गोली हानेर लुटपाट गर्ने अभियुक्तलाई सिरहा प्रहरीले ९ वर्षपछि पक्राउ गरेको छ।
पक्राउ पर्नेमा धनुषाको गणेशमान चारनाथ नगरपालिका वडा नं. २ का ३४ वर्षीय जागेश्वर यादव रहेको सिरहाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक शालिग्राम शर्माले जानकारी दिए।
यादवलाई सिरहाको मिर्चैया नगरपालिका वडा नं. ३ स्थित सडकखण्डमा घुमफिर गरिरहेको अवस्थामा बुधबार पक्राउ गरेको सिरहा प्रहरीले जनाएको छ।
सिरहाको तत्कालीन धनगढी गा.वि.स. वडा नं. ९ का श्रीप्रसाद साह सोनार २०६८ साल भदौ २७ गते घरबाट मोटरसाइकल चढी फुटबल खेल्न गएकोमा अभियुक्त यादवले उनीमाथि गोली प्रहार गरेका थिए।
गोली लागेर गम्भीर भएका सोनारको तत्कालै मृत्यु भएको थियो। मृत्युपछि उनको साथबाट धनमाल लुटपाट गरेको जाहेरीको आधारमा ९ वर्षपछि यादवलाई पक्राउ गरिएको सिरहा प्रहरीले जनाएको छ।
यादव मृतक सोनार चढेको मोटरसाइकल, नगद २५ हजार रुपैयाँ, सुनको औंठी, सिक्री, मोबाइल, चाँदीको ब्रासलेट गरी २ लाख ५८ हजार बराबरको सामान र कागजपत्र लुटेर भागेका थिए।