कहिलेकाहीँ सबै कुरा देखिन्छ तर भनिँदैन। सबै कुरा महसुस हुन्छ तर अभिव्यक्त गर्न सकिँदैन। शब्दहरू मनको कुनामा अड्किएका हुन्छन्, उनीहरू मुखसम्म आउन खोज्दा भावनाको बाढीले रोकिदिन्छ। त्यस्ता मौन क्षणहरूमा पनि एउटा आवाज हुन्छ जुन कानले होइन, आत्माले सुन्छ। त्यस मौनतालाई बुझ्ने कला हरेक मानिससँग हुँदैन तर फोटो खिच्ने मेरो पेसाले मलाई त्यही मौनता पढ्न सिकाएको छ।
म फोटोग्राफर हुँ। क्यामराको लेन्स मेरो आँखाको विस्तार हो। जसले केवल दृश्य मात्र होइन, भावनाको गहिराइ पनि समात्छ। धेरैजसो मानिसहरू फोटोलाई केवल सुन्दरता हेर्ने माध्यम ठान्छन्। तर मेरो लागि हरेक तस्बिर एउटा कथा हो, एउटा मौन संवाद जहाँ नबोलेकाहरू नै सबैभन्दा ठुलो स्वरमा बोलिरहेका हुन्छन्।
कति पटक म कुनै अनुहारमा रोकिएको भाव देख्छु मुस्कानले ढाकिएको तर आँखाभित्र कतै नबोलेको पीडा छोपिएको। ती आँखा बोल्छन् तर शब्दले कहिल्यै त्यो अर्थ समात्न सक्दैन। त्यस बेला म क्यामरा क्लिक गर्छु किनभने त्यो क्षणमा मौनता नै सबैभन्दा ठुलो आवाज हुन्छ।
कहिलेकाहीँ लाग्छ, संसारका सबैभन्दा ठुला पीडाहरू मौनतामा बाँधिएका छन्। मान्छे रुन सक्छ, रिसाउन सक्छ, बोल्न सक्छ तर सबैभन्दा कठिन कुरा भनेको आफ्नो मौनतालाई व्यक्त गर्नु हो। मौनता कहिलेकाहीँ चिच्याहटभन्दा धेरै चर्को हुन्छ।
म फोटो खिच्दा त्यही मौन चिच्याहट समात्ने प्रयास गर्छु। किनभने कति कुरा छन्, जुन ओठले बोल्न सक्दैनन् तर दृष्टिले भनिसकेको हुन्छ।
फोटोग्राफर हुनु केवल प्राविधिक सीप होइन, त्यो भावनाको संसार हो। एउटा फ्रेममा जीवनका असङ्ख्य संवेदनाहरू बाँध्ने कला हो। कति पटक मैले देखेको छु बिहेमा खिचिएको मुस्कानभित्रको डर, जन्मोत्सवमा चम्किएको आशा वा अन्त्येष्टिमा टल्किएको मौन श्रद्धा। यी सबै क्षणहरूमा शब्दहरू छैनन् तर कथा अनन्त छन्।
नबोलेकाका शब्दहरू केवल वाक्य होइन, यो हरेक फोटोग्राफरको अनुभव हो।
हामीले बुझ्ने सौन्दर्य प्रकाश र छायाको सन्तुलन मात्र होइन, भावनाको तौल हो। कहिलेकाहीँ अत्यधिक प्रकाशले विषयको आत्मा हराउँछ र कहिलेकाहीँ हल्का छायाले त्यसलाई अझ जीवन्त बनाउँछ। जीवन पनि त्यस्तै छ जहाँ नबोलेकाहरू छायामा बाँचिरहेका हुन्छन् र हामी प्रकाशमा तिनलाई खोजिरहेका हुन्छौँ।
म प्रायः सोच्थेँ, के सबै कुरा भन्नु आवश्यक हुन्छ?
सायद होइन। केही कुरा भनेका बित्तिकै तिनको गहिराइ हराउँछ। त्यसैले त मनका कतिपय कुरा मौन रहँदा अझ सुन्दर लाग्छन्।
फोटो पनि त्यस्तै हो; कहिलेकाहीँ त्यो बोल्दैन तर दर्शकको मनमा हजार कथा जगाउँछ। हरेक दृष्टिले फरक अर्थ निकाल्छ। यही हो कला जसले मौनतालाई पनि सजीव बनाउँछ।
कहिलेकाहीँ म कुनै वृद्धको अनुहारमा कालको दस्तखत देख्छु तर त्यो आँखा अझै बाल्यकालका सपना बोकेर चम्किरहेको हुन्छ। कुनै आमाको अनुहारमा थकान देखिन्छ तर त्यो थकानभित्र सन्तानको सन्तोष मिसिएको हुन्छ। यस्ता क्षणहरू शब्दमा वर्णन गर्न गाह्रो हुन्छ तर फोटोले त्यो भाव बोलाइदिन्छ।
जीवनमा धेरै कुरा यस्ता हुन्छन्, जुन नबोल्दा आत्मा भारी हुन्छ। तर सबै कुरा बोल्न सकिँदैन किनभने सबै कुरा बुझ्न चाहिने मान्छे पनि सधैँ हुँदैनन्। त्यसैले म फोटोग्राफीलाई आफ्नो भाषा बनाएको छु। म शब्दहरू होइन, तस्बिरहरूमार्फत बोल्छु।
मेरो क्यामरा मेरो कलम हो, जसले मौनतालाई लेख्छ। नबोलेकाका शब्दहरू केवल पीडाको कथा होइन, यो अनुभूतिको दस्ताबेज हो। हरेक मुस्कानभित्र लुकेको संवेदना, हरेक आँसुभित्रको सम्झना, हरेक मौन दृष्टिभित्रको चिच्याहट यी सबैलाई समेट्ने प्रयास हो।
जब म फोटो सम्पादन गर्छु, म केवल रंग मिलाउँदिनँ; म भाव मिलाउँछु। प्रत्येक टोन, प्रत्येक प्रकाशको छाया, प्रत्येक मुस्कानको कोण सबैले त्यो मौन आवाजलाई अझ स्पष्ट बनाउँछन्।
सायद हरेक मानिससँग एउटा कथा हुन्छ, जुन उसले कहिल्यै बोलेको हुँदैन। तर उसको आँखाले, उसको उपस्थितिले र उसको मौनताले पहिले नै त्यो कथा सुनाइसकेको हुन्छ।
फोटो त्यही साक्षी हो जसले समयलाई रोक्छ र भावनालाई अमर बनाउँछ।
मलाई लाग्छ फोटोग्राफरको जिम्मेवारी केवल तस्बिर खिच्नु होइन, त्यो तस्बिरले बोल्न नसकेको कथा सुन्ने हो। किनभने कहिलेकाहीँ मौनता नै सबैभन्दा सत्य अभिव्यक्ति हुन्छ।
शब्दहरू सकिन्छन्, तर मौनताले कहिल्यै सिमाना पार गर्दैन। त्यसैले म हरेक क्लिकसँगै सोच्दछु, यी नबोलेकाहरू नै त जीवनका सबैभन्दा सुन्दर कविता हुन्।
(लेखक फोटोग्राफर हुन्।)