जंगली हात्ती दिनहुँ गाउँ पस्न थालेपछि बुद्धशान्ति गाउँपालिकाका सर्वसाधारणले जीउधनको सुरक्षा गरिदिन प्रशासन गुहारेका छन्।
हात्ती पीडितहरूले आज जिल्ला प्रशासन कार्यालय र डिभिजन वन कार्यालय झापामा सुरक्षाको माग गर्दै ज्ञापनपत्र बुझाएका छन्।
ज्ञापनपत्रमा विगत छ महिनादेखि स्थानीय आदर्श नमूना सामुदायिक वन क्षेत्रमा दिनभर बस्ने र रात परेपछि गाउँ पसेर दुःख दिने हात्तीको दीगो व्यवस्थापनसहित स्थानीयबासीको जीउधनको रक्षाको माग गरिएको छ।
हात्ती पीडित संघर्ष समिति बुद्धशान्तिले बुझाएको ज्ञापनपत्रमा जंगली हात्तीले हालै वडा नम्बर १,२ र ३ मा २५० घर भत्काइदिएको र १२ लाख रुपैयाँ मूल्यभन्दा बढीको अन्नबाली खाइदिएको उल्लेख गरिएको छ।
हात्तीको आक्रमण हुने त्रासले लामो समयदेखि स्थानीयले रातको समयमा नसुती बस्नु पर्दा महिला तथा बालबालिकाहरूमा मनोवैज्ञानिक असर पर्न थालेको पीडितहरूले मागपत्रमा उल्लेख गरेका छन्।
उनीहरूले स्थानीयको जीउधनको सुरक्षाको प्रत्याभूति गराउन प्रभावित क्षेत्रमा सुरक्षा गस्ती टोलीको व्यवस्था गर्नुपर्ने, वन क्षेत्रको वरिपरि सोलार फेन्सिङ जडान गरी दीर्घकालीन रूपमा हात्तीलाई गाउँ प्रवेशमा रोक्नुपर्ने, बस्तीमा आउने हात्तीलाई लखेट्न पहल गर्नुपर्ने जिल्ला प्रहरी कार्यालय र प्रशासनसँग माग गरेका छन्।
समितिका सचिव सीताराम बाँस्तोलाले हात्तीले गरेको क्षतिको क्षतिपूर्ति पाउने प्रक्रिया झन्झटिलो, राहत पर्खन लामो समय लाग्ने र क्षतिको मूल्यांकनभन्दा कम राहत राज्यले प्रदान गर्ने प्रक्रियाले पीडित झन् पीडित हुनुपरेको बताए।
हात्ती पीडित संघर्ष समितिले जायज मागहरूको सम्बन्धित निकायले बेवास्ता गरेमा चरणबद्ध आन्दोलनमा उत्रिने, सरोकारवाला निकायमा धर्ना दिने, तालाबन्दी गर्न बाध्य हुनुपर्ने परिस्थिति आउन नदिन समेत ज्ञापनपत्रमा सरकारसँग आग्रह गरेको छ।
समितिले आजै बुद्धशान्ति गाउँपालिकाको कार्यालय, जिल्ला प्रहरी कार्यालय, जिल्ला समन्वय समितिको कार्यालय, सशस्त्र प्रहरी बल, श्रीनाथ गण चारआली र राष्ट्रिय अनुसन्धान कार्यालय झापामा समेत ज्ञापनपत्र बुझाएका छन्।
हात्ती आक्रमणबाट झापामा हालसम्म कम्तीमा ५२ जनाको मृत्यु भएको छ।
आजै मात्र मेचीनगर–१३ मा एक जना वृद्धको ज्यान गएको छ। बुद्धशान्ति गाउँपालिकामा हात्तीको आक्रमणमा हालै दुई जनाले ज्यान गुमाएका छन् भने दुई जना घाइते भएको बाँस्तोलाले बताए।