प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरूले नागरिकतासम्बन्धी विधेयकको छलफलमा वैवाहिक अंगीकृत नागरिकताबारे एकै मत राख्ने भएका छन्।
संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा भइरहेको छलफलका क्रममा कांग्रेसका सांसदहरूले फरक-फरक मत राखेको र तीमध्ये सांसद देवेन्द्रराज कँडेलले राखेको विचार निकै विवादमा परेको छ।
सांसदहरूले विवादित विचार राख्न थालेपछि उक्त समितिमा रहेका सांसदहरूलाई नेतृत्वले पार्टीको धारणाअनुसार बोल्न भनेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।
शर्माका अनुसार कांग्रेस २०६३ सालको नागरिकता कानुनको पक्षमा उभिएको छ। उक्त कानुनमा विवाह गरेर आएका विदेशी बुहारीलाई तत्कालै नागरिकता दिने व्यवस्था छ भने विदेशी ज्वाइँबारे मौन छ।
‘उक्त कानुन सर्वदलीय सहमतिका आधारमा बनेको हो। त्यसैले कांग्रेसले त्यसैको पक्षमा छ,’ शर्माले भने।
भोलि शनिबार हुने समिति बैठकमा कांग्रेस सांसदहरूले सोही लाइनमा धारणा राख्ने प्रवक्ता शर्माले जानकारी दिए।
समितिमा रहेका कांग्रेसका महिला सांसदहरूले वैवाहिक अंगीकृत नागरिकता दिँदा महिला पुरुषबीच विभेद गर्न नहुने विचार राख्दै आएका छन्।