सिरानीमा टाँसिएका टिकीहरूले जिस्काउँछन्
कोठाका तिम्रा कपडाहरूले झुक्क्याउँछन्
कमेरो माथि पोतिएको माटाका
पाप्रा उक्किए झैँ
मनले सम्झनाहरू उक्काई रहन्छ।
भित्ताको हाम्रो फोटो
राति मेरो सिरानीमा झर्छ
सपनाहरूमा खेल्छ,
आँखाको बाटो हुँदै बिहान
यथास्थानमा बस्छ
यसो छाम्छु सिरानी चिसै हुन्छ।
पलमका फूलहरूसँग सुस्केरा खेल्ने बतासमा
म तिम्रो शरीरको सुगन्ध खोज्छु
झुल्केको डाँडाबाट झुल्किने सूर्यमा
म तिम्रो मुहार खोज्छु
घुम्टेको डाँडाबाट अस्ताउने चन्द्रमामा
म तिमीभित्रको शीतलता खोजिरहन्छु।
गाउँका पाखाहरूमा
प्रशस्तै फुलेका छन्
तिम्रो प्रिय लालीगुराँस
तिनै गुराँसहरूमा
म तिम्रो न्यानो माया खोज्छु।
रात्रिमा थर्मसको तातो पानी पिउँदा
म तिम्रो जीवन संघर्षको तापक्रम महसुस गर्छु
मेरो ओठको मुस्कानले
निभाइदिन खोज्छु त्यो ज्वालामुखी
तर आँसुले कसरी निभाउनु!
प्यारी
भन न तिमी आफै अब
कसरी गाँसौँ यी हाम्रा आँसुका मालाहरू?
र लगाइदिऊ
यो जीवनका उद्रिएका सपनाहरूलाई
जसले हामीलाई जिस्काइरहन्छन्।