शैक्षिक सुधारको माग राखेर पुल्चोक इञ्जिनियरिङ क्याम्पसमा नेविसंघ रिले अनसनमा बसेको छ।
क्याम्पसभित्रको भौतिक तथा शैक्षिक सुधारका माग राखेर तीन दिनदेखि रिले अनशन जारी छ। २३ बुँदे आफ्ना मागहरू पूरा गर्न क्याम्पस प्रशासन तयार नभएसम्म अनशन जारी रहने नेविसंघले जनाएको छ।
नेविसंघले गत माघ १ गते शैक्षिक तथा भौतिक सुधार गर्न माग राखेर क्याम्पस प्रशासनलाई ज्ञापन पत्र बुझाएको थियो। उक्त माग सुनुवाइ नभएको भन्दै रिले अनशन गर्नु परेको नेविसंघले उल्लेख गरेको हो।
क्याम्पस इकाइ नेविसंघले आइतबारदेखि अनसन सुरू गरेको हो।
नेविसंघका महामन्त्री दीपक भट्टराईले मंगलबार अनशनरत विद्यार्थी र क्याम्पस प्रशासनलाई भेटेका छन्। अनशनमा नेविसंघ केन्द्रीय समितिले ऐक्यवद्धता जनाएको भट्टराईले बताए।
‘शैक्षिक र भौतिक सुधारको माग राखेर शान्तिपूर्ण आन्दोलन गरिएको छ। क्याम्पस प्रशासनले नेविसंघले राखेका माग तत्काल पूरा गर्नुपर्छ,’ महामन्त्री भट्टराईले सेतोपाटीसँग भने, ‘माग पूरा नभए अन्य संघर्षका कार्यक्रम गर्न बाध्य हुनेछौं।’
नेविसंघले क्याम्पसमा पठनपाठन हुँदै आएको पाठ्यक्रममा पनि समयानुकूल परिमार्जन हुनुपर्ने बताएको छ। अनुसन्धानात्मक शिक्षालाई जोड दिन पनि नेविसंघका अनशनरत विद्यार्थीले माग गरेका छन्।