सम्बन्धहरू
चाहँदैमा बन्दैन
समयले बुनिरहेको हुन्छ
कयौँ सम्बन्धहरू हामीले रोजेका पनि हुँदैन
समयसँगै आफैँ जोडिरहेको हुन्छ।
कोही सम्बन्धहरू प्रारब्ध बनेर आएका हुन्छन्
कोही पाठ बनेर सिकिन्छ
कोही त मौनतामै बसेर तड्पिन्छ
र थाहा नपाई दुई आत्मा हल्लाइदिन्छ।
हामी भेटलाई संयोग भन्छौँ
बिछोडलाई दुर्भाग्य
तर आत्मा जानकार हुनसक्छ
यी सबै जीवन यात्राका मोडहरू हुन्।
कुनै सम्बन्धले प्रेम सिकाउँछ,
कुनैले धैर्य,
कुनैले क्षमा
तर सबै सम्बन्धहरूले
हाम्रो चेतनामा
कहिल्यै नबुझ्ने उज्यालो छोडिरहेको हुन्छ।
सम्बन्धका डोरी कहिलेकाहीँ
नजिक भएर पनि टाढा हुनुपर्छ
कहिलेकाहीँ
टाढा भएर पनि आत्मासँगै जोडिनु पर्छ।
माया अधिकार होइन,
प्रेमात्माको सेवा हो।
सम्बन्ध कब्जा होइन,
प्रेमीप्रतिको समर्पण हो।
प्रेमको प्रेमालय
टाढा राख्न र महसुस गर्न सक्नु हो।
मौन स्वीकार बेजोड शक्ति हो
त्यही दिन
प्रेमिल आत्मा हलुका हुन्छ।
अन्ततः थाहा हुन्छ,
हामी सबै समयका यात्रु हौँ,
तोकिएका क्षणहरूका सहयात्री।
र जीवन डोर्याउने
त्यही अदृश्य प्रेमको धागोले हो
जुन प्रेम, करुणा र चेतनाले बुनेको छ
नदेखिए पनि महसुस हुने,
नबोले पनि अन्तरआत्मासम्म सुनिने।