सधैँझैँ त्यो वर्षको दसैँ पनि नजिक आइसकेको थियो। म काठमाडौँमा बसेर पढ्थेँ र असोज १ गते पर्ने विश्वकर्मा पूजा मनाउन घर गएको थिएँ। हाम्रो घरमा खुसीको माहौल नै छुट्दै थियो त्यस दिन किनभने त्यो दिन विश्वकर्मा पूजा थियो। हरेक वर्षझैँ त्यस दिन पनि बुबाले बिहान नुहाएर, मन्दिरमा पूजा गरेर, आफ्नो घरमा भए जति सबै मेसिनहरूको पूजा गर्नुभयो।
पूजाको कारणले धेरै मिठाईहरू ल्याइएका थिए। म र मेरो भाइलाई दूधबाट बनेका मिठाईहरू असाध्यै मीठो लाग्ने गर्थ्यो। त्यसैले पनि होला बुबाले २ केजी त दूधबाट बनेको मिठाई मात्र ल्याउनुभएको थियो र बाँकी अरू-अरू परिकारहरू थिए।
त्यस दिन पूजा सकिएर, खाना खाएपछि बुबालाई एक्कासि गाह्रो भएको अनुभूति भयो। यो देखेर, ‘के भयो बुबा?’ भनेर सोध्दा, ‘अलि-अलि चक्कर लागेको जस्तो भयो’ भन्नुभयो।
हामीले खाना ढिलो खाएको भएर होला, हुन पनि १ बजिसकेको थियो खाना खाँदा, त्यसैले ‘प्रेसर लो’ भएको होला भन्ने सम्झियौँ तर सत्य त्यो रहेनछ।
बुबालाई माथि कोठामा गएर आराम गर्न लगायौँ र केही समयपछि नजिकको अस्पतालमा लगेर जाँच गरायौँ। अस्पतालमा जाँच गरेपछिको रिपोर्टमा सबै नर्मल नै रहेको भन्ने आयो। त्यसपछि हामी फेरि घर फर्कियौँ।
लगभग ५ बजिसकेको थियो, बुबालाई कमजोरी भयो भनेर फलफूलहरू काटेर खान दियौँ। तर खाएको केही क्षणमै बुबालाई बान्ता भयो। मनतातो नुन-पानीले कुल्ला गर्न लगायौँ र बुबा सुत्नुभयो। बेलुकाको खानामा थोरै जाउलो खानुभयो। मम्मी र मलाई डर लागिरहेको थियो, अनुहारमा चिन्ता बाहेक केही देखिएको थिएन।
सोचमा अनेकौँ प्रश्नहरू आइरहेका थिए जस्तै- तन्दुरुस्त मान्छेलाई एक्कासि यस्तो कमजोर के ले बनायो?
अनि फेरि अस्पतालको रिपोर्टमा किन केही देखिएन यस्तो हुँदा पनि, यस्तै-यस्तै प्रश्नहरू मनमा खेलेको हुँदा त्यस रात म बुबा सुतेको कोठामा नै सुत्छु भनेँ। त्यस रात म राम्रोसँग सुत्न सकेकी थिइनँ।
करिब २ बजेतिर मैले बुबालाई आफ्नो खाटबाट उठेर ढोका बाहिर गएको देखेँ। मैले ‘कहाँ जान लाग्नु भएको बुबा’ भन्दा आवाज नआएपछि फेरि खाटमा हेर्दा बुबा त त्यहीँ सुतिरहनु भएको थियो। के मेरो कल्पना थियो त्यो? या के थियो? त्यो त थाहा भएन मलाई, एकछिन यो दृश्यले मेरो मन झसङ्ग बनाइदियो।
त्यसको करिब १४ मिनेटपछि बुबालाई गाह्रो भएको अनुभूति भयो। बुबाको शरीर पूरै चिसो भइसकेको थियो र उहाँलाई बोलाउँदा उठ्नुभएन। त्यसपछि एक्कासि बुबाले आफ्नो पूरै शरीर खाटबाट माथि उफार्नु र खाटमा राख्नुभयो, ३ पटक। यो देखेर मम्मी र मलाई डर लाग्यो। हामीले छिमेकी दाइलाई बोलाएर बुबालाई बोकेर गाडीमा हालेर अस्पताल पुर्यायौँ।
अस्पतालमा पुग्दासम्म बुबाको हार्टबीट र पल्सरेट निकै कम भइसकेको थियो। म बुबाको हात समाएर बुबाको छेउमै बसिरहेको थिएँ। डाक्टरले अनुमान नै लगाउन सक्नुभएन कि बुबालाई के भएको हो भनेर, त्यसपछि उनीहरूले अन्तै कुनै अस्पतालमा लगाउनको लागि आग्रह गरे। त्यसपश्चात् हामीले नजिकैको धुलिखेल अस्पताल लग्ने निर्णय गरियो।
एम्बुलेन्समा मम्मी र दाइ जानुहुन्छ भन्नुभयो र मलाई जान दिनुभएन। हाम्रो घरमा आफ्नै एउटा व्यवसाय भएको कारण भोलि बिहान पसल खोल्नुपर्ने थियो। त्यसैले म घरमा फर्किएर आएँ। त्यस रात सुत्न सकिनँ, भोलिपल्ट बिहान मम्मीसँग बोल्दा ठिकै छ बुबालाई अहिले, भेन्टिलेटरमा राखिएको छ भन्नुभयो।
मैले मनमनै सोचेँ- कस्तो-कस्तो कुरामा त हार नमानी भएको मेरो बुबाले अहिले पनि छिट्टै जितेर घरमा आउनुहुन्छ। तर त्यो केवल सोचमा मात्र सीमित रह्यो। करिब ११ बजेतिर बुबा नरहेको खबर पाएँ।
बुबाको मृत्युको कारण डाक्टरहरूले पनि थाहा पाउन सकेका थिएनन्, ब्रेन हेमोरेजले गर्दा हो कि भन्ने अनुमान मात्र लगाइयो। त्यो समयमा मैले के सोच्ने, के भन्ने, के गर्ने पत्तो नै पाइरहेकी थिइनँ। बुबा नरहेको भन्ने कुरा मेरो दिमागले लिनै सकेको थिएन, अचानक मलाई गाह्रो हुन थाल्यो। मबाट केवल मेरो बुबा हैन, मैले देखेको सपना, मेरो खुसी, मेरो पहिलो प्रेम, मेरो आनन्द सबै खोसिए।
भन्थे दसैँले त खुसी ल्याउँछ भनेर तर हाम्रो घरमा त्यस वर्ष दसैँ हैन, दशा भित्रिएको थियो। सबैतिर खुसी भित्रिँदा हाम्रोमा पीडा, दुःख र आँसु भित्रिएको थियो। भनिन्छ जन्म लिएपछि मर्नुपर्छ भनेर, तर यति छिट्टै किन?
त्यस दिन मेरो घर रोएको थियो, आकाश रोएको थियो। हाम्रो घरको खुसी, आनन्द, हाँसो, सुख सबै खोसिएको थियो। त्यस दिनदेखि अझै पनि त्यो रात भुल्न सकेकी छैन, ‘बुबा’ भन्ने शब्द त्यस दिनदेखि उच्चारण गर्न पाएकी छैन। बुबाको सम्झना हरेक पल हरेक क्षण आइरहन्छ तर त्यस दिनपछि देख्न पाएकी छैन।