गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई विश्वासको मत दिन उनकै मन्त्रिपरिषदका सदस्य अनुपस्थित भएका छन्। युवा तथा खेलकुद मन्त्रीमा नियुक्त स्वतन्त्र सांसद राजिव गुरुङ ‘दीपक मनाङे’ अनुपस्थित भएका हुन्।
मुख्यमन्त्री गुरुङले संसदमा मागेको विश्वासको मतमा मतदान प्रक्रिया शुरु भइसकेको छ। मन्त्री मनाङेले विपक्षी गठबन्धनलाई साथ दिने भन्दै गएरातिदेखि सम्पर्क विहीन भएका छन्। उनी बुधबार बसेको मन्त्रिपरिषद बैठकमा समेत सहभागी भएका थिएनन्।
सत्तारुढ एमालेका सांसदलाई मनाङेले जसले बहुमत पुर्याउँछ उसैलाई समर्थन गर्ने भनेर सम्पर्कविहीन भएका थिए ।
काँग्रेस नेतृत्वको गठबन्धनमा ३० मत रहेको र बहुमतका लागि आफूले उक्त गठबन्धनलाई साथ दिने मनाङेले बताएका थिए।
तर सत्तारुढ गठबन्धनले ३० मत पुर्याउन सके आफ्नो पहिलो प्राथमिकता अहिलेकै सरकार रहेको समेत मन्त्री मनाङेले भनेका थिए। गण्डकीमा एमालेको २७ मत छ। मनाङे र जनमोर्चाका कृष्ण थापाले साथ दिँदा सरकारलाई २९ मत पुग्छ। विपक्षी गठबन्धनमा रहेको ३० मतमा मनाङेले साथ दिँदा सरकरा गठन गर्न आवश्यक बहुमत ३१ पुग्छ। गण्डकी प्रदेश सभामा ६० जना सांसद छन् ।