नेकपा एमालेका उपमहासचिव रघुवीर महासेठले पार्टी उपाध्यक्ष रामबहादुर थापा बादललाई जनताको बहुदलीय जनवाद पढ्न भनेका छन्।
सोमबार भक्तपुर गुण्डुस्थित अध्यक्ष केपी शर्मा ओलीको निवासमा बसेको सचिवालय बैठकमा महासेठले दलको नेताको हैसियतले बादलले बोलेका कुराहरूप्रति असन्तुष्टि जनाएका हुन्।
बादलले प्रतिनिधि सभाको पहिलो बैठकमा दलका तर्फबाट बोल्दै नेपाली सेना, अदालतको भूमिकामाथि प्रश्न उठाएका थिए। सेना, कर्मचारीतन्त्र र विभिन्न गैरसरकारी संस्थाको सहयोगमा जादुयी जित निकालेको बताएका थिए।
त्यसको भोलिपल्टै सचिवालय बैठक बसेर एमालेले उनको अभिव्यक्ति सच्याएको थियो। यद्यपि संसदको अभिलेखबाट हटेको थिएन।
त्यसपछि पनि बादलले त्यस्तै अभिव्यक्ति दिँदै आएकाप्रति महासेठको आपत्ति रहेको एमालेका एक पदाधिकारीले बताए।
'उपाध्यक्ष कमरेड बादलले जनताको बहुदलीय जनवाद पढ्नुभएको रहेनछ। उहाँलाई एमालेको सिद्धान्त जनताको बहुदलीय जनवाद पढ्न म सुझाव दिन्छु,' महासेठले आजको बैठकमा भनेका थिए।
महासेठले बादलले एमालेलाई प्रचण्डपथतिर डोर्याएको भन्दै आपत्ति जनाएका थिए।
'बादलले एमालेलाई प्रचण्डपथतिर डोहोर्याउँदै हुनुहुन्छ, त्यसैले उहाँले जबज पढ्नुपर्ने भयो,' महासेठले भनेका थिए।
उपाध्यक्ष बादलले पोखरामा दिएको अभिव्यक्ति पनि आपत्तिजनक रहेको महासेठले बताएका थिए।
बादलले पोखरामा पार्टीका दुष्मनविरूद्ध वडावडाबाट घेराहाल्नुपर्ने, दुष्मनहरूलाई आधारभूत तहबाटै घेराबन्दी गर्नुपर्नेजस्ता 'जनयुद्धकालीन' शब्द प्रयोग गरेर पार्टीलाई घाटा पुर्याएको महासेठको बुझाइ थियो।