नेपाली कांग्रेसका नेता शेखर कोइरालाले आफूनिकट मन्त्री र सांसदहरूसँग छलफल गरेका छन्।
कोइरालाले आइतबार बिहान र दिउँसो समूह-समूहमा बेग्लाबेग्लै रूपमा आफूनिकट मन्त्री र सांसदहरूसँग छलफल गरेका हुन्।
दरबारमार्गस्थित होटल याक एण्ड यतिमा कोइरालाले मन्त्री र सांसदहरूसँग छलफल गरेको कोइरालानिकट एक सांसदले जानकारी दिए।
‘नेता कोइरालाले कृषि तथा पशुपंक्षी विकास मन्त्री रामनाथ अधिकारीसहित ८ जना सांसदहरूसँग बिहान छलफल गर्नुभएको थियो, अहिले थप १२ जना सांसदलाई छलफलका लागि बोलाइएको छ,’ ती सांसदले भने।
केपी शर्मा ओली नेतृत्वको संघीय सरकारको कामकारबाहीप्रति कोइराला सन्तुष्ट छैनन्।
ओली नेतृत्वको सरकारमा कोइरालाले आफू पक्षबाट ४ जना मन्त्री पठाएका थिए।
कोइराला समूहको आन्तरिक छलफलमा सरकारमा सामेल कांग्रेसका मन्त्रीहरूका कामकारबाहीप्रति पनि गुनासा उठेका छन्।
‘उस्तै परे कोइरालाले आफूले पठाएका मन्त्री फिर्ता बोलाउने सम्भावना पनि छ,’ ती सांसदले दाबी गरे, ‘सरकारमा बसेर परिणाम नदिने र प्रभावकारी काम नगर्ने हो भने पार्टीले फिर्ता बोलाउँदा मन्त्री आउनुपर्ने हुन्छ।’
साथै पार्टी सभापति शेरबहादुर देउवाको निर्देशनमा केन्द्रीय अनुशासन समितिले १८ जना नेता कार्यकर्तामाथि अनुशासन कारबाही गरेको भन्दै उक्त अनुशासन कारबाही फिर्ताका लागि दबाब दिन सांसदहरूले सामूहिक राजीनामा दिनेसम्मको प्रसंग पनि छलफलमा उठेको ती सांसदले जानकारी दिए।
पछिल्लो समय नेता शेखरले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि छलफल गरेका थिए।
कांग्रेसमा अहिले प्रतिनिधि सभा सांसद ८८ जना छन्। तीमध्ये मोहनबहादुर बस्नेत निलम्बनमा छन्।
२०७९ पुस ६ गते संसदीय दल नेताको चुनाव हुँदा देउवाले ६४ र महामन्त्री गगन थापाले २५ मत प्राप्त गरेका थिए।
नेता कोइरालातिर बढीमा ३० जना प्रतिनिधि सभा सांसद रहेको संस्थापन पक्षको दाबी छ। कांग्रेसमा संसदीय दल नेता परिवर्तन गर्न कम्तीमा ४५ मत चाहिन्छ।