एकदिन म थकित अनुहार, हतास मनस्थिति, रिस, डाह र डर लिएर भाइलाई मुद्दा हाल्न वकिलकहाँ गएँ।
वकिल आफ्नो चेम्बरमा बसिरहेका थिए। घामले डढेको अनुहार, बढेको दाह्री, मैलो लुगा र मेरो हातमा कागजपत्रको फाइल थियो।
मैले सिधै वकिललाई भनेँ, ‘भाइ विरुद्ध मुद्दा हाल्नु छ। ऊ बसेको अपार्टमेन्टमा मेरो हक दाबी गर्नु छ, भन्नुहोस्! के-के कागजात चाहिन्छ? खर्च कति लाग्छ?’
वकिलले मलाई बस्न अनुरोध गरे। टेबुलमा राखेको पानीको जग र गिलास देखाएर पानी पिउन अनुरोध गरे। मैले जगबाट पानी गिलासमा हालेर पिउन थालेँ।
उनले मैले लगेका सबै कागजातका पाना पल्टाएर हेरिरहे। आधा घण्टा जति बित्यो। म केही नबोलेर वकिलको उत्तरको प्रतीक्षामा थिएँ। उनले भने, ‘म यी कागजहरू हेर्छु, तपाईंको केसमाथि विचार गर्नेछु। तपाईं यसो गर्नुहोस्, दाइ! आउने शनिबार आएर भेट्नुहोला।’
पाँच दिनपछि म फेरि वकिलकहाँ गएँ। त्यस्तै घामले डढेको अनुहार, बढेको दाह्री, मैलो लुगा। म निकै निराश र हताश देखिन्थेँ। आफ्नो भाइप्रति असाध्यै रिसाएको थिएँ।
वकिलले मलाई बस्न अनुरोध गरे। म बसेँ। अफिसमा एक किसिमको अनौठो सन्नाटा छाइरहेको थियो।
वकिलले कुरा सुरु गरे, ‘दाइ! मैले तपाईंका सबै कागजपत्रहरू हेरेँ। कागजात हेरेरमात्र भन्न सकिने धेरै आधारहरू भेटिएन। भन्नुहोस् त भाइलाई किन मुद्दा हाल्ने?’
त्यसपछि मैले वकिललाई बेलिविस्तार लगाएँ।
‘हामी दुई भाइ र एक दिदीबहिनी हौँ। आमा-बुवा त सानैमा बित्नुभयो। मैले नौ कक्षा मात्र पास गरेको छु। भाइ इन्जिनियर छ। भाइको पढाइका लागि मैले स्कुल छोड्नुपर्यो। भाइलाई पढाउन मैले आफ्नो खेतबारीमा मात्र हैन, अरूको खेतबारीमा दिनभरि ज्याला मजदुरी गरेँ। कहिल्यै शरीरभरि राम्रो लुगा र पेटभरि मीठो खाना पाइनँ तर भाइको पढाइका लागि पैसाको कमी हुन दिइनँ।
एकपटक खेल्दाखेल्दै भाइलाई छिमेकीको गोरुले हान्यो। ऊ रगतपच्छे भयो। त्यसपछि मैले उसलाई काँधमा बोकेर ५ किलोमिटर टाढा अस्पतालसम्म पुर्याएँ। राम्ररी सोच्ने हो भने, त्यो बेला मेरो यस्तो बुझ्ने उमेर पनि थिएन होला तर भाइका लागि मेरो प्राण सुम्पेको थिएँ। आमा-बुवापछि म नै उसको आमा-बुवा... यो भावना थियो मेरो मनमा।
भाइलाई पढाउँदै लगेँ। उसले इन्जिनियरिङमा राम्रो कलेजमा भर्ना पायो। त्यो बेला मेरो मन खुसीले भरिएको थियो। त्यसपछि मैले झन् मेहनत गरेर भाइलाई पढाउँदै लगेँ। चार लाख वार्षिक शुल्क तिर्नका लागि रात-दिन काम गरेँ। कहिले श्रीमतीको गहना धितो राखेर, कहिले साहुकहाँबाट ऋण लिएर मैले भाइको हरेक आवश्यकता पूरा गरेँ।
भाइले पढ्दै गर्दा अचानक उसलाई मिर्गौलाको समस्या सुरु भयो। अस्पतालहरू धाएँ, भगवान् गुहारेँ। डाक्टरले मिर्गौला फेर्नुपर्छ भने। मैले आफ्नो मिर्गौला भाइलाई दिएँ। मलाई लागेको थियो, 'भाइ! भोलि तँ यो देशको ठूलो इन्जिनियर हुनुपर्छ, सरकारी स्थायी जागीर खानुपर्छ, देशको विकासमा योगदान गर्नुपर्छ। यो बिरामी शरीर लिएर कहाँ-कहाँ घुम्छस्? मलाई गाउँमै बस्नु छ, एउटा मिर्गौलाले पनि मलाई पुग्छ।' यो सोचेर मैले उसलाई मिर्गौला दिएको थिएँ।
त्यसपछि भाइ मास्टर्सका लागि होस्टलमा बस्न गयो। मैले घरबाट चामल, घिउ, तरकारी, उसकी भाउजूले पकाएका सेलरोटी होस्टलमा पुर्याएँ। खेतमा हरियो मकै खान तयार भयो, भाइलाई दिन जान्थेँ। कुनै चाडपर्व होस्, भाइलाई नयाँ लुगा किनिदिन्थेँ। घरदेखि होस्टल २५ किलोमिटर टाढा थियो, म साइकलमा सामान राखेर उसलाई पुर्याउन जान्थेँ। आफ्नो भागको गास पहिला भाइलाई कति खुवाएँ कति।
अनि ऊ मास्टर्स पास भयो। लोक सेवा पास गरेर सरकारी जागिरमा स्थायी नियुक्ति लियो। मैले गाउँभरिका मान्छेलाई भोज खुवाएँ। त्यसपछि उसले बिहे गर्यो। उसको बिहेमा मैले धेरै कुरा गर्नु परेन। ऊ आफैँले सबै कुरा मिलायो। म त त्यहाँ केवल पाहुना जस्तो मात्र भएँ। उसकै कलेजकी एकदमै मिल्ने साथीसँग उसले बिहे गर्यो। मैले मेरो बोझ कम भएको महसुस गरेँ।
बिहेपछि भाइले मलाई न भेट्न आयो, न फोन गर्यो। मैले फोन गरेर सोध्दा भन्छ, 'परिवारको जिम्मेवारी थपिएपछि पहिलेजस्तो कहाँ हुन्छ र दाइ?'
घरमा पैसा खाँचो पर्यो भन्दा भन्छ, 'ऋण लागेको छ।'
पोहोर साल सहरमा फ्ल्याट किन्यो, पैसा कहाँबाट आयो भनेर सोध्दा भन्छ, 'ऋण लिएको छु।'
मैले बुझ्न खोज्दा भन्छ, 'दाइ! तपाईंलाई केही थाहा छैन, तपाईं त नितान्त गाउँले न हो।'
एक दिन उसले फोन गरेर अंशबण्डा गरेर गाउँको आधा खेतबारी उसलाई चाहियो रे। त्यो बेचेर उसलाई पैसा दिनुपर्यो रे मैले।’
यति भनिसकेर म रोकिएँ।
वकिलले मलाई ल्याएको चियाको कप देखाउँदै भने, ‘चिया पिउनुहोस्।’
मैले मुखमा चियाको सुर्कि नलिँदै वकिलले भने, ‘तपाईं चाहनुहुन्छ कि भाइले जे जोड्यो, त्यो उसलाई नदिएर ऊ बसेको अपार्टमेन्टका लागि मुद्दा हाल्नुहुन्छ? के तपाईं यही चाहनुहुन्छ?’
मैले तुरुन्तै भनेँ, ‘हो।’
वकिलले भने, ‘तपाईंले भाइ बसेको अपार्टमेन्टमा, भाइको सम्पत्तिमा अंश पनि माग्न सक्नुहुन्छ तर तपाईंले उसको लागि जुन रगत-पसिना बगाउनु भएको छ, त्यो फिर्ता पाइँदैन। तपाईंले दिनुभएको मिर्गौला फिर्ता पाइँदैन। तपाईंले उसको लागि जुन जिन्दगी खर्च गर्नुभयो, त्यो पनि फिर्ता पाइँदैन। मलाई लाग्छ, यी सबै कुराको अगाडि त्यो अपार्टमेन्टको मूल्य शून्य छ। भाइको नियत बदलियो, ऊ आफ्नो बाटोमा लाग्यो। अब तपाईं पनि त्यही गलत बाटोमा नजानुहोस्।’
वकिलले थपे, ‘ऊ भिखारी निस्कियो, तपाईं दिलदार हुनुहुन्थ्यो। दिलदार नै रहनुहोस्। तपाईंको हात माथि थियो, माथि नै राख्नुहोस्। अड्डा अदालत, मुद्दा कचहरी गर्नुको सट्टा जसरी भाइलाई पढाउनुभयो त्यसरी नै आफ्ना छोराछोरीलाई पढाउनुहोस्। तपाईंले दुःख गरेर जसरी भाइको जीवन सुधार्नु भयो, त्यसरी नै आफ्ना छोराछोरीको जीवन सुधार्न फेरि पनि मेहेनत गर्नुहोस्।’
यो कुरा सुनेर म वकिलको मुख हेरेर ट्वाल्ल परेँ।
म बसेको ठाउँबाट जुरुक्क उठेर टेबुलमा राखेको कागजातको फाइल उठाएर काखीमा च्यापेँ र आँखा पुछ्दै भनेँ, ‘हुन्छ, जान्छु है वकिल सा’ब!’ मेरा आँसु थामिएका थिएनन् र मैले त्यो नदेखियोस् भन्ने प्रयास गर्दै थिएँ।
समय बित्दै गयो। मैले मेरा छोराछोरीलाई राम्रो विद्यालयमा भर्ना गरेर पढाउन थालेँ। पन्ध्र वर्षपछि एकदिन म वकिलको अफिसमा गएँ। मेरो कपाल सेतै भइसकेको थियो, अनुहार चाउरिएको थियो। मेरो साथमा एकजना जवान मान्छे थियो, हातमा झोला थियो।
वकिलले मलाई चिनेनन्। मैले पन्ध्र वर्ष अघिको कथा सुनाएपछि चिने– ‘ओ! विमल दाइ! बस्नुहोस्।’
मैले वकिललाई भनेँ, ‘म बस्न आएको होइन वकिल सा’ब! मिठाई खुवाउन आएको हुँ। यो मेरो छोरा हो। काठमाडौँको नामी इन्जिनियरिङ कलेजबाट मास्टर्स गरेर लोक सेवा पास गर्यो र सडक डिभिजन कार्यालयमा इन्जिनियर भयो। अहिले हात्तिवनको एउटा हाउजिङ कोलोनीमा अपार्टमेन्ट किनेको छ। छुट्टी मिलाएर हिजो गाउँ आएको।’
वकिलले मेरो अनुहारबाट झल्किएको खुसी महसुस गरिरहेका थिए।
मैले वकिललाई भनेँ, ‘वकिल सा’ब! तपाईंले मलाई भन्नुभएको थियो- अड्डा अदालत, मुद्दा कचहरी गर्नुको सट्टा जसरी भाइलाई पढाउनुभयो, त्यसरी नै आफ्ना छोराछोरीलाई पढाउनुहोस्, तपाईंले दुःख गरेर जसरी भाइको जीवन सुधार्नु भयो, त्यसरी नै आफ्ना छोराछोरीको जीवन सुधार्न फेरि पनि मेहेनत गर्नुहोस्। तपाईंले भनेजस्तै गरेँ वकिल सा’ब!
गाउँमा सबैले मलाई भाइको विरुद्ध उकासेका थिए। मैले उनीहरूको होइन, तपाईंको कुरा सुनेँ। मैले मेरा छोराछोरीलाई राम्रो बाटोमा लगाएँ र भाइको जिन्दगी बर्बाद हुन दिइनँ। हिजो भाइ पनि आएर गोडा छोएर गयो, मलाई माफ गर्दे दाइ भनेर।’
मैले मेरो हातको लड्डु वकिलतर्फ बढाएँ। मेरो आँसु टप्किएर गालामा सलबलाए। वकिलका पनि आँखाभरि आँसु टलपलाए। तर पनि उनले मुस्कुराउँदै भने ‘दाइ! रिसलाई सही दिशामा मोड्न सकियो भने पछुताउनुपर्ने अवस्था कहिल्यै आउँदैन। धेरैले यसलाई व्यवहारमा उतार्दैनन्, तर तपाईंले बुझेर व्यवहारमा लागू गर्नु भयो। तपाईं सफल मान्छे हो दाइ। यो एकदमै राम्रो कुरा भयो।’
वकिल सा’बलाई लड्डु खुवाएर छोरो र म आफ्नो बाटो लाग्यौँ। वकिल मेरा लागि वकिलमात्र हैन, मार्गदर्शक पनि। यहि सोच्दा सोच्दै घर पुगेको पत्तै पाएनछु।