भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ६ महिनापछि अन्तर्राष्ट्रिय उडान सुरू भएको छ।
गौतम बुद्ध विमानस्थलमा गत अप्रिलदेखि अन्तर्राष्ट्रिय उडान हुन सकेको थिएन।
उडान रोकिएको ६ महिनापछि थाई एयर एसियाले आइतबारदेखि फेरि उडान थालेको हो।
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार थाई एयर एसियाले आइतबारदेखि उडान सुरू गरेको र अब बैंकक–भैरहवा–बैंकक उडान सातामा दुई वटा हुने छन्।
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले थाई एयर एसियाले सातामा दुई वटा उडान गर्ने गरी बैंकक–भैरहवा–बैंकक उडान सुरू गरेको जानकारी दिए।
उक्त एयरको ३२० विमानले आइतबार मध्याह्न १२ः४८ बजे बैंककबाट १७ जना यात्रुसहित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरी दिउँसो सवा १ बजे नै १ सय ६२ यात्रु लिएर भैरहवाबाट बैंककका लागि उडेको विमानस्थलका सूचना अधिकारी विनोदसिंह रावतले जानकारी दिए।
थाई एयर एसियाले अब आइतबार र बुधवार भैरहवामा नियमित उडान गर्ने गरी उडान तालिका स्वीकृत गराएको छ।
अहिले भैरहवामा नियमित उडान गर्ने थाई एयर एसिया एक्लो अन्तर्राष्ट्रिय एयर कम्पनी बनेको छ। नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले यसअघि नियमित उडान गरेकोमा अहिले भने अझै सुचारू गरेका छैनन्।
गत अप्रिलमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मर्मत सुरू गरिएपछि भैरहवा विमानस्थलमा चाप बढेको थियो। त्यति बेला दैनिक चार वटा उडान हुने गरेकोमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको मर्मत सकिएपछि अप्रिलदेखि नै भैरहवामा उडान बन्द भएका थिए।
त्यसयता केही चार्टर्ड उडान भए पनि ६ महिनापछि थाई एयर एसियाले पहिलो पटक नियमित उडान सुरू गरेको हो।