नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवानिकट ७ जना नेताहरूले सोमबार चाक्सीबारीमा छलफल गरे।
छलफलको विषय समसामयिक राजनीतिक घटनाक्रम, सरकार र कांग्रेसको आन्तरिक विषय हो।
तर पछिल्ला दिनमा नेता शेखर कोइरालाले बढाएको सक्रियताबारे पनि उनीहरूले केहीबेर कुरा गरे।
शेखरले प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' लाई साउन १ गते र त्यसको भोलिपल्ट भंगाल पुगेर पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग छलफल गरेका थिए।
यो पनि: पूर्वराष्ट्रपति भण्डारीले शेखरसँग भनिन्- म राजनीतिमै फर्किएँ, तपाईंहरूको नैतिक समर्थन चाहियो
साथै कोइरालाले आइतबार आफूनिकट मन्त्री र सांसदहरूसँग बेग्लाबेग्लै ठाउँमा समूह-समूह बनाएर छलफल गरेका थिए।
शेखरको सक्रियताले कांग्रेस-एमाले गठबन्धनमा दरार सिर्जना हुन लागेको त होइन भन्ने कोणबाट पनि चर्चा भइरहेका छन्।
यही सन्दर्भमा सभापति देउवानिकट ७ जना नेताहरूले नेपाली कांग्रेस र नेकपा (एमाले) बीच २०८१ असार १७ को ७ बुँदे सहमतिअनुसार नै अघि बढ्नुपर्ने निष्कर्ष निकालेका छन्।
पूर्वउपसभापति गोपालमान श्रेष्ठ, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, प्रकाशमान सिंह, पूर्वमहामन्त्रीहरू शशांक कोइराला, कृष्णप्रसाद सिटौला र प्रवक्ता प्रकाशशरण महतबीच चाक्सीबारीमा कुराकानी भएको हो। उनीहरू सबै सभापति देउवानिकट नेताहरू हुन्।
छलफलमा सहभागी एक नेताका अनुसार पूर्वमहामन्त्री शशांक कोइरालाले शेखर कोइरालाका पछिल्ला गतिविधिबारे प्रसंग निकालेका थिए।
‘शशांकजीले शेखरजीका पछिल्ला गतिविधिबारे प्रसंग उप्काउनुभएको थियो, हाम्रो मुख्य चासो सरकारका कामकारबाही र पार्टीका आन्तरिक विषय नै थिए, तर शेखरजीको दौडधुपका कुरामा धेरै चिन्ता गरिएन, किनभने त्यो उहाँले हुने काम गरेको भए पो धैरै घोत्लिनु!,’ चाक्सीबारीमा छलफलमा सहभागी ती नेताले भने, ‘शेखरजीका दौडधुप असान्दर्भिक र गठबन्धनको भावनाविपरीत छ।’
पार्टीको अनुशासन समितिले १८ जना नेता कार्यकर्तामाथि गरेको कारबाहीका सन्दर्भमा र आफूले सरकारमा पठाएका चार जना मन्त्रीहरूको कामको प्रभावकारिताबारे शेखरले आन्तरिक छलफल गरेका थिए।
उक्त छलफलमा सहभागी केही सांसदहरूले 'उस्तै परे कोइरालाले मन्त्रीहरू फिर्ता बोलाउन सक्ने' दाबीसमेत गरेका थिए। छलफलका लागि बोलाइएका संस्थापनइतरका कतिपय सांसद भने नगएको प्रसंग पनि कांग्रेसभित्र चर्चामा छ।
यो पनि: शेखर कोइरालाले गरे आफूनिकट मन्त्री र सांसदहरूसँग छलफल
सेतोपाटीसँग संक्षिप्त कुराकानी गर्दै पूर्वउपसभापति गोपालमान श्रेष्ठले समग्र विषयमा सभापति शेरबहादुर देउवालाई भेटेर कुरा राखिने बताए।
‘भोलि बिहान १० बजेतिर हामी सभापतिजीलाई भेटेर कुरा राख्छौं,’ उनले भने, ‘सभापतिजीलाई राख्ने कुरा उहाँसँग भन्नुअघि नै मिडियामा सार्वजनिक गर्ने कुरा भएन, भोलि नै भनौंला।’
उनले आफूले यसबाहेक थप कुरा नगर्ने र आजको छलफलबारे मिडियामा बोल्न पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालाई जिम्मा दिइएको बताए।
नेताहरूबीचको छलफल सकिएपछि पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले पत्रकारहरूसँग कुरा राखे।
सिटौलाका अनुसार चाक्सीबारीमा नेताहरूबीच सरकारका कामकारबाहीलगायत विषयमा कुराकानी भयो।
केपी शर्मा ओली नेतृत्वको सरकारमा कांग्रेसको नेतृत्व गर्दै गएका उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहको घर चाक्सीबारीमा छलफल भएको थियो।
‘सरकारले अझै प्रभावकारी रूपमा जनताको हितमा काम गर्न सक्नुपर्छ भन्ने हाम्रो मान्यता छ भनेर हामीले उपप्रधानमन्त्री प्रकाशमानजीलाई भनेका छौं, उहाँले प्रधानमन्त्रीसमक्ष कुरा राख्नुहुन्छ,’ सिटौलाले भने, ‘गठबन्धनको भावनाबमोजिम सरकारले जनताको हितमा व्यापक काम गर्न सकोस्, आजको हाम्रो मान्यता यही छ।’
साथै कांग्रेस र एमालेबीच ७ बुँदे सहमति हुँदा संविधान संशोधनको विषय पनि उल्लेख रहेको तर त्यसतर्फ खासै गृहकार्य पनि नभएको विषय छलफलमा उठेको थियो।
‘संविधानको कार्यान्वयनको समीक्षा गर्ने र संशोधन गर्ने सरकारको नीति तथा कार्यक्रम र कांग्रेस केन्द्रीय समितिको पनि निर्णय छ, सरकार बन्नुअघि सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीबीच समझदारीमा पनि यो कुरा छ, तर संविधान संशोधनको कुरा अघि बढिरहेको छैन, त्यसका लागि हामी सबैले संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ हुने गरी बहस र छलफल चलाउनुपर्छ भन्ने हामीले कुराकानी गरेका छौं,’ सिटौलाले भने, ‘जे-जे विषयमा छलफल भयो, हामी भोलि नै सभापतिजीलाई भेटेर जानकारी गराउँछौं।’
भित्र नेताहरूबीच कुरा चलेको तर बाहिर प्रसंग नउठेको शेखर कोइरालाको सक्रियताबारे पनि पत्रकारहरूले प्रश्न राखेका थिए।
कोइरालाले माओवादी अध्यक्ष र पूर्वराष्ट्रपतिलाई भेट्ने विषय 'व्यक्तिगत' रहेको भन्दै उनले कोइरालालाई नै यसबारे सोध्न आग्रह गरेका थिए।
‘यो उहाँको कुरा हो, उहाँलाई नै सोध्दा राम्रो हुन्छ,’ उनले भने, ‘हाम्रो कुरा के छ भने- यो कांग्रेस र एमालेको गठबन्धन सरकार हो, गठबन्धनको भावनाअनुसार सरकारले काम गर्नुपर्छ, गठबन्धन २०८४ को निर्वाचनसम्म जाने गरी सरकारले अझै राम्रोसँग काम गरोस् भन्ने हो।’
२०७८ मा भएको १४ औं महाधिवेशनअघि पनि यसरी नेताहरू आलोपालो घरमा बैठक गर्ने र विभिन्न विषयमा सल्लाह लिने गर्थे। १५ औं महाधिवेशनको तयारी चलिरहँदा पनि नेताहरूले छलफललाई निरन्तरता दिएका छन्। यसअघि यस्तो छलफल विमलेन्द्र-प्रकाशमान र शशांकबीच हुन्थ्यो भने केही समयदेखि गोपालमान, विजयकुमार, कृष्णप्रसाद र प्रकाशशरण पनि मिसिन थालेका छन्।
यसअघि उनीहरूबीच भएको बैठकले १५ औं महाधिवेशनसम्म यो समूहलाई अघि बढाउने र सातै प्रदेशमा अन्तर्क्रिया लगायत कार्यक्रम गर्दै मानिसहरू थप गर्दै लैजाने सहमति थियो।
कांग्रेस केन्द्रीय समितिले १५ औं महाधिवेशन मिति तोकिसकेको छैन। क्रियाशील सदस्यता नवीकरणको काम असोज मसान्तभित्र सक्ने र त्यसपछिको केन्द्रीय समितिबाट महाधिवेशनको तिथिमिति तोक्ने तयारीमा कांग्रेस छ।
यसअघि सभापति देउवानिकट ११ जना नेताहरूले फागुन २ गते बूढानीलकण्ठ पुगेर 'अबको सभापति उम्मेदवार को हो' भनेर तोक्न देउवालाई आग्रह गरेका थिए। सभापति देउवाले यसबारे केही जबाफ नदिएपछि उनीहरू आफ्नो ढंगले नेताहरू जुटेर छलफल गर्ने र जिल्ला दौडाहामा लागेका छन्।
१५ औं महाधिवेशनका लागि नेता शेखर कोइराला र महामन्त्री गगन थापाले तयारी सुरू गरिसकेको भन्दै सभापति देउवानिकट ७ नेताहरूले पनि समूहलाई एकढिक्का राख्दै तयारी अघि बढाएका हुन्।
सभापति देउवा तेस्रो कार्यकालका लागि सभापति बन्न नमिल्ने भएकोले देउवा समूहबाट सभापति उम्मेदवारको समूहभित्रै खोजी भइरहेको छ भने ७ जनाभन्दा बढी नेता सभापति उम्मेदवारका लागि आकांक्षी छन्।