प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचनको माहौल बनाउन आफ्नो समूहका स्थायी कमिटी सदस्यहरूलाई निर्देशन दिएका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको स्थायी कमिटी सदस्यहरूको अनौपचारिक छलफलमा प्रधानमन्त्री ओलीले निर्वाचनका लागि जनतामा जानुपर्ने समेत बताएका थिए।
स्थायी कमिटी सदस्यहरूको छलफलमा जनता निर्वाचनको पक्षमा रहेको र त्यसका लागि तयारी गर्नुपर्ने निश्कर्ष निकालिएको ओली नेतृत्वको नेकपा स्थायी कमिटी सदस्य सुवास नेम्बाङले बताए।
'हामी केही साथीहरू बसेका थियौं। अहिलेको अवस्था र निर्वाचन आयोग अनि सर्वोच्चमा रहेको विषयमा ब्रिफिङ भयो,'उनले भने,'अब निर्वाचनका लागि तयारी गरेर वैशाख १७ गते र २७ गते हुने निर्वाचनलाई सफल बनाउनुपर्छ। जनताको उभार निर्वाचनकै पक्षमा छ। देशव्यापी रूपमा भएका कार्यक्रमले त्यस्तै संकेत देखाएको छ।'