नेकपा एमालेको सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजीनामाबारे कुनै पनि सदस्यले कुरा उठाएनन्।
नेकपा एमालेभित्र पछिल्लो समय पार्टी पुनर्गठनको बहस उठेको थियो। गत फागुन २१ गतेको निर्वाचनमा पार्टीले अनपेक्षित पराजय व्यहोरेको भन्दै विशेष महाधिवेशनसमेत माग भएर हस्ताक्षर संकलन सुरू भएको थियो। बुद्धिजीवी परिषद् अध्यक्ष गजेन्द्र थपलिया, युवा संघका उपमहासचिव उपेन्द्र शाही, अनेरास्ववियुका उपमहासचिव कमल जोशीले विशेष महाधिवेशनको माग राख्दै हस्ताक्षर संकलन सुरू गरेका थिए।
उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल लगायत नेताहरूले अध्यक्ष ओलीकै अध्यक्षतामा बस्ने सचिवालय बैठकमा पुनर्गठनबारे छलफल हुने भन्दै विशेष महाधिवेशन पक्षधर नेताहरूलाई आश्वासन दिएका थिए।
तर आज झण्डै पाँच घण्टा चलेको सचिवालय बैठकमा अध्यक्ष ओलीको राजीनामाबारे कुनै प्रसंग नउठको एक पदाधिकारीले बताए।
‘पार्टीलाई सुदृढ बनाएर लैजाने विषयमा व्यापक कुराकानी भयो। आज पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीको सदस्यता नवीकरण गर्ने निर्णय भयो,’ ती नेताले भने, ‘तर ओलीको राजीनामाबारे कसैले कुरा उठाएन।’
ती नेताले अब बस्ने सचिवालय बैठकमा त्यसबारे छलफल हुने बताए।
‘सचिवालयको अर्को बैठक जेठ ८ गते बस्ने तय भएको छ। अध्यक्ष ओलीको राजीनामाबारे त्यहाँ छलफल होला,’ ती नेताले भने।
एमाले उपमहासचिव लेखराज भट्टकाअनुसार आजको बैठकमा ११ वटा एजेन्डा महासचिव पोखरेलले प्रस्तुत गरेका छन्।
उनका अनुसार पदाधिकारीहरूको वरीयताक्रम निर्धारण, आम निर्वाचन २०८२ पछि गठित सरकारको काम र क्रियाकलाप, सदस्यता नवीकरण र विस्तार, पदाधिकारी तथा सदस्यहरूको कार्यविभाजन, संविधान सुझाव कार्यदल गठन छलफलको कार्यसूचीमा छन्।
त्यस्तै निर्वाचनको समीक्षा प्रतिवेदन तयारी कार्यदल, पार्टी कार्यालय भवन निर्माण, नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठानको निर्देशक कमिटी गठन, संगठन विभागमा सदस्यहरू मनोनीत र विविध प्रस्ताव तय गरिएको छ।
‘आजको बैठकले विद्या भण्डारीलाई सदस्यता दिने निर्णय गरेको छ, अर्को बैठक जेठ ८ गते बिहान ११ बजे बस्नेछ,’ उनले भने।