नेपालमा मास्टर डिग्री पढ्नु भनेको किताबी ज्ञानमा मात्रै सीमित छैन। १० बजेदेखि ५ बजेसम्म कक्षा साथसाथै प्रयोगशाला र शिक्षकका प्रश्न अनि साथीहरूको प्रतिस्पर्धामा फस्दाफस्दै हरेक साँझ थकित शरीर लिएर डेरामा फर्किन्छौँ, त्यो पनि हप्ताकै ६ दिन। हप्ताको एक दिन बिदाले पढाइ अनिवार्यताभन्दा बाहिर निस्कन नै दिँदैन। त्यसैमाथि प्रयोगशाला, प्रेजेन्टेसन अनि असाइनमेन्ट र रिपोर्टमा झुम्मिनुपर्छ।
हाम्रो जीवन केवल पढाइमा सीमित छैन। हाम्रो आफ्नै सपना, योजना र आकाङ्क्षा छन् तर समय सधैँ शून्य हुन्छ। कलेजबाट डेरामा फर्कँदा राति के पकाउने, बिहानको भाँडा कहिले माझ्ने जस्ता सामान्य चिन्ताहरू दिमागमा खेल्दै गर्दा फेरि कलेजको झोलातिर आँखा जान्छ अनि पहिला असाइनमेन्ट सकाऔँ, पछि अरू काम गरौँ भनी योजना बनाउँछौँ तर राति फेरि समय सकिन्छ। यसरी न त घरको काम सकिन्छ न कलेजको पूर्ण काम। हामी मास्टर विद्यार्थी के चाहन्छौँ त भन्दा पढ्न, बढ्न अनि सीप सिक्न र पार्टटाइम काम गरेर परिवारको बोझ कम गर्न तर यथार्थ भने फरक छ।
पार्टटाइम काम गर्नु, आत्मनिर्भर बन्नु वा सीप विकास गर्नु चानचुने कुरा होइन। यहाँको तालिकाले हाम्रो दिन र रात दुवै बन्देजमा राखिदिन्छ। बाहिर काम गर्ने इच्छा त छ तर १० देखि ५ को क्लासपछि काम दिने संस्था वा अफिस कतै खुला हुँदैनन्। ट्युटरिङ, रेस्टुरेन्ट वा इन्टरनेटहरूमा काम भएमा थोरै समय अनि कम पारिश्रमिक झेल्नुपर्छ।
कलेजमा साथीहरूसँग गफगाफ हुँदा हरेकको छुट्टै कथा हुन्छ। कोही भन्छन्- ‘पार्टटाइम जागिर खोज्न जानुपर्छ तर कलेजले नै समय दिन्न।’ कोही भन्छन्- ‘के पढ्दै छु खै भविष्यको सपना नै अल्झिएको छ!’ कलेज प्रशासनसँग कुरा गर्दा ‘पहिले पढाइ सकाऊ, जागिर त पछि खोज्न पाइन्छ’ भन्ने जवाफ आउँछ।
क्याम्पस प्रशासन त अझै पार्टटाइम कामलाई सकारात्मक रूपमा हेर्नसमेत तयार छैनन्। पढाइको चाप साथसाथै घरको आश र सुरक्षित भविष्यको चाहनाबीच बाँच्न तथा बढ्न बाध्य हुँदैछौँ हामी। हामी विद्यार्थीहरू समय तालिकाले अनि अवसरको अभाव र मानसिक तनावले दिन बिताउँदै छौँ।
विदेशमा भएका साथीहरूले त्यहाँ सहजै सीप बेच्न र इन्टर्न गर्न पाउँदा वा कलेजले नै पार्टटाइम कार्य सुविधा दिने कुरा सुनाउँदा अझ पीरमा परिन्छ। मेरो एकजना साथी अहिले विदेशमा छ र उसको अनुसार उसकै कलेजले विद्यार्थीहरूलाई पार्टटाइम काम मिलोस् भनेर त्यसै हिसाबको पाठ्यक्रम बनाउने रहेछन्। हप्ताको २ दिन कलेज अनि अरू दिन बिदा हुने रहेछ, कलेजनै भए पनि अनलाइन क्लास लिन पाइने व्यवस्था पनि रहेछ।
उसको कलेजमा पढाइ नहुने र हाम्रो कलेजमा हप्ताको ६ दिन पढाइ हुने तर पढाइको मान्यता फेरि उसकै कलेजको बढी छ। हामी विद्यार्थीलाई पढ्न गाह्रो होइन, पढेको अनुसार, पढाइको अनुसार रोजगार होस्, मान्यता होस् तब न हामी पनि पढ्छौँ। धेरै विद्यार्थीको पहिलो रोजाइ विदेश हुनुको कारण यही हो। कहिलेकाहीँ त साँच्चिकै नेपालमा मास्टर जोइन भएर गल्ती गरे जस्तो लाग्छ।
पढ्नैपर्छ, जिउनैपर्छ अनि काम गर्नैपर्छ तर विश्वविद्यालयको तालिका साथै संसाधनको अभाव र बोझले कहिलेकाहीँ आत्मविश्वास नै चुँडिन थालेको अनुभव हुन्छ। एक भागमा त ‘तैँले सक्छस्, गर्नै पर्छ’ हुन्छ तर अर्को भागमा ‘हैन, कहिलेसम्म गर्नु, कहिलेसम्म आफूलाई दरो बनाउनु, कहिले होला आमाबाउसँग पैसा माग्न छोड्नु’ भन्ने हुन्छ।
काम पाइहाले पनि पढाइ र काम सँगै अगाडि बढाउनै सकिँदैन। सकियोस् पनि कसरी? पढाइको लोड यति धेरै हुन्छ कि यताउता हेर्ने फुर्सद हुँदैन। हामी अब के चाहन्छौँ भन्दा पाठ्यक्रम यसरी बनाइयोस् कि न विद्यार्थीलाई तनाव होस् न त पढाइको बोझ। हामीमाझ सपना छ, सङ्घर्ष छ, रमाइलो छ तर त्यसमा अवसर भने यथार्थ जीवनमा पटक्कै छैन।
उच्च शिक्षा पढ्न मेहनत त गर्नुपर्छ नै तर नेपालको वास्तविकता कस्तो छ भन्दा आर्थिक जोहो या अनुभवसँगै पढाइ अगाडि बढाउँछु भन्ने स्वरूप नै छैन। विश्वविद्यालयहरू, सरकारी निकायहरू र निजी क्षेत्रले विद्यार्थीको लागि लचिलो समय र जागिरको अवसर सिर्जना गरे मात्र म जस्ता विद्यार्थीको सङ्घर्ष केही सहज हुन सक्ला।
अहिलेका लागि त सपनाहरू थन्क्याएर नोटको खोजी गर्दै पढाइमा बाँच्न सिक्दैछौँ। हामी आशा गर्छौँ कि भविष्यमा कलेज प्रशासनले विद्यार्थीको भलो सोच्ने, समय तालिका लचिलो बनाउने र पार्टटाइम अवसर उपलब्ध गराउनेछ। त्यस दिन हामी केवल पढ्ने मात्र होइन; अनुभव, सीप र आत्मनिर्भरता पनि सँगसँगै विकास गर्न सक्षम हुनेछौँ।
हामी मास्टर विद्यार्थीहरूको सङ्घर्ष केवल पढाइमा मात्र सीमित छैन। यो सङ्घर्ष हाम्रो जीवन, भविष्य र परिवारसँगको जिम्मेवारीसँग पनि जोडिएको छ। समयको कमी, आर्थिक चुनौती अनि कलेजको कडाइ र सामाजिक दबाबले कहिलेकाहीँ मानसिक स्वास्थ्यमा असर गर्छ। तर हामी निराश हुँदैनौँ। हामी भन्छौँ सपना सानो राखेर पनि पढ्न सकिन्छ, मेहनत र लगनशीलताले जीवनमा अवसर सिर्जना हुन्छ भन्दै अगाडि बढ्दै छौँ।
हामीले चाहेको कुरा सरल छ, पाठ्यक्रम यस्तो होस् कि न त विद्यार्थी तनावमा होस् न त पढाइको बोझ। पढाइ साथसाथै सीप विकास र पार्टटाइम काम अगाडि बढ्ने वातावरण सिर्जना होस्। यही हो हाम्रो सपना, यही हो हाम्रो सङ्घर्ष र यही हो हाम्रो आशा।