नेकपा एमालेको सोमबार बसेको सचिवालय बैठकले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता रोक्ने १० महिनाअघिको निर्णय उल्ट्यायो।
त्यति बेला एमालेले संविधान, पार्टीको विधानअनुसार पूर्वराष्ट्रपति भण्डारीको सदस्यता नवीकरण नहुने बताएको थियो। तीन वटा आधारसमेत देखाएको थियो।
तर आजको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले भण्डारीले प्रक्रिया पुर्याएर निवेदन दिइसकेको भन्दै सदस्यता नवीकरण गर्नुपर्ने प्रस्ताव राखे।
‘उहाँको निवेदन आइसकेको छ। अब नरोकौं भन्नुभयो,’ एक पदाधिकारीले भने।
यति मात्र होइन, सदस्यता नवीकरणको प्रस्ताव अघि सार्दै अध्यक्ष ओलीले भण्डारीको योगदानको ‘महिमामण्डन’ नै गरेको ती नेताले सुनाए।
‘उहाँको क्षमता बुझेरै पार्टीले दुईदुईपटक उपाध्यक्ष बनायो। क्षमताकै कारण उहाँ दुईपटक राष्ट्रपति निर्वाचित हुनुभयो,’ अध्यक्ष ओलीले भनेका थिए, ‘उपाध्यक्ष र राष्ट्रपति हुँदा उहाँले सम्झनलायक काम गर्नुभएको छ।’
अहिले प्रक्रियासंगत ढंगले निवेदन आएको र सदस्यता दिनु उपयुक्त हुने ओलीले बताएका थिए। ओलीको प्रस्तावमा कसैले विमति नजनाएको ती नेताको भनाइ छ।
पूर्वराष्ट्रपति भण्डारीलाई अचानक सदस्यता दिनुपर्ने ओलीको प्रस्तावबारे हामीले सचिवालयका अरू केही नेतालाई सोध्यौं।
ती नेताले अध्यक्ष ओली पार्टीभित्र संकटमा पर्दै गएकाले त्यसको मोचनका लागि भण्डारीलाई सदस्ता दिनुपर्ने प्रस्ताव ल्याएको बताए।
‘हिजो विद्या भण्डारी नरोके आफू कमजोर हुने ठान्नुभएको थियो। त्यसैले उहाँले नै रोक्नुभएको हो,’ ओली पक्षकै एक नेताले भने, ‘आज भण्डारीलाई सदस्यता नदिए आफू टिक्न सक्दिनँ भन्ने ठान्नुभएको छ। एकाएक सदस्यता दिनुपर्ने प्रस्ताव बैठकमा ल्याउनुभयो।’
पछिल्लो समय भण्डारी ओलीसँग नजिक देखिए पनि वास्तविकता त्यस्तो नभएको ती नेताले बताए।
‘पूर्वराष्ट्रपति भण्डारीलाई ओलीले गर्नुसम्म अपमान गर्नुभएको छ। भण्डारीले यति छिट्टै बिर्सिहाल्नुहुन्छ भन्ने मलाई लाग्दैन। सदस्यता लिने प्रयोजनका लागि उहाँ नजिकिनुभएको हो। परिदृश्य अहिले देखिएभन्दा भिन्न हुनेछ,’ ती नेताको भनाइ छ।