विद्यापति सनातन साहित्य भक्ति परम्पराका प्रमुख स्तम्भहरूमध्येका एक हुन्। यिनलाई वैष्णव र शैव भक्तिका सेतुको सम्मान प्रदान गरिएको छ। यिनी महाकवि, कवि कोकिल र रससिद्ध कविको सम्मानबाट विभूषित छन्। विद्यापति, तुलसीदास, सूरदास, कबीरदास, मीराबाई भन्दा पहिलेका व्यक्तित्व हुन्।
विद्यापति शिव तथा शक्ति दुवैका प्रबल भक्त थिए। शक्तिको रूपमा दुर्गा, काली, भैरवी, गंगा, गौरी आदिको वर्णन उनको रचनामा यथेष्ट छ। मिथिलाको धार्मिक, सांस्कृतिक, सामाजिक भूमिमा यो कुरा आज पनि व्याप्त छ।
विद्यापतिको पूरा नाम विद्यापति ठाकुर थियो। यिनी गणपति ठाकुर हाँसिनी देवीका पुत्र थिए। गणपति ठाकुरले कपिलेश्वर महादेवको आराधना गरेर यस्तो पुत्ररत्न प्राप्त गरेका थिए। भनिन्छ, विद्यापतिको भक्ति–सेवाबाट प्रभावित भएर स्वयं भोलेनाथ पनि एक समय उनकै सेवक (उगना) भएर बसेका थिए।
महाकवि विद्यापतिको जन्म प्राचीन मिथिला र आधुनिक भारतको बिहार प्रान्तको मधुवनी जिल्लाको विस्फी भन्ने गाउँमा भएको थियो। विद्यापतिको जन्म संवतको विषयमा स्पष्ट प्रमाण नदेखिए पनि विक्रम संवत् १४०७ मा भएको मानिन्छ। विद्यापतिकै एक पदबाट स्पष्ट हुन्छ कि लक्ष्मण–संवत् २९३, शाके १३२४ अर्थात् सन् १४०२ ई.मा देवसिंहको मृत्यु भयो र राजा शिवसिंह मिथिला नरेश बने। प्रचलित किंवदन्तीका अनुसार त्यस समय राजा शिवसिंहको आयु ५० वर्षको थियो र विद्यापति उनीभन्दा दुई वर्ष जेठो अर्थात्, ५२ वर्षका थिए। यस प्रकार १४०२ बाट ५२ घटाउँदा १३५० हुन आउँछ। अतः १३५० ई. यिनको जन्मतिथि मान्न सकिन्छ।
विद्यापतिको पारिवारिक जीवनको कुनै पनि स्वलिखित प्रमाण छैन। तर किंवदन्तीहरूबाट ज्ञात हुन्छ कि यिनले दुई वटा विवाह गरेका थिए। प्रथम पत्नीबाट नरपति र हरपति नामक दुई पुत्र भए र अर्को पत्नीबाट एक पुत्र वाचस्पति ठाकुर तथा एक पुत्रीको जन्म भयो। उनले पुत्रीको नाम ’दुल्लहि’ मृत्युकालमा रचित एक गीतमा उल्लेख गरेका छन्। कालान्तरमा विद्यापतिका वंशज कुनै कारणले विस्फी छाडेर सदाको लागि सौराठ गाउँ (भारत बिहारको मधुबनी जिल्ला) आएर बसे। वर्तमान समयमा उनका सबै वंशज यही गाउँमा निवास गर्छन्।
विद्यापति मैथिली, आसामी, बंगाली भाषाका सर्वोपरि कविका रूपमा जानिन्छन्। यिनी मैथिली लोकगीतका जनक पनि हुन्। मिथिलाञ्चलको लोक व्यवहारमा प्रयोग हुँदै आएको यिनको लोकगीतहरू मिथिला संस्कृतिको शृंगारको रूपमा रहेको छ। विद्यापतिको काव्यहरूमा मध्यकालीन मैथिली भाषाको स्वरूप दर्शन गर्न सकिन्छ। पदावली र कीर्तिलता यिनको अमर रचनाहरू हुन्।
यिनलाई संस्कृत, प्राकृत अपभ्रंश तथा मातृ भाषा मैथिलीसँगै आसामी र बंगाली भाषामाथि समान अधिकार प्राप्त थियो। विद्यापतिका रचनाहरू संस्कृत, अवहट्ठ, मैथिली, आसामी र बंगाली गरी पाँच वटै भाषाहरूमा पाइन्छन्। अवहट्ट, अपभ्रंशकै परवर्ती रूप हो। यसमा देशज र विदेशी शब्द पनि मिसिएको छ।
अवहट्ठको अर्थ हो अपभ्रंश भाषाका एक परवर्ती रूप, जो अपभ्रंश र नवागन्तुक आर्य भाषाहरू बिचको कडीको रूपमा रह्यो। यसले ११औँ र १४औँ शताब्दीका बिच साहित्य र सम्पर्क भाषाको स्थान प्राप्त गरेको थियो, जसको उपयोग मिथिला, बंगाल, आसाम र राजस्थान जस्तो क्षेत्रमा व्यापक रूपमा हुन थालेको थियो। अपभ्रंश र खास गरी उर्दू भाषाले दबदबा बनाउन थालेको समयमा मैथिली, आसामी र बंगाली भाषाको संरक्षण गर्न यिनले ’देसिल बयना सब जन मिट्ठा’ को सूत्र दिए, जुन त्यति बेला महत्त्वपूर्ण साबित भयो। यो सूत्र वर्तमान समयमा पनि मातृभाषा आन्दोलनहरूको आधार बनेको छ।
एक किंवदन्तीका अनुसार बालक विद्यापति सानैदेखि तीव्र बुद्धि र कवि स्वभावका थिए। एक दिन, जब यिनी आठ वर्षका थिए, तब आफ्ना पिता गणपति ठाकुरका साथ राजा शिवसिंहको राजदरबार पुगेका थिए। राजा शिवसिंहले भनेपछि यिनले उनको बारेमा तत्कालै निम्नलिखित पंक्ति रचेर सुनाए।
‘पोखरी रजोखरि अरू सब पोखरा।
राजा शिवसिंह अरू सब छोकरा।।’
विद्यापतिले गुरु हरि मिश्रबाट विद्या ग्रहण गरेका थिए। नैयायिक जयदेव मिश्र (पक्षधर मिश्र) का यिनी सहपाठी थिए। यिनी पिता गणपति ठाकुरका साथ सानै उमेरदेखि राजदरबार जान थालेका थिए। त्यसैले यिनी राजा शिवसिंहका बालसखा पनि भए। विद्यापतिले आफ्नो काव्य रचनाहरूद्वारा राजा शिवसिंह एवम् रानी लखिमादेवीलाई अमरत्व प्रदान गरेका हुन्। उनको लगभग २५० वटा गीतहरूमा शिवसिंहको भणिता (वक्तृत्व) पाइन्छ। राजा शिवसिंहले पनि राजकवि विद्यापतिलाई यथेष्ट सम्मान दिएका थिए। बिसफी गाउँ यिनलाई पारितोषिकको रूपमा दिइनुका साथै यिनलाई ’अभिनवजयदेव’को उपाधिबाट विभूषित गरिएको थियो।
महाकवि विद्यापति संस्कृत, अवहट्ठ, मैथिली आदि अनेक भाषाका प्रकाण्ड पण्डित थिए। कर्मकाण्ड, धर्म, दर्शन, न्याय, सौन्दर्य, भक्ति, शौर्य, प्रेम, विरह, अभिसार, राजस्तुति, समाज, संस्कृति, संस्कार, पिण्डदान आदि लोक व्यवहारका सबै सन्दर्भलाई केन्द्रमा राखेर विद्यापतिले कालजयी रचना गरेका छन्। काव्य र साहित्य क्षेत्रका महाकविले निम्न ग्रन्थहरूको रचना गरेका छन्:
पुरुष परीक्षा
भूपरिक्रमा
कीर्तिलता
कीर्ति पताका
गोरक्ष विजय
मणिमंजरा नाटिका
धर्मशास्त्रको सन्दर्भमा पनि महाकवि विद्यापतिको अमिट योगदान छ। यस विषयमा यिनले निम्नलिखित सात वटा ग्रन्थका रचना गरेका छन्:
गंगावाक्यावली
दानवाक्यावली
वर्षकृत्य
दुर्गाभक्तितरंगिणी
शैवसर्वस्वसार
गयापत्तालक
विभागसार
विद्यापतिले सम्पूर्ण जीवन साहित्यलाई अर्पित गरे।विद्यापति मैथिली साहित्यका महाकवि हुन्। आधुनिक मैथिली साहित्यको लेखन तथा विस्तारमा उनको ठुलो योगदान रहेको छ। मैथिली भाषा र साहित्यमा उनले गरेको योगदानको नेपाल र भारत दुवै देशले उच्च सम्मान गर्दै आ–आफ्नो देशको हुलाक टिकटमा उनको तस्बिर अङ्कित गरेका छन्।
विद्यापतिका बहुविषयी रचनाहरू:
अभिनव कोमल सुन्दर पात...
आदरें अधिक काज नहि बंध...
आहे सधि आहे सखी...
आसक लता लगाओल सजनी...
अम्बर बदन झपाबह गोरी...
ए धनी माननि करह संजात...
कंटक माझ कुसुम परगास...
आजु नाथ एक व्रत...
उचित बसए मोर...
कुंज भवन सएँ निकसलि...
गंगा–स्तुति
कान्ह हेरल छल मन बड साध...
के पतिआ लय जायत रे...
कि कहब हे सखी रातुक...
वसन्त–शोभा...
गौरी के वर देखि बड दुःख...
कुच–जुग अंकुर उतपत् भेल...
लोचन धाय फोघायल...
कामिनी करम सनाने...
जय– जय भैरवी असुर भयाउनि...
चन्दा जनि उग आजुक...
जाइत देखलि पथ नागरि सजनि गे...
जनम होअए जनु...
जाइत पेखलि नहायलि गोरी...
जखन लेल हरि कंचुअ अचोडि...
जौवन रतन अछल दिन चारि...
हम जुवती पति गेलाह...
नव यौवन अभिरामा...
जोगिया मोर जगत् सुखदायक...
बटगमनी
बड अजगुत देखल तोर...
बारहमासा गीत
बिसरही गीत...
भगता गीत...
बिरह गीत
भजन
भगवान् गीत...
भगवती गीत...
भूइयां के गीत...
विबाहक गीत...
सामरी हे झामरि तोर दहे...
सरसिज बिनु सर सर...
मानिनि आब उचित नहि मान...
नेपाल र भारत दुवै देशमा मैथिली आन्दोलन विद्यापति स्मृति दिवसकै आयोजनबाट सुरु भएको थियो। पण्डित सुन्दर झा शास्त्रीसमेतका अग्रसरतामा सुरु भएको यो आयोजना नेपालमा क्षेत्रीय भाषाहरूको अस्मिता र सम्मानको संघर्ष तथा यसका लागि लोकतन्त्रको आवश्यकता बोध गराउने लक्ष्यतिर केन्द्रित थियो।
कवि कोकिल विद्यापतिलाई नेपाल र भारतको मिथिला, आसाम, पश्चिम बङ्गाल र अन्य क्षेत्रमा पनि राष्ट्रिय विभूतिको रूपमा सम्मान गर्ने गरिन्छ र उनी भक्ति तथा संस्कृतिको धरोहरका रूपमा सम्मानित र पूज्य छन्। उनलाई आसामी र बङ्गालीहरूले पनि आफ्नो कवि ठान्दछन् जब कि नेपाली भाषासाहित्य तथा संस्कृतिमा पनि विद्यापतिको प्रभाव पर्न थालेको छ।
महाकवि विद्यापतिको देहावसान भएको कार्तिक धवल (शुक्ल) त्रयोदशीको दिन उनको आफ्नै रचनाबाट सिद्ध छ तर संवतको विषयमा जन्म संवतको झैँ मतभेद देखिन्छ। नगेन्द्रनाथ गुप्त सन् १४४० ई.लाई महाकविको मृत्यु संवत् मान्दछन्। महामहोपाध्याय उमेश मिश्रका अनुसार सन् १४४६ ई.पछि पनि विद्यापति जीवित थिए। यस्तै डा. सुभद्र झाले १३५२–१४४८ मध्य, डा. विमानबिहारी मजुमदारले १४६९ ई. र डा. शिवप्रसाद सिंहले १४४७ ई. मानेका छन्। विद्यापतिले देह त्याग गरेको स्थानको विषयमा भने विवाद छैन। उनले वर्तमान बेगूसराय जिल्लाको विद्यापतिनगर, गंगातटमा प्राण त्याग गरे। उनको मृत्युको सम्बन्धमा यो पद जनसाधारणमा आज पनि प्रचलित छ:
’विद्यापतिक आयु अवसान
कार्तिक धवल त्रयोदशी जान।’
विद्यापतिले मृत्युको अन्तिम क्षणसम्म पदको रचना गर्दै काव्यधारा प्रवाहित गरिरहे। भनिन्छ, आफ्नो जीवनको अन्तकाल आइपुगेको उनलाई आभास भएपछि उनले परिजनलाई आफूलाई गङ्गालाभका लागि सिमरियाघाट लैजान आदेश दिए। अलिवाजितपुरसम्म पुग्दा उनको शक्ति पूर्णतया क्षीण भयो र अगाडि बढ्न असमर्थ भए। त्यति बेला उनले गरेको गङ्गाको वन्दना विद्यापतिका अमर पदावलीहरूमध्ये एक हो।
बड. सुखसार पाओल तुआ तीरे।
छोडइत निकट नयन बह नीरे।।
करनोरि बिलमओ बिमल तरंगे।
पुनि दरसन होए पुनमति गंगे।।
एक अपराध घमब मोर जानी।
परमल माए पाए तुम पानी।।
कि करब जप–तप जोग–धेआने।
जनम कृतारथ एकहि सनाने।।
भनई विद्यापति समदजों तोही।
अन्तकाल जनु बिसरह मोही।।
यस गंगा स्तुतिको अर्थ यस प्रकार स्पष्ट गर्न सकिन्छ:
‘हे माता पतित पावनी गंगा, तिम्रो तटमा बस्न पाएर मैले संसारको अपूर्व सुख प्राप्त गरेँ। तिम्रो सान्निध्य त्याग गर्नु पर्दा अश्रुपात भइरहेको छ। निर्मल तरंगिनी पूज्यमती गंगा! म कर जोडेर तिम्रो विनती गर्दछु कि पुनः तिम्रो दर्शन होस्। मेरो सबै अपराध जानेर पनि क्षमा गरी देऊ हे माता! मैले तिमीलाई आफ्नो पैरले स्पर्श गरेकोमा क्षमा गरी देऊ। गंगास्नानले मेरो जन्म कृत्याकृत्य भयो। अब मलाई जप–तप, योग–ध्यानको कुनै आवश्यकता छैन। विद्यापति पटक–पटक निवेदन गर्दछ कि मृत्युको समय मलाई नबिर्सनु।’
भनिन्छ, उनको भक्तिपूर्ण वन्दनापछि गङ्गाको धार विद्यापतिसम्म घुमेर गयो र गङ्गालाभ गर्दै उनले देहत्याग गरे। वाजितपुरको त्यो स्थानमा अहिले विद्यापति नगर रेल्वे स्टेसन छ। जीवनको अन्तिम क्षणसम्म रचनाको प्रमाणका साथै यसले उनको आध्यात्मिक उच्चता पनि स्पष्ट गर्छ।
विद्यापतिको अवसान भएको कार्तिक धवल (शुक्ल) त्रयोदशीको दिनलाई विद्यापति स्मृति दिवसका रूपमा मनाइने गरिन्छ। नेपाल सरकारले विद्यापति पुरस्कार कोष स्थापना गरी बर्सेनि मिथिलाको विविध साहित्य सिर्जनालाई पुरस्कृत गर्दै आएको छ।
बनौली डिह महाकवि विद्यापतिसँग सम्बन्धित एक ऐतिहासिक स्थान हो तर कुन चाहिँ बनौली भन्नेमा विवाद छ। मुस्लिम आक्रान्ताले राजा शिवसिंहलाई पक्राउ गरेपछि उनले विद्यापतिलाई आफ्नी पत्नी लखिमादेवीलाई द्रोणवारवंशी राजा पुरादित्यको बनौलीराजमा शरण लिन लैजान भनेका थिए। विद्यापति र रानी लखिमादेवीले द्रोणवार पुरादित्यको दरबारमा शरण लिएका थिए।
उनीहरू यहाँ १२ वर्षसम्म बसेको बताइएको छ। बनौली भन्ने छुट्टाछुट्टै स्थान महोत्तरी, सिराहा र सप्तरी जिल्लामा रहेकाले विवादको विषय बनेको छ। हाल मधेस प्रदेश सरकारले महोत्तरी जिल्लाको बनौली गाउँलाई विद्यापतिको डिह भनी यसलाई पर्यटकीय केन्द्र समेत घोषणा गरेको छ। तर अन्य जिल्लाहरूले भने आफ्नो दाबी छाडेका छैनन्।
-1763025367.jpeg)
-1763025367.jpeg)
-1763025367.jpeg)
(लेखक झा इतिहास, संस्कृति र समसामयिक विषयमा दक्खल राख्छन्।)