बेइजिङ डायरी
पछिल्लो समय चीनले विश्वलाई आश्चर्य बनाउने गरी विकास गरेको छ। अरू देशको विकास अधोगतिमा जाँदा चिनियाँ विकासले आफ्ना लक्ष्य सहजै भेटिरहेका छन्।
चिनियाँ आर्थिक तथा समाजिक विकासको सफलता पछाडि चिनियाँ पञ्च वर्षीय योजनालाई मानिन्छ। चीनले चौधौं पञ्च वर्षीय योजना (२०२१–२०२५) लाई सफलतापूर्वक सम्पन्न गरेर पन्ध्रौं पञ्च वर्षीय योजना (२०२६–२०३०) थालनी गरेको छ।
चौधौं पञ्च वर्षीय योजनाका सफलताको समीक्षा गर्दै आगामी दिनमा पनि उच्च–गुणस्तरीय विकासमा ठोस प्रगति हासिल गर्ने घोषणा चीनले गरेको छ। चीनका नयाँ घोषणाहरूमा वैज्ञानिक तथा प्राविधिक क्षेत्रमा आत्मनिर्भरता अभिवृद्धि गर्ने र सन् २०३५ सम्म समाजवादी आधुनिकीकरणको आधारभूत लक्ष्यतर्फ अग्रसरमा केन्द्रित हुने उल्लेख छ।
औद्योगिक उन्नयन, वैज्ञानिक तथा प्राविधिक नवप्रवर्तन, ग्रामीण पुनरूत्थान, सहकारीका नयाँ रूपहरू विकास गर्दै उच्च–स्तरीय खुलापन विस्तार गर्दै हरित विकासलाई निरन्तरता दिने विषयलाई चीनले प्राथमिकतामा राखेको छ।
चौधौं पञ्चवर्षीय योजनाका मुख्य उपलब्धिहरूमा आर्थिक वृद्धि र स्थिरता पहिलो नम्बरमा पर्छ। सन् २०२४ मा चीनको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) १३४ ट्रिलियन युआन नाघेको थियो। जसमा औसत वार्षिक वृद्धिदर ५.५ प्रतिशत रह्यो। सो अवधिमा चीनको अर्थतन्त्र करिब ३५ ट्रिलियन युआनले विस्तार हुँदै विश्वव्यापी आर्थिक वृद्धिमा औसत ३० प्रतिशत योगदान दियो।
दोस्रो उपलब्धिमा प्राविधिक तथा औद्योगिक प्रगतिलाई लिन सकिन्छ। चीन लगातार १५ वर्षसम्म विश्वको सबभन्दा ठूलो उत्पादक राष्ट्र बनेको छ। यस अवधिमा एआई उद्योगमा चीनले सन् २०२३ मा मात्र ५७८.७ अर्ब युआन लगानी गर्यो भने क्वान्टम सञ्चार र उच्च–स्तरीय चिप्समा ठूलो सफलता हासिल गर्यो।
विश्वस्तरीय प्रतिस्पर्धामा डिपसिक जस्ता एआई मोडलले उच्च स्थान प्राप्त गरेको छ।
त्यसैगरी अन्तरिक्ष स्टेसन निर्माण, चन्द्रमाको दुर्गम भागबाट नमूना संकलन र विश्वकै पहिलो चौथो पुस्ताको आणविक ऊर्जा प्लान्टलाई चीनले व्यावसायिक सञ्चालनमा ल्याएको छ।

तेस्रो उपलब्धिका रूपमा गरिबी निवारण र जनजीविकामा सुधारलाई लिन सकिन्छ।
चौधौं पञ्च वर्षीय योजना अवधिमा चीनले अघिल्लो अवधि (तेह्रौं पञ्च वर्षीय योजना) मा गरिबीबाट मुक्त गरेको ९ करोड ८९ लाख ९० हजार मानिसलाई संरक्षण गर्दै गरिबीबाट उकासिएकाहरूमध्ये ३ करोडभन्दा बढीलाई रोजगारी उपलब्ध गरायो। र, पुनः गरिबीमा फर्किने जोखिममा रहेका ६० लाखभन्दा बढी मानिसलाई सहयोग गर्यो।
चीनले विश्वकै ठूलो सामाजिक सुरक्षा प्रणाली र मध्यम आय भएको जनसंख्या निर्माण गरेको छ।
चीनले प्राप्त गरेको अर्को उपलब्धिमा अन्तर्राष्ट्रिय सहयोग र खुलापन छ। उच्च–स्तरीय खुलापनको नीति अन्तर्गत चीनले बिआरआई परियोजनाहरू अन्तर्गत सन् २०२५ को पहिलो चार महिनामा मात्रै ३ अर्ब ७९ करोड ९० लाख अमेरिकी डलर राजस्व आर्जन गरेको छ। चीनले १६० भन्दा बढी देशमा विकास सहायता उपलब्ध गराएको छ। यही अवधिमा चीनले ४.७ ट्रिलियन युआनभन्दा बढी वैदेशिक लगानी भित्र्याएको छ।
चीनले पन्ध्रौं पञ्च वर्षीय योजनामा 'उच्च–गुणस्तरको विकास' लाई केन्द्रमा राख्दै बाह्य जोखिमहरूको सामना गर्न प्राविधिक आत्मनिर्भरता बढाउने, औद्योगिक स्तरोन्नति गर्ने र घरेलु खपतलाई प्राथमिकतामा राख्ने नीति लिएको छ। यी नीति सफल बनाउन एआई/रोबोटिक्स विकास, हरित ऊर्जा संक्रमण र राष्ट्रिय सुरक्षालाई प्राथमिकतामा राख्दै द्रुत र मात्रा–सञ्चालित आर्थिक वृद्धिभन्दा संरचनात्मक आर्थिक परिवर्तनका लागि पहल गर्ने दिशानिर्देश गरेको छ।
चीनले हरित संक्रमण र ऊर्जा सुरक्षालाई दिगो विकासको आधार मानेको छ। यस्ता आधारले 'सुन्दर चीन' पहलहरू प्राप्त गर्ने लक्ष्यका साथ कार्बन उत्सर्जनलाई शिखरमा पुर्याउने, नवीकरणीय ऊर्जा (सौर्य, वायु, आणविक) लाई बढावा दिने र ऊर्जा दक्षता स्तरोन्नति गर्ने प्रतिबद्धता जनाएको छ। चीनले कोइला र तेल खपतका लागि योजनाहरू प्रस्तुत गरेर एक महत्त्वपूर्ण परिवर्तनलाई अँगालेको छ।
पन्ध्रौं पञ्च वर्षीय योजनामा चीनले औद्योगिक स्तरोन्नतिका लागि थप लचिलो औद्योगिक आधार सिर्जना गर्न प्रविधि एकीकरण मार्फत परम्परागत उत्पादन क्षेत्रहरूलाई आधुनिकीकरण गर्दैछ। राष्ट्रिय सुरक्षासँग आर्थिक वृद्धि सन्तुलन गर्न आपूर्ति शृंखला, खाद्य, ऊर्जा र डेटा सुरक्षालाई सुनिश्चित गर्न राष्ट्रिय सुरक्षा र स्थिरता अपनाएको छ।
चीनमा भर्खरै सम्पन्न बाह्रौं राष्ट्रिय जनकंग्रेसको चौथो अधिवेशनमा प्रस्तुत चीनको सरकारी कार्य प्रतिवेदनमा आर्थिक तथा सामाजिक विकासका लागि १५ औं पञ्चवर्षीय योजनाबारे उल्लेख छ। उक्त प्रतिवेदन अनुसार सन् २०२६ देखि २०३० सम्म चीनको सामाजिक तथा आर्थिक विकासका लागि बाध्यकारी मार्गदर्शक हुने उल्लेख छ।
पन्ध्रौं पञ्चवर्षीय योजना अनुसार सम्पूर्ण नवीनता शृंखलालाई फैलाउने नीतिगत उपायहरूको विस्तृत दायरा सहितको प्रविधि र प्राविधिक आत्मनिर्भरतामा गहन ध्यान केन्द्रित गर्नु हो। यी आधुनिक स्तरोन्नतिदेखि परम्परागत उद्योगहरू अनि एआई र रोबोटिक्स, क्वान्टम कम्प्युटिङ, बायोम्यानुफ्याक्चरिङ र थप सम्भावनाको किनारमा रहेका सीमावर्ती क्षेत्रहरूसम्मका छन्।


यस अवधिमा चीनको 'कार्बन तीव्रता' १७ प्रतिशतले घटाउने लक्ष्य राखिएको छ। यसले प्रमुख जलवायु मेट्रिक गणना गर्ने आधारलाई पनि परिवर्तन गर्छ।
चीनको स्वच्छ–ऊर्जा निर्माणका लागि समर्थनलाई यसले संकेत गर्छ। चीनले सौर्य र विद्युतीय सवारी साधनदेखि हाइड्रोजन र 'नयाँ–ऊर्जा' भण्डारण सम्मका धेरै स्वच्छ–ऊर्जा उद्योगहरूलाई यो अवधिमा प्रोत्साहन गर्नेछ। चीनले जलवायु लक्ष्यहरू र ऊर्जा सुरक्षामा ध्यान केन्द्रित गरिरहेको छ।
चीनले सन् २०३० सम्म कुल ऊर्जा खपतमा गैर–जीवाश्म ऊर्जाको हिस्सा २५ प्रतिशत पुर्याउने लक्ष्य राखेको छ। सन् २०२५ मा चीनले २१.७ प्रतिशत मात्र गैर–जीवाश्म ऊर्जा खपत गर्न सकेको छ। चीनले पन्ध्रौं पञ्च वर्षीय योजना अवधिमा २५ प्रतिशतको लक्ष्य भेट्न निकै मेहनत गर्नुपर्नेछ।
यसका लागि चीनले विद्युतीय सवारी साधन अर्थात इभी प्रोत्साहन गर्न थालेको छ। सन् २०२६ मा बेइजिङले कुल एक लाख ६० हजार नयाँ हरित ऊर्जा सवारी साधन अनुमतिपत्र जारी गर्ने योजना बनाएको छ। यसमा वार्षिक ८० हजार नियमित कोटा र थप ८० हजार अनुमतिपत्रहरू समावेश छन्।
इभी चालकलाई सहज हुने गरी बेइजिङका १६ वटा राजमार्गका क्षेत्रहरूमा ६७४ वटा चार्जिङ प्वाइन्ट' छन्। त्यहाँ ६७ वटा चार्जिङ स्टेसनहरू (स्थायी संरचना) छन् भने ६६ वटा सुपरफास्ट चार्जर छन्। ती सुपरफास्ट चार्जरले १५ मिनेटमा धेरै सवारी साधन चार्ज गर्न सक्छन्।
युबिएस र एचएसबिसी लगायत लगानी बैंकहरू र अनुसन्धान समूहहरूले फाइनान्सियल टाइम्ससँग साझा गरेको पछिल्लो अनुमान अनुसार, चीनमा आन्तरिक इभी बिक्री वार्षिक रूपमा लगभग २० प्रतिशत बढ्नेछ। सन् २०२५ मा चीनमा इभी संख्या १ करोड २० लाखभन्दा बढी पुगेको छ।
सन् २०२५ मा परम्परागत ऊर्जा इन्जिन सवारी साधनको बिक्री १० प्रतिशतले घटेर १ करोड १० लाख युनिटभन्दा कम भएको छ। यो सन् २०२२ को भन्दा ३० प्रतिशतले घटेर एक करोड ४८ लाखले कम हो।
चिनियाँ विद्युतीय सवारी साधन बजारले सन् २०२५ मा अभूतपूर्व स्तर हासिल गरेको छ।
सन् २०२४ मा १ करोड १० लाख सवारी साधनको घरेलु बिक्रीसहित विद्युतीय सवारी साधन उत्पादनको ७० प्रतिशशत हिस्सा लिएको छ। चिनियाँ इभी सन् २०२० मा बजार प्रवेश गर्दा जम्मा ६.३ प्रतिशत थियो भने सन् २०२४ मा आइपुग्दा ४८ प्रतिशत पुगेको छ।
चीनमा शून्य–कार्बन कारखाना र औद्योगिक पार्कहरूको विकास गरी गैर–जीवाश्म ऊर्जा लक्ष्य पूरा गर्न चीनका धेरै स्थानीय सरकारले रणनीति बनाएका छन्। रणनीति अनुसार आगामी पाँच वर्षमा शून्य–कार्बन औद्योगिक पार्कहरू निर्माणका लागि सूचीबद्ध आह्वान गरिएको छ।
चीनले सन् २०३५ को अन्तर्राष्ट्रिय जलवायु प्रतिबद्धता पूरा गर्न आफ्नो 'नयाँ ऊर्जा' क्षमता हालको १,८०० गिगावाटलाई दोब्बर बनाउनुपर्ने छ।
यही उद्देश्य पूरा गर्न चीनले आफ्नो उत्तरी क्षेत्रहरूमा तीन वटा स्वच्छ–ऊर्जा आधार र दक्षिण–पश्चिम चीनमा एकीकृत जल–वायु–सौर्य परिसर विकास गर्नुपर्ने नीति लिएको छ। यसले विशेष गरी मरूभूमि क्षेत्रहरूमा अन्तर क्षेत्रीय विद्युत प्रसारणका लागि ठूला वायु र सौर्य ऊर्जा आधारहरूको निर्माणलाई प्रोत्साहन गर्छ।


साथै सिचाङ (तिब्बत) मा ब्रम्हपुत्र नदीमा विशाल जलविद्युत परियोजना सुरू गरेको छ।
चीनमा कागज उद्योग, खाद्य प्रशोधन र कपडामा रहेका कोइलाबाट चल्ने प्लान्ट र औद्योगिक भट्टीहरूलाई प्रतिवर्ष ३ करोड टन कोइला खपत घटाउनुपर्छ। यसका लागि चीनलाई स्वच्छ ऊर्जाका लागि विशाल जलविद्युत र सौर्य तथा वायु ऊर्जा परियोजना आवश्यक पर्छ।
यस्तो अवस्थामा स्वच्छ ऊर्जा प्रविधिले चिनियाँ अर्थतन्त्र स्तरोन्नतिमा उच्च भूमिका खेल्नेछ। जसमा स्मार्ट इभी, नयाँ सौर्य कोष, नयाँ ऊर्जा भण्डारण, हाइड्रोजन र आणविक फ्युजन ऊर्जा समावेश छन्।
चीनले सफा ऊर्जा र वातावरण संरक्षणसँगै आफ्ना नागरिकको जीवनस्तर सुधारमा पनि उच्च ध्यान दिएको छ।
पन्ध्रौं पञ्च वर्षीय योजना अवधिमै चीनले सन् २०३० सम्म चिनियाँको सरदर आयु ८० वर्ष पुर्याउने लक्ष्य राखेको छ। यो लक्ष्य पूरा गर्न चीन सरकारले स्वास्थ्य प्रणाली सुधार्दै पहिलो पटक व्यावसायिक स्वास्थ्य बीमाको विकासलाई प्रतिवेदनमा समावेश गरेको छ।
चीनले विदेशी लगानीलाई आकर्षण गर्न पन्ध्रौं पञ्च वर्षीय योजनामा विभिन्न योजना अगाडि सारेको छ। केही देशहरूले 'सानो आँगन र उच्च पर्खाल' जस्ता सर्त राख्दा विदेशी लगानी ती देश छाडेर चीनतिर आकर्षित भएका हुन्। स्वागतयोग्य शैलीमा चीनले विदेशी लगानीलाई ढोका खोलिरहेको छ।
सन् २०२५ सम्म ३ करोडभन्दा बढी विदेशी पर्यटक भिसाबिना चीनमा प्रवेश गरेर वास्तविक चीन महसुस गरेका छन्। अन्तर्देशीय कम्पनीहरूले चिनियाँ उपभोक्ताको अद्यावधिक आवश्यकता अनुसार, रणनीति समायोजन गरेर चीनको लचिलोपन र पूर्वानुमानलाई ठूलो महत्त्व दिइरहेका छन्।
उल्लिखित सफलताका पछाडि कठिनाइ र बाधा अवरोधसँगै चीनले विभिन्न चुनौतीहरू पनि सामना गरेको छ। चौधौं पञ्च वर्षीय योजना अवधिमा चीनले सामना गर्नुपरेको सबभन्दा ठूला चुनौतीहरूमा विश्वव्यापी महामारी र भू–राजनीतिक व्यवधान थिए।
ऊर्जा खपतमा चीनमा कमी आइरहेको छ भने कार्बन उत्सर्जनमा पनि कमी आएको छ।

सन् २०२५ मा चीनमा ऊर्जा खपतमा ३ प्रतिशतले कमी ल्याउने लक्ष्य राखिएको थियो तर यो लक्ष्य पूरा हुन सकेन। यसका साथै वायु गुणस्तर सुधार र शिशु हेरचाह सुविधा विस्तारका सूचकहरू पनि लक्ष्यभन्दा पछि परेका छन्।
चीनमा घरजग्गा क्षेत्रको मन्दीले फलाम उद्योगहरूमा मार परेको छ। फलामको माग घटेका कारण ती उद्योगहरूको नाफामा कमी आएको छ र वातावरणमैत्री प्रविधिमा लगानी गर्न सक्ने क्षमतामा असर परेको छ।
चीनको सामाजिक र जनसांख्यिक चुनौतीहरू पनि थपिएका छन्। बढ्दो युवा बेरोजगारीदर र जनसंख्या वृद्धिदर नकारात्मक हुँदा संरचनात्मक समस्या देखिन थालेको छ। स्वास्थ्य र पोषणको क्षेत्रमा सहरी र ग्रामीण क्षेत्रबीच ठूलो असमानता कायमै छ।
विश्वव्यापी महामारीपछि, भूराजनीतिक द्वन्द्व, बढ्दो मुद्रास्फीति र अमेरिकाले चलाएको व्यापार संरक्षणवादका कारण अन्तर्राष्ट्रिय वातावरण जटिल बन्दै गएको छ। अमेरिकी गठबन्धनले लगाएको प्रविधिक प्रतिबन्ध र उच्च भन्सार शुल्कले चिनियाँ उच्च–प्रविधि व्यापार र आपूर्ति शृंखालालाई असर गरेको छ।
अवसर र चुनौती एउटै रथका दुई पांग्रा मानिन्छन्। तसर्थ चुनौतीबीच पनि चीनले विश्वलाई आश्चर्य बनाउने गरी प्राप्त गरेको उपलब्धिको चुरो कुरा व्यावहारिक योजना तर्जुमा गर्नु र ती योजनाको सफल कार्यान्वयन गर्नु नै हो।
यसका पछाडि चिनियाँ स्थिर राजनीतिक प्रणाली र जनताको सेवामा केन्द्रित नेतृत्व नै हो। यसलाई चिनियाँ विकासको मोडल पनि भन्न सकिन्छ।
***
(चेतनाथ आचार्यका अन्य लेखहरू पढ्न यहाँ क्लिक गर्नुहोस्)