याराग्लाइडिङलाई पुरानै ठाउँमा फर्कदा हवाई सुरक्षामा कुनै चुनौती नदेखिएको भन्दै उनले प्याराग्लाइडिङमा राखिएको आधुनिक सुचना प्रणालीले थप सुरक्षित बनाएको बताए। क्यानले दिएका शर्त पालना गरी व्यवसाय चलाउन पनि उनले प्याराग्लाइडिङ व्यवसायी र पाइलटलाई आग्रह गरेका छन्।
फेवातालमाथि हिमाल, हरियाली वनजंगल, गाउँ र सहर हेर्दै प्याराग्लाइडिङ उडान गर्न पाइने भएपछि व्यवसाय पनि पुरानै अवस्थामा फर्किने ना अध्यक्ष अनिल केसीको विश्वास छ।
‘पहिले पहिले दिनमा दुई हजार जनासम्म पर्यटक प्याराग्लाइडिङ गर्न आउँथे, अहिले सय जनाको हाराहारीमा मात्र छन्,’ उनले भने, ‘हिमाल हेर्दै फेवातालमाथि उड्न अनुमति पाएसँगै अब प्याराग्लाइडिङ गर्न आउने पर्यटक पनि बढ्ने विश्वास लिएका छौं।’
प्याराग्लाइडिङ गराउन पोखरामा रहेका ६७ वटा कम्पनीमध्ये अहिले ५७ वटा कम्पनी क्रियाशील छ। बाँकी १० वटा कम्पनी निष्क्रिय छन्। नेपाल हवाई खेलकुद संस्थाको कार्यालयका अध्यक्ष केसीका अनुसार पोखरामा विमानस्थल चल्नुअघि ४०० जना प्याराग्लाइडिङ पाइलट कार्यरत थिए। अहिले २७० जना पाइलट मात्र प्याराग्लाइडिङमा छन्। बाँकी पाइलट अधिकांश विदेश पलायन भएका छन् भने केही पाइलटले लाइसेन्स नवीकरण गर्न चासो देखाएका छैनन्। अहिले पोखराको प्याराग्लाइडिङबाट मात्र प्रत्यक्ष रूपमा दुई हजार ५०० जनालाई रोजगारी दिएको छ।
पोखराबाट प्याराग्लाइडिङको सोलो (एकल) उडानमाथि लगाइएको प्रतिवन्ध पनि फुकुवा गर्न केसीले माग राखेका छन्। एकल उडान हुन नपाउँदा विदेशी पाइलट आउन नसकेको र नेपाली प्याराग्लाइडिङ खेलाडीले पनि अभ्यास गर्न नपाएको उनले बताए। पोखरामा प्याराग्लाइडिङ गर्न विदेशी पाइलट महिनौंसम्म बसेर एकल उडान गर्थे, अहिले पोखरा आउने विदेशी भारत र अरु देशतिर गइरहेका छन्,’ उनले भने, ‘विश्वमै उत्कृष्ट गन्तव्यका रूपमा स्थापित भएको सराङकोटको प्याराग्लाइडिङमा सोलो उडान फुकुवा भए फेरी उनीहरु आउने थिए।’
सरकारले पोखराको प्याराग्लाइडिङमा एकल उडान गर्न २०७९ असोजदेखि रोक लगाएको छ। नवौं राष्ट्रिय खेलकुदमा नेपाली सेनाका तर्फबाट प्याराग्लाइडिङमा भाग लिएका गोरखा, पालुङटारका खेलाडी निसिम थापा उडानका क्रममा दुर्घटना भएर मृत्यु भएपछि एकल उडानमा रोक लगाएको हो। एकल उडानमा लगाइएको प्रतिवन्ध फुकुवा गरे आगामी वर्ष पोखरामा अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रतियोगिता आयोजना गर्ने पनि नाले जनाएको छ।
प्याराग्लाइडिङ पुरानै अवस्थामा फर्किए होटल, रेष्टुरेण्टलगायत अरू व्यवसायीलाई पनि फाइदा पुग्ने क्षेत्रीय होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले बताए। हिमाल हेर्दै फेवातालमाथि प्याराग्लाइडिङ गर्न नपाएका कारण पर्यटकको पोखरा बसाई छोट्टिएको उनले बताए।
‘प्याराग्लाइडिङ गर्न आउनेहरू होटलमा बास बस्छन्, रेष्टुरेण्टमा खाना खान्छन्। सबै व्यवसायीलाई फाइदा हुन्छ,’ उनले भने, ‘पदयात्रा र मुक्तिनाथ जाने पर्यटक पनि प्याराग्लाइडिङ गर्न थप एक दिन पोखरा बस्ने गरेका थिए। प्याराग्लाइडिङ पुरानै ठाउँमा फर्किदा पर्यटकको बसाइ पनि लम्बिन सक्छ।’