गरूँला केही भरूँला भन्ने उमेरमा छोराछोरीको स्याहार गरेर बसेका बाआमा विस्तारै रोगले च्यापिँदै गए।
हामी सन्तान पनि ठूला हुन चाह्यौँ, पढ्न चाह्यौं, पढेर के के नै हुन्छ झैं भन्नेतर्फ गयौं। बाआमाले पनि सन्तान पढाएपछि संसारै जितिन्छ जसरी लाग्नुभो। तर यस्तो लाग्छ जति जति यति र उति गरौंला, आफ्नो गौरव देखाउँला भन्ने भावमा हिँडिरह्यौं उति बा आमालाई भने वैराग्यले छोप्दै लगेको थाहा पायौं। आमाले एकदिन छिमेकीसँग बात मार्दै गरेको मैले सुनेँ- 'छोराछोरी डाक्टर भएर के गर्नु अस्पताल एक्लै जानुपर्छ!'
अनि त नमिठो लाग्यो।
हामी जन्मिएदेखि नै पढ्नुपर्छ त्यो भन्दा अरू उपाय छैन जसरी मोडियौं। पढ्न नसक्दा दुखहरू निम्तिन्छन् र त्यसले वियोग निम्त्याउँछ भनेर लागिपर्यौं। तर पढेर उच्चतम विन्दुमा पुग्दै गर्दा पनि नव नव संयोगहरूले हरहमेशा दुःख उत्पन्न गर्ने नै रहेछन्। बाआमामा रहेको एउटा चाहना जुन कि 'यिनीहरूलाई पढाएर ठूलो बनाएपछि हामीलाई हेर्छन्' भन्नु नै मिथ्या जस्तै हुँदो रहेछ।
बाआमाको काखमा नै लुटुपुटु गर्ने त केही नजान्दा वा अबोध हुँदा मात्रै रहेछ, जान्ने र अरूले मान्ने भएपछि त टाढा टाढा पुर्याउँदो रहेछ। बाआमाको सत्य प्रेमका अघि असत्य मायाजाल नै प्रिय लाग्दो रहेछ। मृगतृष्णाले छोड्दो रहेनछ। लर्बराउँदै, धर्मराउँदै भए पनि अलि कति बढी कमाउँ अलि कति अझै पढौं अलि कति बढि इन्जोए गरौँ भन्ने मुडमा मान्छे पुग्दो रैछ। अनि बाआमाले राखेको सोचभन्दा त भिन्न भए न त?उडी छुनु चन्द्र एक भन्ने सन्तान, बाआमाको बुढेसकालको सहारा बन्ने कसरी?
लेख्न, पढ्न नजानेका अनपढ हाम्रा बाआमाले सानैदेखि भन्नुहुन्थ्यो, ‘हामीले पढ्न पाएनौं। तिमीहरू पढेर ठूलो मान्छे बन्नुपर्छ।’
त्यही प्रेरणाले नै आइओएमबाट दुवै छोराछोरीले चिकित्सा शास्त्रमा स्नातक सकेर डाक्टर बन्यौं पनि।
दिदी अहिले विशेषज्ञ चिकित्सक बन्ने क्रममा हुनुहुन्छ भने सकेपछि छात्रवृत्ति करारमा गाउँ गाउँ गएर बिरामीको सेवा गर्ने सपना बुन्नुभएको छ।त्यस्तै मैले सरकारी सेवामै रहेर दुर्गम बाजुरा लगायतका भेगहरूमा सेवा गरिसकेको छु। नेपालमा नै बसेर सेवा गर्न तत्पर भएकोमा छोराछोरीप्रति बाआमा पनि गर्व गर्दै शिर उँचो बनाउँदै समाजका अघि भन्न त भन्नुहुन्छ, ‘देखेउ त! छोरछोरी भनेका हाम्रा जस्ता हुनपर्छ।’ तर बिमार परेर उपचार गर्न जाँदा र एक्लै पर्दा भने मन खिन्न नै पार्नुहुन्छ। घरमा बेलुका फर्केसी बेकारै पढाइएछ जस्तो पनि लाग्दो रछ। छोराछोरी डाक्टर छन् तँलाई के नपुग्दो छ र? केही पर्दा हुँदा हामीलाई किन सोध्छौँ? आफ्नै छोराछोरीसँग सोधो नी भन्दा रहेछन् नातागोताले। तर पनि सत्यलाई पक्रिएर मिथ्या छोड्ने हो भने कथा अर्कै छ बाआमा र हाम्रो।
म काठमाडौंभन्दा बाहिर काम गरेको धेरै भइसक्यो। काठमाडौंमा त जो पनि गर्छ नि भनेर बाहिर अरू जान नखोज्ने दुर्गम ठाउँमा सेवा गर्न तत्पर भएँ। अनि भन्ने बित्तिकै काठमाडौं जाने मेसो पनि मिल्दैन अनि उता दिदीको रेजिडेन्सी चलिराखेको छ। ड्युटी छोड्नै मिल्दैन अनि बाआमा बिमार भएर काठमाडौं जाँदा समेत हामीलाई समय मिलाउन भ्याइनभ्याई हुन्छ। सिकिस्तै नभएसम्म एक्लै नै जानु न भन्नुपर्ने अवस्था सिर्जना हुन्छ।
आइओएममा पढेर देशमा नै बस्ने चिकित्सकहरू विरलै भेटिन्छन्। तर हामी दुवै दिदीभाइ त अपवाद नै भएर निस्किएछौं।
‘सञ्चै त छु, खुसी नै छु’ भन्दै आफैलाई चित्त बुझाउँदै, देशका लागि केही गर्न सकिन्छ कि चिकित्सा क्षेत्रमा भन्दै ‘वेट एण्ड वाच’ गरिरहेछौं। तर कहिलेसम्म भन्ने प्रश्न अनुत्तरित नै छ।
बर्खाको बाटो बिरामी रिफर गर्दा बोकेरै सदरमुकाम पुर्याइएका घटनाका साक्षी हुन्छौं। हरेक प्रहर आफैसँग हारेर दुर्गम गाउँ र पीडित दुःखी बिरामीको जित भएको हेर्न आतुर छौं। हामीसँग धेरै सामर्थ्य नहुन सक्छ। जति सक्छौं त्यति त गर्न सक्छौं नि हैन र? देशले यत्रो उमेरसम्म योगदान गर्यो अनि हामीले देशका लागि केही नगर्ने? अरू देश छाडेर विदेश जालान्। उतै रमाउलान्। हामीलाई कसैसँग केही गुनासो छैन। हामीलाई यस्तै मन पर्छ, यस्तैमा रमाउँछौं। यो गर्नु आफ्नो कर्तव्य ठान्छौं त्यसैले गर्छौं। अरूसँग तुलना गरेर कहाँ मूल्यवान जिन्दगी खेर फाल्न सक्छौं र? तर यति भन्दाभन्दै पनि विदेश नगइकन गरेको नेपालको सेवाले आफ्नै जन्म दिने बाआमालाई पनि मासिक रूपमा भेट्न दिँदैन। अनि त लाग्छ विदेश जानु र नजानुमा के नै फरक रहेछ र?
नेपाल नै बस्दा समेत हामी आफ्नो परिवारसँग दु:ख सुखका कुराहरू साट्न पाएनौं भने यो बसाइँ त के नै फाइदाको भयो र? लाग्छ! जिन्दगीका अनेकौं मोडहरूले हामीलाई मज्जाले खेलाउना बनाइदिँदो रहेछ। केही गर्छु, केही हासिल गर्छु भन्दाभन्दै केही भने नमज्जाले गुमाइँदोरहेछ।
बाआमाले पनि यसरी नै सोच्नु हुँदो हो- 'आफ्नै छाया वरिपरि हुन्छन् भनेर विदेश पठाएनौं, अहिले एउटै देशको सिमानाभित्र भए पनि भेट हुन गाह्रो छ। विदेश नै जाओ भनेको भए बरू पैसा त कमाएर ल्याउँथे। भेट्नै भनेर नेपाल त आउँथे। तर यहाँ त सिकिस्त वा अपर्झट केही नपरीकन घर पनि आउँदैनन्। आफै गर्नु न! सकिहाल्नुहुन्छ नि भनेर फोनबाटै सल्लाह दिएर बस्छन्।'
कहिलेकाँही त यसरी पनि सोच्नुहुँदो हो -'सबै छोराछोरीले पढे भने पनि दु:खै पाइँदो रहेछ। त्यो पढाइले तातो पानी दिने मान्छे बनाइदिँदो रहेनछ।अरू दिनदुखीकै सेवा गरेर मात्र के गर्नु? आफू नै यहाँ नसक्ने हुँदा त हाम्रा कुरा पनि त सुनेर आउनु पर्ने हो। जति पढ्यो जति जान्यो त्यति आफ्नो घर फिर्ने आफ्नो विगत सम्झिने बाटाहरू बांगाटिंगा बनाइदिँदो रहेछ। जननी नै भुलाइदिन सक्दो रहेछ। इच्छा चाहना र प्रेरणाहरूले जिन्दगी जोड्नु र घटाउनुमै अभ्यस्त बनाउँदो रहेछ।'
आदत नै यस्तो बलवान भएर आउँदो रहेछ कि एक दिन चाड मान्न आएको सन्तान पनि त कहिले काममा फर्कौं भनेर बिलौना गर्दो रहेछ। केही दिन त बस्दिओस् भनेर बाआमाले गरेको कामना पनि फिक्का लाग्दो रहेछ। दुनियाँ नै यस्तै रहेछ! आमाबा दुवैको मुख हेर्ने दिनमा समेत बिदा पाइँदैन। भिडिओ कल गरेर नै हेर्नुपर्छ। बाटो परेर अस्ति भर्खर म घर पसेको थिएँ। पिँढीमा ओछ्याएको गुन्द्रीमा आमा पल्टिराख्नु भाको थ्यो।रेडियो मधुरो बज्दै थियो। अनि फुलेका पार्वता फूलहरू ढकमक्क थिए आँगन वरिपरि। आमाका आँखामा टिलपिल आँसु थिए। रेडियोमा बजेको कहानी ठ्याक्कै हामीसँग मिल्दोजुल्दो थियो। 'घरजम गर् न छोरा! हामीले नातिनातिना कहिले खेलाउने' भन्ने पनि आमाको दुखेसो थियो। बुहारी आउली र घरको धन्दा हेर्ली अनि बिग्रेको घर व्यवहार पनि सपार्ली भन्नी चाहा आमाको थियो। तर आफू पढेपछि पढेकै केटी बिहे गर्न पर्नी होला अनि कहाँ आजकल पढेका केटीहरूले घर व्यवहार सम्हालेर बस्लान् र? यस्तै कुराहरूमा बित्यो घर गएको समय अनि म फर्किएँ।
पढ्नलाई घर छोडियो अनि फेरि अलि जान्ने भएपछि धेरै पढ्न पाइन्छ भनेर घर नै फर्किएनौं। अब त जागिर खाइयो त्यसपछि त कहाँको घर कहाँको जागिर मिलन विन्दु नै भेट्टाउन गाह्रो। हामी छोराछोरी जति लाचार छौं, बाआमा उत्तिकै लाचार छन्। यो कुनै अहंकार पनि त होइन, मन त छ नि बाआमाको छातीमा हमेशा लिप्सिन पाए हुन्थ्यो तर समझ नै यस्तो बनाइदिन्छ कि बाआमा सँगको समय त मूल्य नभएको काम जस्तो देखाइदिन्छ। अब त अति नै हुन्छ लौ! समय मिलाएरै भए पनि मातृत्व र पितृत्व भावनामा रमाउन र दु:खमा साथ दिन अघि बढ्नुपर्छ भनेर भन्यो तर भनेकै पनि वर्षौं पो बितिसकेछ।
(लेखकका अन्य लेख पढ्न यहाँ क्लिक गर्नुस्।)