नेपालले वेस्ट इन्डिजलाई १७४ रनको लक्ष्य दिएको छ।
संयुक्त अरब इमिरेट्स (युएई) को शारजाहमा जारी खेलमा टस जितेर पहिलो ब्याटिङ रोजेको नेपालले २० ओभरमा ६ विकेट गुमाउँदै १७३ रन बनाएको हो। आशिफ शेख र सन्दिप जोराले उत्कृष्ट ब्याटिङ गरेका छन्। शेखले ६८ रन र जोराले ६३ रन बनाएका छन्।
ओपनर कुशल भुर्तेल र कप्तान रोहित पौडेलले राम्रो प्रदर्शन गर्न सकेनन्। भुर्तेल २ रन र पौडेल ३ रनमा आएट भए। त्यस्तै, कुशल मल्लले ७ रन, गुल्शन झाले ६ रन र मोहम्मद आदिल आलमले ११ रन बनाए।
वेस्ट इन्डिजविरूद्ध नेपालको यो दोस्रो खेल हो। शनिबार भएको पहिलो खेलमा नेपालले पहिलो पटक आइसिसीको पूर्ण सदस्य राष्ट्र वेस्ट इन्डिजविरूद्ध जित हासिल गरेको थियो। त्यति बेला नेपालले दिएको १४९ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले ९ विकेटको क्षतिमा १२९ रन मात्र जोड्न सकेको थियो।
नेपालविरूद्धको सिरिजका लागि वेस्ट इन्डिजले पाँच जना खेलाडीलाई पहिलो पटक राष्ट्रिय टोलीमा स्थान दिएको छ। अनुभवी खेलाडीलाई आराम दिएको वेस्ट इन्डिजविरूद्ध नेपालका लागि आफ्नो क्षमता देखाउने अवसर पनि हुनेछ।
वेस्ट इन्डिजसँग सिरिज खेलेलगत्तै नेपाली टोली त्यतैबाट विश्वकप छनौट खेल्न ओमान जानेछ। ओमानमा सुरूमा नेपालले समूह चरणमा कुवेत र जापानसँग खेल्नेछ। यो समूहबाट शीर्ष दुईमा परे सुपर–६ मा पुग्नेछ।
सुपर–६ मा खेल्ने ६ टोलीमध्ये शीर्ष ३ मा पर्न सके नेपालले अर्को वर्ष भारत र श्रीलंकामा हुने टी–२० विश्वकपमा स्थान बनाउनेछ।
ओमानमा तीन समूह नौ टोलीबीच प्रतिस्पर्धा हुनेछ। अरू समूहमा मलेसिया, कतार र युएई तथा ओमान, पिएनजी सामोआ छन्।
तीन समूहका शीर्ष २–२ टोली गरी सुपर–६ मा पुग्ने कुल ६ टोलीमध्ये शीर्ष ३ टोली भए नेपाल लगातार दोस्रो पटक र समग्रमा तेस्रो पटक टी–२० विश्वकपमा छनोट हुनेछ।