सेतोपाटी चुनाव विश्लेषण – ७
मधेसको 'कोर' क्षेत्रमा पर्ने सप्तरीको राजविराज सहरलाई यति बेला तीनवटा कुराले रंगीन बनाएको छ — बिहेको चहलपहल, होलीको तयारी र चुनावको रौनक।
सहरका हरेकजसो पार्टी प्यालेस र होटल बिहेको निम्ति झकिझकाउ पारिएका छन्। सहर डुल्दा ठाउँ ठाउँमा 'ब्यान्ड, बाजा, बारात' सँग जम्काभेट भइरहन्छ।
अर्कातिर, सहरका चोक चोकमा होलीको बजार लागेको छ। स्थानीयहरू थरीथरी रङ, पिचकारी र होलीको टिसर्ट–कुर्ता किन्न झुम्मिएका देखिन्छन्।
जहाँसम्म चुनावी रौनकको कुरा छ, यसले सिंगो मधेसलाई छपक्कै छोपिसकेको छ।
हामीले काठमाडौंबाट चितवन, दाङ हुँदै रूपन्देही आइपुग्दासम्म अनुभव नगरेको चुनावी रौनक मधेस प्रदेशको राजधानी जनकपुरधाममा देखेका थियौं। जनकपुरभन्दा बढी रौनक र चुनावी चर्चा राजविराज सहर र वरपरका गाउँ–बस्तीमा देख्यौं, सुन्यौं।
यहाँ पनि घरका भित्ता, पर्खाल, बिजुलीका खम्बादेखि गाउँका साना चोक र चिया पसलहरूमा राखिएका विभिन्न पार्टीका उम्मेदवारका पोस्टर र तोरणहरूले सहर–बस्तीलाई चुनावमय बनाएको छ।
मधेसमा सधैं नै चुनाव लाग्ने गर्छ। मधेस र राजविराजमा यसपालि पनि चुनाव लागेको छ। तर गएको चुनाव र यसपालिको चुनावमा शक्ति–सन्तुलनका हिसाबले सप्तरी–२ मा आनका–तान फरक परेको छ।
२०७९ सालको चुनावमा पनि हामी यो निर्वाचन क्षेत्रको चुनाव बुझ्न र विश्लेषण लेख्न आएका थियौं।
त्यसको एउटा प्रमुख कारण थियो— सिके राउतको उम्मेदवारी।
'अलग देश' बनाउने आफ्नो अभियान छाडेर सिके राउत २०७९ सालमा पहिलो पटक शान्तिपूर्ण निर्वाचनमा भाग लिन लागेका थिए। जनमत पार्टी खेलेर उनी सप्तरी–२ बाट चुनाव लड्दै थिए। त्यो पनि बलियो मधेसी दल जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवका विरूद्ध।
सो क्षेत्रका मतदाताहरूसँग कुरा गरेर हामीले सेतोपाटीमा विश्लेषण लेख्यौं— उपेन्द्रलाई हराएर सप्तरी–२ बाट सिके राउत चुनिने सम्भावना प्रबल!
निर्वाचनको अन्तिम परिणाम आउँदा उपेन्द्र हारे र सिके सांसद निर्वाचित भए। हामीले त्यो बेला कुरा गरेका अनिर्णित मतदाताको ठूलो संख्याले पनि अन्तिम समयमा सिकेलाई नै मत दिएर उनलाई उपेन्द्रभन्दा दोब्बर मतान्तरले विजयी गराए। सिकेले ३५ हजार ४२ मत ल्याउँदा उपेन्द्रले १६ हजार ९७९ मत पाएका थिए।
यसपालि यो निर्वाचन क्षेत्र घुमिसक्दा हामीलाई राजनीति कति कठिन 'पेसा' हो र यो कति क्रुर हुन सक्छ भन्ने गहिरोसँग अनुभूति भयो।
यसपालि जनमत पार्टीका अध्यक्ष सिके सप्तरी–२ मा उमेदवार त छन् तर उनी चुनावी प्रतिस्पर्धामा छैनन्।
हुन त यो निर्वाचन क्षेत्रको पछिल्लो 'ट्र्याक रेकर्ड' नै त्यस्तै छ। सप्तरी–२ ले २०६४ सालयता कुनै पनि सांसदलाई दोहोर्याएर जिताएको छैन।
२०६४ सालमा सदभावना पार्टीका महेश यादव निर्वाचित भएको यो क्षेत्रबाट २०७० सालमा तत्कालीन माओवादी केन्द्रका उमेश यादव विजयी भएका थिए।
त्यसपछि २०७४ सालमा उनै उमेश यादवलाई हराउँदै जसपाका उपेन्द्र विजयी भए। २०७९ सालमा सिकेले जिते।
तर यसपालि सिकेको नियति पनि त्यस्तै हुने देखिएको छ, जस्तो अघिल्ला निर्वाचनहरूमा पूर्वविजेता उम्मेदवारहरूको भएको थियो।
हामीले पछिल्ला दुई दिन सप्तरी–२ मा पर्ने प्रत्येक स्थानीय तहका प्रत्येक वडामा पुगेर मतदाताहरूसँग कुरा गर्दा के देख्यौं भने, अहिले यहाँ सिके राउतको पक्षमा कुनै माहोल छैन, न चर्चा नै छ।

तीन वर्षअघि मतदाताहरूको मुखबाट सिकेको पक्षमा जुन किसिमको उत्साह र आशा हामीले सुनेका थियौं, यसपालि उत्तिकै निराशा र असन्तुष्टि सुन्यौं।
सबभन्दा ठूलो असन्तुष्टि सिकेले यो क्षेत्रको विकासका लागि केही गर्न सकेनन् भन्ने छ।
सप्तरी–२ का मतदाता यसपालि नयाँ उम्मेदवार प्रति आकर्षित छन्।
तर यो आकर्षणको मुख्य कारण यो क्षेत्रका उमेदवार होइनन्। राजविराजभन्दा ३०० किलोमिटर टाढा काठमाडौंका स्थायी बासिन्दा र यहाँभन्दा डेढ सय मिटर पूर्व झापा–५ का उम्मेदवार बालेन शाह हुन्।
बालेनकै कारण सप्तरी–२ का मतदाता यसपालि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार रामजी यादवतिर ढल्केका छन्। र, रामजी अरू प्रतिस्पर्धीभन्दा निकै अगाडि छन्।
यहाँका मतदातालाई रास्वपाको चुनावी मुद्दाबारे कुनै चासो छैन। उनीहरूलाई रामजी को हुन् भन्ने पनि धेरै चासो छैन। उम्मेदवार र दल दुवै नै यो निर्वाचन क्षेत्रमा गौण देखिएका छन्।
रामजीको पक्षमा माहोल बन्नुको कारण एउटै छ — रास्वपालाई बहुमत दिलाएर बालेन शाहलाई प्रधानमन्त्री बनाउने चाहना!
यही चाहनाको लाभ रास्वपाका रामजीले उठाउँदै छन्।
सप्तरी–२ निर्वाचन क्षेत्रमा राजविराज नगरपालिकाका १ देखि १६ नम्बर वडा छन् भने छिन्नमस्ता गाउँपालिकाका १ देखि ७ नम्बर वडा, तिलाठी कोइलाडी गाउँपालिकाका १ देखि ८ नम्बर वडा र महादेवा गाउँपालिकाका १ देखि ६ नम्बर वडा पर्छन्।
फागुन २१ को निर्वाचनमा यो क्षेत्रमा जनमत पार्टीका सिके राउत, रास्वपाका रामजी यादव, जसपाका उमेश यादव, कांग्रेसका रामकुमार यादव, एमालेका मोहम्मद जियाउल रहमान, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सूर्यनाथ प्रसाद यादव, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अजय दास, स्वाभिमान पार्टीका सतिशकुमार सिंह लगायत उम्मेदवार प्रतिस्पर्धामा छन्।
सेतोपाटी टिमले पछिल्ला दुई दिन यो निर्वाचन क्षेत्रका सबै वडा घुमेर धेरैभन्दा धेरै मतदातासँग कुराकानी गरेको छ। चुनावमा उठेका दल र तिनका उम्मेदवारबारे मतदाताहरूको राय बुझेको छ। उनीहरूका मुख्य चासो के के हुन् र उनीहरू कसलाई किन मत दिन चाहन्छन् भनेर सोधेको छ।
मतदातासँगको कुराकानीका आधारमा विश्लेषण गर्दा जनमतका सिके जसपाका उमेशभन्दा केही पछि छन्। दोस्रो स्थानका लागि सिके र उमेशबीच प्रतिस्पर्धा छ। उमेश नेकपा परित्याग गरेर जसपा प्रवेश गरेका हुन्।
आजका दिनमा जसपा र जनमतका उम्मेदवारसँग रास्वपाका रामजीको जति फराकिलो अन्तर हामीले पाएका छौं, त्यसलाई चिर्दै चुनावका दिनसम्म उनलाई उछिन्न धेरै नै कठिन देखिन्छ।
यो निर्वाचन क्षेत्रको बदलिएको 'राजनीतिक नक्सा' बुझ्न अघिल्लो पटकको निर्वाचनमा यहाँ कुन दलको कस्तो स्थिति थियो हेर्नुपर्छ।
२०७९ सालको निर्वाचनमा यहाँ रास्वपा दौडमै थिएन।
प्रत्यक्षतर्फ सिके राउतले ३५ हजारभन्दा बढी र उपेन्द्र यादवले झन्डै १७ हजार मत ल्याउँदा रास्वपाका वरूणकुमार झाले जम्मा २८१ मत ल्याएका थिए।
समानुपातिकतर्फ पनि जनमतले सबभन्दा बढी २९ हजार ८०२ मत ल्याएको थियो भने दोस्रो स्थानमा रहेको जसपाले १४ हजार ९५ मत ल्याएको थियो। त्यस्तै, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले ५ हजार १४९ र माओवादीले ४ हजार ३९८ मत ल्याएको थियो। रास्वपाले जम्मा ५१० समानुपातिक मत ल्याएको थियो।
हाम्रो विश्लेषणमा यसपालि यो निर्वाचनमा शक्ति–सन्तुलन उलटफेर हुनेछ। प्रत्यक्ष र समानुपातिक दुवैतर्फ ठूलो अदली–बदली आउनेछ।
यसपालि सप्तरी–२ मा रास्वपा, जसपा र जनमत पार्टी बाहेक अन्य पार्टीका कोही उम्मेदवार प्रतिस्पर्धामा नरहेको हामीले पायौं।
बरू सिके राउतका पुराना सहकर्मी तथा मधेस प्रदेशका पूर्वमुख्यमन्त्री सतिशकुमार सिंहले उनलाई चुनौती दिइरहेका छन्।
जनमतबाटै मुख्यमन्त्री बनेका सतिशले प्रदेश सांसदबाट राजीनामा दिएर स्वाभिमान पार्टीबाट सिकेकै क्षेत्रमा उम्मेदवारी दिएका हुन्। उनले २०७९ को निर्वाचनमा जनमतबाट सप्तरी–२ को प्रदेशसभा २ नम्बर क्षेत्र जितेका थिए। सतिशसँगको द्वन्द्वले पनि सिकेलाई घाटा भएको छ।
यसबाहेक कांग्रेस, एमाले, माओवादी र राप्रपालाई मत दिन्छु भन्ने केही मतदाता पनि हामीले भेट्यौं। तर त्यो संख्या उल्लेख्य छैन। त्यसै पनि यो कांग्रेस र एमाले प्रभाव भएको निर्वाचन क्षेत्र होइन। गएको निर्वाचनमा पनि कांग्रेस–एमाले यहाँ तेस्रो स्थानमा पनि थिएनन्।

एक लाख ५ हजारभन्दा बढी मतदाता रहेको यो क्षेत्रमा हामीले कुराकानी गरेकामध्ये अहिलेसम्म कसलाई भोट हाल्छु भनेर टुंगोमा नपुगेका करिब १३ प्रतिशत छन्।
यस्ता अनिर्णित मतदातामध्ये अधिकांश अघिल्लो पटक सिकेलाई भोट दिएकाहरू छन्। त्यसपछि उपेन्द्रलाई भोट दिएका मतदाता छन्। चुनावसम्म आइपुग्दा उनीहरूले कसलाई भोट हाल्ने भन्ने पक्कै निधो गर्नेछन्।
उनीहरूको निर्णय जे भए पनि हाम्रो विश्लेषणमा चुनावको परिणाममा त्यसले खासै फरक पार्ने छैन। विगतको हाम्रो अनुभवमा यी अनिर्णित मत पनि अन्तिममा बाँडिन्छन्। तीमध्ये कतिले रास्वपालाई, कतिपय आफूले पहिले दिएकै जसपा, जनमत, कांग्रेस, एमाले वा अरू दललाई मत दिने सम्भावना हुन्छ।
गत निर्वाचनमा सप्तरी–२ मा लगभग अस्तित्वमै नरहेको रास्वपा यसपालि कसरी यति बलियो देखिइरहेको छ? पहिले कुन दलका मतदाता यसपालि रास्वपामा सर्दैछन्?
हामीले मतदातासँग गरेको कुराकानीका आधारमा विश्लेषण गर्दा अघिल्लो पटक जनमतका सिके र जसपाका उपेन्द्रलाई मत दिएका धेरै मतदाता रास्वपातिर सर्ने देखिन्छ। कांग्रेस, एमालेका साथै क्षेत्रीय दल लोसपा र राप्रपालाई मत दिएका धेरै मतदाताले पनि रास्वपालाई मत दिने बताए।
त्यसमध्ये विगतमा यो क्षेत्रमा ठूलो जनाधार रहेका जनमत र जसपाका पुराना मतदाताको ठूलो संख्या रास्वपातर्फ आकर्षित छ। यी दुई दलको भोट जनमतबाट अलग्गिएका स्वाभिमान पार्टीका सतिशले पनि तान्ने देखिन्छ।
हामीसँगको कुराकानीमा सतिशलाई भोट हाल्छु भन्नेहरू अधिकांशले अघिल्लो पटक सिकेलाई भोट दिएका थिए भने केहीले उपेन्द्रलाई दिएका थिए।
त्यस्तै, हामीले भेटेका र पहिलो पटक भोट हाल्न लागेका सबैजसो मतदाताले रास्वपालाई नै मत हाल्ने बताए।
यसरी लगभग हिजो यहाँका लोकप्रिय मधेसी दलहरूलाई भोट दिएका र नयाँ मतदाताको ठूलो हिस्सा रास्वपातिर जाने हुँदा यसको भरपुर लाभ रास्वपाले उठाउनेछ।
प्रतिस्पर्धामा रहेका दुई दल जसपा र जनमतले पुराना मतदाता जोगाउन र नयाँ वा अरू दलका मतदाता तान्न सक्ने सम्भावना पनि कम छ।
कांग्रेस, एमाले, माओवादी र राप्रपाले पनि कुनै नयाँ मतदाता तान्ने हामीले पाएनौं। उनीहरूलाई जतिले यसपालि मत दिन्छु भने, उनीहरू सबै यसअघि पनि यिनै दलहरूलाई मत दिएकाहरू हुन्।

यसरी पूर्वविजेता जनमत र त्यति बेलाको निकट प्रतिद्वन्द्वी जसपाबाट भोट काटिएर एकोहोरो रास्वपातिर जानु र सँगसँगै यी दुई पार्टीका केही भोट सतिशले पनि काट्नुले रास्वपालाई प्रत्यक्ष लाभ हुने हामीले पाएका छौं। यसले रास्वपाको आकार बढ्नेछ भने अरू दलहरूको आकार खस्किनेछ।
हामीले मतदाताहरूलाई समानुपातिक मत कसलाई दिनुहुन्छ भनेर पनि सोधेका थियौं। अघिल्लो पटक यो क्षेत्रबाट सबभन्दा बढी समानुपातिक भोट ल्याएको जनमत यसपालि पछाडि पर्ने देखिन्छ। यहाँको समानुपातिक भोट 'घन्टी' (रास्वपा) र 'छाता' (जसपा) दुवैतिर बाँडिने हामीले पायौं।
रास्वपालाई भोट हाल्छु भनेका धेरै मतदाताले समानुपातिक भोट जसपालाई दिने बताए। जसपालाई भोट हाल्छु भनेकाहरूले समानुपातिक मत रास्वपालाई दिने बताए। जनमतलाई भने प्रत्यक्ष मात्र होइन, समानुपातिक मत दिन्छु भन्ने मतदाताहरू पनि हामीले निकै कम भेट्यौं।
अब हामी सप्तरी–२ का मतदातासँगको कुराकानीका आधारमा उनीहरूले रास्वपालाई भोट हाल्ने मन बनाउनुका केही खास कारणबारे चर्चा गरौं।
सबैभन्दा ठूलो कारण 'बालेन फ्याक्टर' नै हो।
हामीसँगको कुराकानीमा जसले रास्वपामा भोट हाल्ने मन बनाएको बताएका थिए, तीमध्ये धेरैले एउटै नाम लिए — बालेन शाह। रास्वपा वा सभापति रवि लामिछाने वा सप्तरी–२ का रास्वपा उम्मेदवार रामजी यादवको नाम लिनेको संख्या एकदमै न्यून छ।
जनकपुरमा जस्तै यहाँका मतदाताले पनि बालेनले काठमाडौं महानगरपालिकाको मेयर हुँदा अभूतपूर्व काम गरेको ठानेका छन्। उनीहरूले बालेनको उपलब्धि भनेर विस्तार लगाएका धेरै काम काठमाडौंमा भएकै छैनन्, भएका पनि बालेनले गरेका होइनन्।
राजविराज नगरपालिका–५, स्वर्ण टोलका २९ वर्षीय मनोज दास बालेनले जसरी काठमाडौं सहरको 'कायापलट' गरे, त्यसरी नै राजविराज लगायत देशभरि परिवर्तन ल्याउने आस गरेको बताए।
'तपाईं राजविराज सहर हेर्नुस् त,' उनले आफ्नो घर अगाडिको खुला ढल र धुलाम्मे सडकतिर देखाउँदै भने, 'उति बेलै प्लानिङ गरेर बनाइएको यो सहरको हालत आज यस्तो छ! हामीले सबै पार्टीका नेतालाई पटक पटक जितायौं, यो सहरलाई यस्तो हालत हुनबाट बचाउन कसैले सकेन। बालेनले काठमाडौंमा राम्रो गरेको सुनेका छौं। त्यसैले यसपालि उनैलाई जिताउने हो।'
कतिपय मतदाता भने बालेनले विगतका नेताजस्तो पहाड–मधेसबीच फुट ल्याउने होइन, एकता ल्याउने काम गरिरहेको बताउँछन्।
'अहिलेसम्म जति पनि नेता आए, तिनले मधेस र पहाडबीच फुट ल्याउने काम गरे। बालेन एकताको कुरा गर्छन्। पहाड र मधेसलाई जोड्न खोज्दै छन्,' पहिले जसपा र अहिले रास्वपालाई भोट हाल्न लागेका राजविराज–७ का ४८ वर्षीय अजयकुमार साहले भने।
बालेनको 'क्रेज' कति चर्को छ भने, यहाँ चुनाव प्रचार क्रममा पनि बालेनकै भाषणको रेकर्डिङ प्रयोग भइरहेको छ।
सप्तरी–२ का भित्री गाउँहरूमा पुग्दा हामीले अटोरिक्सामा स्पिकर राखेर बालेनले जनकपुरमा गरेको चुनावी भाषणको रेकर्डिङ बजाइरहेको धेरै ठाउँमा देख्यौं।
यसबारे स्थानीय मतदातासँग कुरा गर्दा उनीहरूले त्यो भाषणपछि नै आफूहरू बालेनको 'फ्यान' भएको बताए। खासगरी 'मलाई मधेसको छोरा भनेर होइन, काम गर्छ भनेर भोट दिनुस्' भन्ने बालेनको भनाइले यहाँका मतदाताहरूलाई धेरै छोएको हामीले पायौं।

सहर बालेनमय भइरहेको यहाँ सडक किनार ठेला र साइकलमा तरकारी–फलफूल बेच्नेहरू भने केही डराएको हामीले पायौं।
राजविराजको त्रिभुवन चोकमा रहेका यस्ता केही व्यवसायीसँग कुरा गर्दा उनीहरूले भने, 'बालेनले काठमाडौंका ठेलावाला र साइकलवालालाई लखेटेको भिडिओ देखेका थियौं, बालेनले जिते भने के हामीलाई पनि लखेट्छन्?'
रास्वपातिर मतदाताहरू आकर्षित हुनुको अर्को मुख्य कारण अघिल्लो पटक यहाँबाट चुनाव जितेका जनमत पार्टीका सिके राउतप्रतिको चर्को असन्तुष्टि हो।
मधेसमा स्वराजको नारा घन्काउँदै केन्द्रीय राजनीतिमा उदाएका सिकेले आफ्नो आन्दोलन क्रममा मधेसी जनताको आत्मसम्मान बढाउने र मधेसमा व्याप्त चरम गरिबी र विभेदविरूद्ध परिवर्तनको बिगुल फुक्ने लहर चलाएका थिए। त्यही लहरका कारण मधेसभरि नै जनमतको पक्षमा सकारात्मक माहोल बनेको थियो। उनकै नामको भरमा जनमत राष्ट्रिय पार्टी बन्न सफल भयो।
तर आज यहाँका मतदाता सिकेले आफ्नो आन्दोलन क्रममा गरेका कुनै पनि बाचा पूरा नगरेको गुनासो गर्छन्।
मधेसलाई विकासको मूलधारमा ल्याउन उनी असफल भएको र मधेसीहरूको आत्मसम्मान बढाउन मुखले बोलेजस्तो काम गर्न नसकेको यहाँका मतदाताको आरोप छ।
राजविराज–३ का ६० वर्षीय शिवजी साहले यसअघि सिकेलाई भोट दिएका थिए। तर यसपालि घन्टीमा मतदान गर्ने सोच बनाएका छन्।
सिके बौद्धिक नेता भए पनि राजविराज र मधेसका लागि केही गर्न नसकेको उनको भनाइ छ।
'डाक्टरसाहेब (सिके राउत) नेता त राम्रा हुन्। पढेलेखेका बौद्धिक व्यक्ति हुन्। हाम्रो देशलाई यस्तै व्यक्तिको जरूरत छ। तर संसदमा एक्लै भएकाले उनको कुनै जोड चलेन,' शिवजीले भने, 'आफ्नै ठाउँलाई पनि उनले केही गर्न सकेनन्। त्यसैले यसपालि बालेनलाई हेर्ने हो।'
राजविराज–७ का ३८ वर्षीय अभिषेक दास पनि राउतले दोहोर्याएर भोट हाल्नुपर्ने गरी केही काम नगरेको गुनासो गर्छन्।
'हर्न (जनमत पार्टको चुनाव चिह्न) को एम्प्लिफायर उड्यो अब,' अभिषेकले भने, 'राउतले कुरा मात्र गरे, काम गरेनन्। त्यसैले यसपालि नयाँ पार्टीलाई हेर्ने हो।'
उनले अगाडि भने, 'रवि लामिछानेको पार्टी सखाप भइसकेको थियो, बालेन आएर यसमा ज्यान फुके। त्यसैले यसपालि उनैलाई हेरौं भन्ने मेरो धारणा छ।'
कतिपय मतदाता भने सिके बौद्धिक व्यक्ति भएकाले भोट त उनैलाई दिनुपर्ने बताउँछन्। तर अहिलेको लहर बालेन र रास्वपातर्फ रहेकाले भोट पनि उतै हाल्ने मन बनाएका छन्।
'सिके राउत यसपालि जित्नेवाला छैनन्। त्यसैले उनी राम्रा मानिस भए पनि यसपालि म उनलाई भोट दिन्नँ,' महादेवा गाउँपालिका–२ का ४२ वर्षीय रामनारायण साहले भने, 'अघिल्लो पटक उनको पक्षमा जस्तो लहर चलेको थियो, त्योभन्दा कयौं गुणा ठूलो लहर अहिले बालेनको पक्षमा छ। जुन पार्टीले जित्न सक्छ, उसैलाई मत दिने हो।'
रामनारायण साह
सिकेको व्यक्तित्व र बालेनको प्रभावबीच थोरै मतदाताले भने कसलाई भोट हाल्ने भनेर निधो गर्न सकेका छैनन्।
'युवा उम्मेदवारलाई दिऊँ कि परिपक्व र बौद्धिक व्यक्तिलाई दिऊँ भन्नेमा कन्फ्युज भइरहेको छु,' राजविराज नगरपालिका–३ का ४१ वर्षीय रञ्जितकुमार दासले भने।
रास्वपाप्रति आकर्षण बढ्नुमा 'परिवर्तनको लहर' पनि मुख्य कारण देखिन्छ।
हामीले चितवन, दाङ, रूपन्देही र धनुषाका मतदातासँग कुरा गर्दा उनीहरूले जसरी परिवर्तनको पक्षमा आफ्नो मत जाहेर गरे, सप्तरी–२ का मतदाताको भनाइ पनि त्यस्तै छ। 'परिवर्तनका लागि नयाँ पार्टी' को नाराले यस पटक सबै क्षेत्रका मतदातालाई छोएको हामीले अनुभव गरेका छौं।
'हामी त किसान हौं, किसानलाई यो वर्ष जति धेरै फसल भए पनि अर्को वर्ष अझ धेरै फल्छ भन्ने आशा हुन्छ,' महादेवा गाउँपालिका–४ का ७७ वर्षीय दिनेश्वर गिरीले भने, 'अहिलेको आशा भनेको नयाँ पार्टी हो, उसैलाई सहयोग गर्ने हो।'
दिनेश्वर गिरी
परिवर्तनको लहर कतिसम्म छ भने, केही मतदाताले रास्वपालाई जिताउन काठमाडौं वा अन्य ठाउँमा बस्ने परिवारको सदस्यलाई पनि भोट हाल्न गाउँ बोलाएका छन्। तिनैमध्ये एक हुन्, राजविराज नगरपालिका–११ की शशी यादव।
अहेब पढेकी शशीका दुवै छोरा काठमाडौंमा पढ्छन्। एक जना इन्जिनियर छन् भने अर्को प्लस–टू पढ्दै छन्। इन्जिनियर छोरा भोट हाल्न गाउँ फर्किसकेका छन् भने अर्को छोरा पनि छिट्टै आउन लागेको शशी बताउँछिन्।
'बालबच्चाको भविष्यको सवाल छ,' पहिले माओवादीलाई भोट हालेर अहिले रास्वपामा भोट हाल्ने मन बनाएकी शशीले भनिन्, 'हामी त परिवर्तनको पक्षमा।'
परिवर्तनको यो लहर चलिरहँदा अन्य पार्टीको कामबाट सन्तुष्ट मतदाताहरू पनि हामीले नभेटेका होइनौं।
राजविराज–१३ का ३७ वर्षीय रामनारायण मण्डलले अघिल्लो चोटि जसपालाई भोट दिएका थिए। उनी यसपालि पनि जसपालाई नै भोट दिने बताउँछन्।
'जसपा नेपालले हाम्रो क्षेत्रमा राम्रो काम गरेको छ। अहिले नै उसको विकल्प खोज्ने पक्षमा म छैन,' आमासँगै खेतमा काम गरिरहेका रामनारायणले भने, 'नेताहरू ठिकै छन् आसेपासेहरू अलि ठिक नभएर पार्टीको आलोचना बढेको हो।'
रामनारायण मण्डल
राजविराज–३ का २४ वर्षीय अभिषेक देवलाई भने बालेनले मधेसी नेता गजेन्द्रनारायण सिंहको शालिकमा टाढैबाट माला फालेको चित्त बुझेको छैन। उनी कारमा बसेर हात हल्लाउँदै हिँडेको पनि मन परेको छैन।
'मतदातासँग सेल्फी खिचाउने, अनि हात हल्लाउँदै हिँड्ने मात्र नेताको काम हो?' उनले भने, 'अहिले त जनताको कुरा सुन्न नचाहनेले भोलि चुनाव जिते भने कसको कुरा सुन्लान्?'
अघिल्लो पटक सिके राउतलाई भोट दिएका अभिषेकले बालेनको शैली मन नपरेकैले यसपालि जसपालाई भोट दिन लागेको बताए।
रूपन्देही र धनुषामा जस्तै यहाँ पनि धेरै मतदाताले कुनै धक नमानी आफू रास्वपाको पक्षमा रहेको बताए। जो रास्वपालाई भोट हाल्ने मन बनाएर बसेका छन्, उनीहरू सुरूमै खुल्थे। कांग्रेस र एमालेलाई भोट हाल्नेहरू भने केही बेर कुराकानी गरेपछि आफ्नो मत जाहेर गर्थे।
नयाँ पार्टीलाई मत दिने लहर यो निर्वाचन क्षेत्रमा चलेका बेला कांग्रेस–एमालेलाई मत दिने मतदाताहरू केही दबाबमा परेको हामीले पायौं। त्यसैले उनीहरू छिट्टै खुलेनन्। कुरा गर्दै गएपछि कतिपयले आफूले पहिले मत दिएकै दललाई मत दिने बताए भने कतिले अन्तिममा नयाँ दल रोज्ने बताए।
राजविराज–८ मा भेटिएका ८२ वर्षीय सुशीलकुमार गुप्ताले हामीलाई सुरूमा कांग्रेसमा भोट हाल्ने भनेका थिए।
कुरा सकेर अगाडि बढेपछि उनले फेरि हामीलाई बोलाए, अनि खुसुक्क भने, 'अघि त मैले त्यसै भनेको, भोट त घन्टीमा हाल्ने हो।'
'म कांग्रेसको पुरानो मतदाता भएकाले कसैले सोधे कांग्रेसलाई नै भोट हाल्छु भन्दिन्छु। तर खासमा घन्टीमा हाल्ने विचार छ,' उनले अगाडि भने, 'देशको वर्तमान र भविष्य बदल्न हामी बूढापाकाहरूले पनि योगदान गर्नुपर्यो नि!'
फेरि एकछिन सोचेर उनले भने, 'ह्या मेरो नाम पनि लेख्दिनुस् है, ८२ वर्ष भइसकेँ, मलाई अब कसको के डर?'
***
यी पनि पढ्नुस्– सेतोपाटी संविधान मान्छ, सर्वोच्च अदालत जान्छ
सेतोपाटी चुनाव विश्लेषण – १ ► चितवन–३ मा सोविता गौतमले जित्ने प्रबल सम्भावना
सेतोपाटी चुनाव विश्लेषण– २ ► काठमाडौं–३ मा मुख्य प्रतिस्पर्धा राजु पाण्डे र कुलमान घिसिङबीच
सेतोपाटी चुनाव विश्लेषण– ३ ► दाङ–२ मा रास्वपाका विपिन आचार्य अरूभन्दा धेरै अगाडि
सेतोपाटी चुनाव विश्लेषण– ४ ► रूपन्देही–२ मा अरू उम्मेदवारभन्दा रास्वपाका सुलभ खरेल धेरै अगाडि
सेतोपाटी चुनाव विश्लेषण – ५ ► काठमाडौं– ६ मा यसपालि पनि रास्वपाका शिशिर खनाल अगाडि
सेतोपाटी चुनाव विश्लेषण – ६ ► धनुषा–३ मा बालेन उम्मेदवार छैनन्, चर्चा भने उनकै छ