लोकतन्त्र प्राप्तिको झन्डै बीस वर्ष बित्दै गर्दा जेन–जी आन्दोलनको 'स्पीड ब्रेकर' ले गणतान्त्रिक नेपाल दोबाटोमा आइपुगेको छ।
भदौ २३ र २४ मा उर्लिएको विद्रोहको विध्वंशमा ७४ जनाको ज्यान जानुका साथै राष्ट्रिय धरोहर, व्यापारिक उद्योग तथा संरचना र कैयौं भौतिक चिजवस्तु जलेर खरानी भए।
ज्वालामुखीसहित तुँवालोमा परिणत काठमाडौं उपत्यकाको त्यो दृश्य कहालीलाग्दो थियो।
सामाजिक सञ्जालमाथि बन्देजको 'ट्रिगर' ले निम्त्याएको जेन–जी आन्दोलन वास्तवमा आम मानिसहरूमा व्याप्त राजनीतिक दलहरू प्रतिको चरमोत्कर्ष वितृष्णाको उपज थियो। सामाजिक सञ्जालमा छरपस्ट नेताहरू प्रतिको आवेग आखिरीमा जेन–जी उमेर समूहले क्षणभरमै धुलिसात बनाए। विशेषतः केपी शर्मा ओलीको अहंकारी तासको घर नामेट भयो।
दोबाटोमा उभिएका हामी यति बेला नवनियुक्त अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीको काँधमा चुनावी सरकारले कोर्ने नयाँ नेपालको अभिलाषामा प्रतिक्षारत छौं। किनभने, २०६२/०६३ पछि राजनीतिक दलले यो व्यवस्थाप्रति यति घृणा फैलाए, हुँदाहुँदा हिजोको निरंकुश राजतन्त्र नै बरू ठीकको निष्कर्षमा मानिसहरूले धारणा बनाउन थालिसकेका थिए।
गणतन्त्रको उपमा 'म्युजिकल चेयर'
जेन–जी विद्रोहको दुई हप्तापछि मैले यो आलेख लेख्दै गर्दा म आफै साक्षी २०६२/०६३ सालको त्यो १९ दिने जनआन्दोलन सम्झिरहेको मात्रै छैन, त्यसको औचित्यमाथि पनि विश्लेषण गरिरहेको छु।
सैनिक कूमार्फत् महेन्द्रकालीन पञ्चायत लाद्ने ज्ञानेन्द्र शाहप्रति हामी यति आक्रोशित थियौं, सडकमा ओर्लिँदा हामीलाई प्रहरी दमनको कुनै पर्वाह थिएन।
जसरी आज जेन–जी पुस्ता सत्तासीन दलहरूको मैमत्ता शासन विरूद्ध सञ्चालित हुँदै सडकमा ओर्लिए, निःसन्देह जेन–जी पुस्ताकै उमेरवयका जोकोही पनि सडकमा प्रदर्शन गर्न तम्सिएको थियो। विशाल जनप्रदर्शनमा सहभागी हामी जो कोही पनि सत्ता ढाल्न उद्दत थियौं।
स्नातकोत्तरको विद्यार्थी जनआन्दोलनताका मलाई पढाइभन्दा बढी रूचि 'लोकतन्त्र प्राप्तिको संशय' ज्यादा थियो।
कारण — अभिव्यक्ति स्वतन्त्रतामै तत्कालीन राजाले लगाइदिएको अंकुश र लगभग पञ्चायतकालीन निर्दलीय शासन व्यवस्थाको झल्कोले हाम्रो निन्द हराम गरिदिएको थियो।
जस्तै — सबैभन्दा पहिला राजाले सञ्चारका माध्यम मोबाइल फोन काटिदिएका थिए भने स्वतन्त्र प्रेसका न्युज–रूममा समाचारको 'गेट किपिङ' आर्मीले गर्थे।
आखिरीमा राजतन्त्र ढल्यो, लोकतन्त्र स्थापित भयो। अनि संविधानसभा हुँदै देश गणतन्त्रमा प्रवेश गर्यो।
आज आन्दोलित भएको जेन–जी पुस्ताका अधिकांश भाइबहिनीहरू नागरिकस्तरबाट आक्रोशित भई हामी ज्यानको आहुति दिन संघर्ष गर्दा जन्मिएकै थिएनन्। तर २०६२/०६३ को जनविद्रोहका बेला जन्मिएकाहरू आज 'फ्रस्ट्रेट' भएर बिदेसिन बाध्य छन् भन्नुपर्दा दुःख लाग्छ। यसैको हिसाब दलहरूसँग जेन–जी पुस्ताले सडकमा ओर्लिएर मागे।
तर निरंकुश राजतन्त्र फ्याँकेर हामीले गणतन्त्र ल्यायौं भन्दै गर्दा २०७२ सालमा संविधान जारी भएपछि शासनसत्तामा एकछत्र उदाएका एमाले अध्यक्ष केपी शर्मा ओलीले कस्तो थिति बसाए त? ओली सत्ताका लागि कांग्रेस, माओवादी वा पछिल्लो चुनावमा देखापरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग पनि मिलिदिने स्वभावकै कारण सत्ताको जोडघटाउमा छाइरहे।
ओलीको सर्वगुणसम्पन्न स्वभावको ज्ञान, उपदेशले नेपालीहरू दुर्भाग्यवश सुशोभित हुँदै नाकाबन्दीको मार बेहोरे। २०७४ सालपछि जथाभावीको करले ढाड सेकिए। कोरोनाकालमा बेसारपानी र अम्बाको पात चपाउन बाध्य पारिए। भ्रष्टाचारका अनेक मुद्दा सामसुम पारिए। यसले आम नेपाली चरम निराशामा बाँच्नु सिवाय केही उपलब्धि भएन।
तीन दलका मुख्य नेता केपी शर्मा ओली, शेरबहादुर देउवा, पुष्पकमल दाहाल 'प्रचण्ड' ले मिलीजुली म्युजिकल चेयरको भुलभुलैयामा हामीलाई अल्झाइराख्दा तत्कालीन राजा ज्ञानेन्द्र शाहको निरंकुश शासन व्यवस्था फालेको औचित्य के भयो? कस्तो मैमत्ता व्यवस्थामा हामी दुई–दुई दशक अल्झिएछौं त?
जो कोहीले सोधिरहेको प्रश्न यही हो।
नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी र खुद्रा मसिना दलको बलमा जसरी दलहरूले म्युजिकल चेयरको गेम खेलिरहेका थिए, त्यसले चरम भ्रष्टाचार, नेताहरूको बिगबिगी, बेरोजगारी, महँगी, देशमा अनिश्चय लगायतको पक्षपोषण मात्रै भइरहेको थियो।
आज त्यो आन्दोलनको दुई दशक पुग्नै लाग्दा, हिजो जुन निरंकुशतालाई सत्ताच्युत गराउन नागरिक आन्दोलित भए, दुर्भाग्य, त्यसयता सत्तासीन दलहरूले हाम्रो भावनामाथि बेस्सरी कुठाराघात गरे। नागरिक आवाज जति मुखरित गरिए पनि लोकतन्त्र प्राप्तिपछि दलहरू कानै नसुन्ने भइसकेका थिए।
यही पृष्ठभूमिको पराकाष्ठाकै परिणाम बन्न पुग्यो भदौ २३, २४ को जेन–जी आन्दोलन।
को हुन् त जेन–जी?
जेन–जी वास्तवमा एउटा पुस्ता मात्र हो। धेरैजसोलाई त कण्ठै छ, १५ वर्षकालीन समय अर्थात् सन् १९९७ देखि सन् २०१२ सम्म जन्मिएका पुस्ता जेनेरेसन जेड वा जेन–जी हुन्।
इन्टरनेट, स्मार्टफोन जस्ता ग्याजेटसँगै हुर्किएको यो पुस्ता 'डिजिटल नेटिभ्स' को गणनामा पर्छन्। परम्परागत विषयहरू आर्ट्स, कमर्स, साइन्सभन्दा पर आइटी पढ्छन्, होटल म्यानेजमेन्ट वा हस्पिटालिटी पढ्छन्। सफ्टवेयर बुझ्छन्, मोबाइल एप्लिकेसन इन्टरनेटमा अभ्यस्त छन्। इन्टरनेटको जालोले बाँधेको विश्वव्यापी जालोमा छिरेर विश्व एउटा गाउँ हो भन्ने अवधारणामा घर बसीबसी काम गर्न सक्छन्। संसारको वैभव हेर्छन् र उस्तै धरातल नेपालमा नदेख्दा खिन्न हुन्छन्।
उनीहरूकै विद्रोहको भर्चुअल मञ्च गेमिङ एप र डिस्कर्डमा रमाउँछ। पब्जी, फ्री फायर जस्ता एपमार्फत साथीहरूसँग जोडिन्छ।
पछिल्लो समय जेन–जी पुस्तालाई आलोकाँचो, तिमीहरू जान्दैनौ भन्नेहरूलाई उनीहरूले विद्रोह गरेर देखाइदिए। तर विध्वंशमा रूपान्तरित त्यो विद्रोह नामको अराजकता धैर्य भई सुनेर अघि बढ्नुको अब विकल्प रहेन।
जेन–जी आन्दोलनको अन्तर्य
म आफै जेनेरेसन एक्सको उत्तरार्द्धमा जन्मिएँ, मिलेनियलमा हुर्किएँ र जेन–जी सुरू हुँदा व्यावसायिक भई अधबैंसे उमेरमा छिरिसकेको छु।
सन् ८० को दशकको बालापन, ९० को दशकको किशोरवय र सन् २००० पछिको प्रौढकालको अनुभवमा इमानदारीपूर्वक भन्दा, भर्चुअल संसारका भाइबहिनीहरूको उत्कण्ठा नजरअन्दाज गरिएकै हो। तथापि, जेन–जीको असन्तुष्टि सम्बोधन गर्दै गर्दा उनीहरू सर्वथा सर्वकालीन नभई सार मात्र हुन्। खबरदारीको भूमिकामा भने अब जेन–जी पुस्ताको विद्रोह नकार्न सकिँदैन।
एउटा सन्दर्भ जोड्छु।
हालै जेन–जी विद्रोहको 'इपिसेन्टर' नयाँ बानेश्वरमा चिया गफ चल्दै गर्दा त्यहीँका साहुजीले सोधे, 'जेन–जी आखिर के हुन्? सबैतिर जेन–जीकै चर्चा छ। तर मेरो गाउँमा खेलकुद क्रियाकलाप हुँदा अहिले पनि समाजमा अग्रजलाई नै अगाडि सार्ने, मुख्य अतिथि बनाउने संस्कार छ। के अब बुढाखाडा सबै सकिए? मुख्य अतिथि, हर्ताकर्ता सबै जेन–जी उमेरका हुने भए त?'
साहुजीको शैली व्यंग्यात्मक थियो। मैले उत्तर दिने चेष्टा गरिनँ। तर उनको अभिव्यक्तिमा गाम्भीर्यता थियो।
सेतोपाटीमै प्रकाशित विभिन्न आलेखलाई साभार गर्ने हो भने जेन–जी आन्दोलनको सुरूआत, आन्दोलनमा द्वन्द्व र उत्कर्ष कसरी हुन पुग्यो भन्ने इतिवृत्तान्त रिपोर्टिङ पाइन्छ। यस्तै कान्तिपुर दैनिकमा गरिएको रिपोर्टिङ पढियो भने जेन–जी आन्दोलन कसरी हाइज्याक भएर कहाँ पुग्यो भन्ने विस्तृत घटना विवरण पढ्न पाइन्छ।
तसर्थ पुनः उल्लेख गरेँ, जेन–जी भनेको पुस्ता हो, आन्दोलनको नेतृत्वकर्ता होइन।
विषय उठान उनीहरूले गरे, तर जिम्मेवारीसहित समाधान दिने प्रौढ पुस्ताले नै हो। अहिले अन्तरिम सरकार पनि यसै गरी बनिरहेको छ। बाँकी दलहरू पनि उस्तै गरी जिम्मेवार भई तयार हुनुको विकल्प छैन।
संक्षेपमा भन्नुपर्दा, जेन–जी उमेरवयले आन्दोलित भई सरकार विरूद्ध धावा बोले, जुन सामाजिक सञ्जालमाथिको प्रतिबन्धले निम्त्याएको 'बाउन्स–ब्याक' थियो। तर लहरो तान्दा पहरो गर्जिएझैं व्याप्त भ्रष्टाचारको उरूङ र जेन–जीहरूले नै थालेको 'नेपो–बेबी' 'नेपो–किड्स' को ह्यासट्यागमार्फत् नेताका सन्तानका 'आलिशान' जीवनशैलीको भण्डाफोरसँगै सामाजिक सञ्जाल बन्द गर्ने सरकारी रवैयाको कारक बने।
सामरिक शक्ति राष्ट्रहरूबीच नेपाल वास्तवमै 'स्यान्डविच' को अवस्थामा छ। यथार्थमा सामरिक शक्ति राष्ट्रबाट लाभ लिएर नेपाल असंलग्न परराष्ट्र नीतिमा अडिग हुनुपर्ने हो। तर सरकारका गतिविधिले नेपाल असंलग्न परराष्ट्र नीतिमा अविच्छिन्न नदेखिएको प्रस्टै देखिन्छ।
यथार्थमा नेपालले लिनुपर्ने नीति असंलग्न परराष्ट्र नीति नै हो। कुनै देश वा शक्ति समूह, विशेष गरी अमेरिका, चीन, रूस वा अन्य सैन्य राजनीतिक गुटसँग नबाँधी सबैसँग समान दुरी र मैत्रीपूर्ण सम्बन्ध कायम गर्ने नै हो। जसले हाम्रो सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वतन्त्रता सुरक्षित राख्दै अन्तर्राष्ट्रिय समुदायमा नेपालको भूमिका स्वतन्त्र रहने भन्ने हो।
तर भनाइ र गराइमा कहाँनेर भुलचुक हो त?
आउनुहोस् केही उदाहरण हेरौं।
— पूर्वप्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त भएलगत्तै उनलाई भारतमा निर्वासित जीवन बिताइरहेका तिब्बती शरणार्थी दलाई लामाको बधाइ किन आयो? यसलाई अर्थपूर्ण रूपमा हेरिनुपर्छ, किनभने नेपालको चीन प्रतिको दृष्टिकोण एक चीन नीति हो, स्वतन्त्र तिब्बतबारे हुने कुनै पनि गतिविधि हामी नेपालले समर्थन गर्दैनौं।
— हालै पूर्व प्रधानमन्त्री केपी शर्मा ओली कुन विद्वत्ताले चीनमा आयोजित परेड कार्यक्रममा सहभागी भए? माथि नै भनिसकियो, नेपालले असंलग्न परराष्ट्र नीति अंगीकार गरेको छ र ध्रुवीकृत शक्ति राष्ट्रहरूको त्यो हर्षबढाइँ, उल्लासमा नेपाल तटस्थ बस्नुपर्थ्यो। के यसको जबाफदेहिता कसैले लिनुपर्दैन? वा पूर्वप्रधानमन्त्री ओली स्वयंको यसबारे के प्रतिक्रिया होला? नेपालको कूटनीतिक मामिलामा गडबडी गरेर पूर्वप्रधानमन्त्री ओलीलाई पानीमाथिको ओभानो हुने छुट छैन।
— त्यस्तै, भदौ २३ गतेको आन्दोलन अराजक बन्दै गर्दा भिड नियन्त्रण गर्न प्रहरी प्रशासन किन चुक्यो?
— अनि भदौ २४ गते देश सर्वोच्च अदालत, सिंहदरबारदेखि जताततै आगो बल्दा, कर्फ्यु आदेश नै जारी भइरहँदा नेपाली सेनाले तत्काल कमान्ड किन सम्हालेन?
यी प्रश्नको जबाफ जेन–जी आन्दोलनमा भएको दमन र अराजकता छानबिनका लागि प्रस्तावित गौरीबहादुर कार्की नेतृत्वको आयोगले अवश्य दिनुपर्छ। अथवा दोषी किटान भएकाविरूद्ध कानुनी कारबाही र पीडितले क्षतिपूर्ति पाउनैपर्छ। जसबाट नेपालमा कानुनी शासन छ भन्ने सन्देश जान सकोस्।
एउटा पुस्ताले गरेको विद्रोह कालान्तरमा विध्वंशमा परिणत भयो। यसपछि जेन–जीका नाममा विभिन्न अनुहारको दाबी अगाडि आयो।
जसले 'माइतीघर मण्डलमा भद्र विरोधसभा गर्छु' भनी जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएका थिए, उनीहरू सभ्य रूपमा नयाँ बानेश्वर बढ्दै गर्दा विरोध प्रदर्शन कसरी विध्वंशमा परिणत हुन पुग्यो?
समय क्रममा यसको जबाफ पनि कसै न कसैले दिनैपर्छ!
अबको बाटो, नयाँ राजनीतिक कोर्स
अहिले हामी उन्नत लोकतान्त्रिक व्यवस्थामा हामी छौं, तर चालक दल निम्न कोटीका परेकाले हामीले चाहेको गन्तव्यमा पुग्न विलम्ब भएको सत्य हो। चरम बेथितिको शिकारमा आम नागरिक पिल्सिरहेका छन्। त्यसैले निःसन्देह राजनीति अब नयाँ कोर्समा जानैपर्छ।
यहाँनेर आदरणीय गुरू सञ्जीव कुमार उप्रेतीले बृहत् नागरिक आन्दोलनको भावी रणनीतिबारे भनेको सम्झिन्छु — नागरिकस्तरबाट जो कोहीले दलहरूलाई खबरदारी गरिरहँदा एक्लै भए पनि विचलित हुनु हुँदैन। जति बेला राजनीति कठिन मोडमा आइपुग्छ, नागरिक समाज वा नागरिक आन्दोलनको खबरदारी गर्न अघि सर्नुपर्छ।
अहिले जेन–जीको भूमिका र सञ्जीव सरको विचार दुरूस्तै लाग्छन्।
'नागरिक आन्दोलन कसरी अगाडि बढ्नुपर्छ' भन्ने मेरो जिज्ञासामा सञ्जीव सर भन्नुहुन्छ, 'नागरिक समाजको काम खबरदारी गर्ने हो, अन्ततः राजनीति गर्ने भनेको त दलहरूले नै हो। हामीले आवाज बुलन्द गर्नुको अर्थ हामी आफै राजनीतिमा सहभागी हुनु होइन, दलहरूलाई सतर्क गराउनु हो।'
सञ्जीव सरकै भनाइ साभार गर्ने हो भने भावी नेपालको मार्गचित्र कोर्न मूलधारका राजनीतिक दलहरू अघि सर्नैपर्छ। तर ती दल हिजो जस्ता थिए, आज जस्ता छन्, त्यसरी हुँदैन। उनीहरू सुध्रिएरै आउनुपर्छ। सुध्रिएको खबरदारी गर्न एउटा सिंगै पुस्ता आइसक्यो!
६ महिनामा चुनाव गराउने कार्यादेशसहितको अन्तरिम सरकार बनिसकेको अवस्थामा अब निःसन्देह नेपालको मार्गचित्र संघीय संसदको चुनावतर्फ नै उन्मुख हुनुको विकल्प छैन।
लोकतान्त्रिक पद्धतिबाट बन्ने संसदले नै जेन–जीमार्फत् उठेका जायज मुद्दाको सम्बोधन हुनुपर्नेछ। माग जेन–जीको भए पनि २०६२/०६३ पछि प्राप्त राजनीतिक उपलब्धि संस्थागत गर्न अब अहिलेका पाका उमेरका शीर्ष नेताबाट असम्भव छ!
तथ्यांक अनुसार २०८४ को चुनावमा उदाउँदै गरेका २८ लाख नयाँ मतदाता तिनै हुन् जो जेन–जीका नाममा आन्दोलित भए। राजनीतिक जोडघटाउ निर्वाचनमार्फत जे भए पनि दलहरू सुध्रिएर जनमुखी सरकार नबन्ने हो भने जेन–जी आन्दोलनको पुनरावृत्ति नहोला भन्न सकिन्न! किनभने, राजनीति अब नयाँ कोर्समा गइसक्यो!
ट्विटरः @Dahal_Shankar
(शंकर दाहालका अन्य लेख पढ्न यहाँ क्लिक गर्नुहोस्)