नेपाल जेसिजको ४७ औं राष्ट्रिय महाधिवेशनबाट वर्ष २०२१ को नेतृत्वको लागि अध्यक्ष पदमा चितवनको बिस हजार जेसिजका अरुणेश्वर खनाल विजयी भएका छन्।
बुधबारदेखि रूपन्देहीकाे भलवारी जेसिजकाे आतिथ्यतामा सुरू भएको राष्ट्रिय महाधिवेशनबाट एक हजार ९० मतसहित खनाल विजयी भएका हुन्।
खनालले एक हजार ९० मत पाउँदा उनका निकटतम प्रतिद्वन्द्वी लालमणि भण्डारीले पाँच सय १२ मत मात्र पाए।
सात अध्यक्षमध्ये तीन उम्मेदवारले आफ्ना पक्षमा उम्मेदवारी फिर्ता लिएपछि खनाल उच्च मनोबलका साथ मैदानमा थिए।
यसअघिको अध्यक्ष दौडमा पराजित भए पनि यसपालिको भलबारी (रुपन्देही) महाधिवेशनमा खनालले आधाभन्दा बढी मतान्तरले जित हासिल गरे।
बिस हजार जेसिज चितवनका तर्फबाट दोस्रोपटक अध्यक्षको दौडमा उत्रिएका खनालले यसअघि नेपाल जेसिजमा कार्यकारी उपाध्यक्ष, महासचिव लगायतका पदमा काम गरिसकेका छन्।
नेपाल जेसिजको कार्यकारिणी उपाध्यक्षमा १००३ मतसहित सुमन कृष्ण श्रेष्ठ क्रमश: अरूण कुमार दाहाल ९९९, भाेजराज चापागाईं ९४८ , शिव प्रसाद भुसाल ६७८ मतसहित विजयी भए।
राष्ट्रिय उपाध्यक्ष पदका लागि मनाेहरा जेसिज रजनी थापा १२३६, कल्पना, पाण्डे कुसुम १०३०, तरहरा जेसिजका सुनिल तिमल्सिना ८१८, सैनामैना जेसिजका बिमल ज्ञवाली ७६७, दुहबी जेसिज, बिमला सुवेदी कार्की ७६४, शारदा नगर जेसिजकी प्रमिशा काफ्ले ७२०, म्याग्दी जेसिजका सुजन बरूवाल ७१८ रजहर जेसिजका राजन गाैतम ७०१, लमजुङ जेसिजकी पायल शर्मा ६७३ , धरान जेसिजका दिपेन्द्र निराैला ६१२, नारायणगढ जेसिजका अनाेज जाेशी ६०२, जनकपुर जेसिजका गाैतम शाह ५९० विजयी भएका हुन्।
विजयीपश्चात् नवनियुक्त अध्यक्ष अरुणेश्वर खनालले लाखौं युवाहरूको मन मस्तिष्कमा बस्न र समाज परिवर्तनको लागि नयाँ र विशिष्ट कार्य योजनाको साथ अगाडि बढ्ने बताए।
उनले हजाराैं युवाहरूकाे मतलाई राष्ट्रियकाे विकास र जेसिजकाे नयाँ उचाइलाई थप सशक्त पार्दै इँट्टा थप्ने बताए।
महाधिवेशनमा देशभरिबाट करिब दुई हजार प्रतिनिधि रूपन्देहीमा भेला भएका हुन्।
बुधबारदेखि रूपन्देहीमा सुरू भएको राष्ट्रिय महाधिवेशनमा १७ पदका लागि ४८ जनाको उम्मेदवारी दिएका थिए।