सरकार ढल्ने गरी भदौ २३ र २४ गतेको घटनामा देशैभर भएको धनजनको व्यापक क्षतिलाई लिएर विभिन्न अनुमान गरिएका छन्। सबै खाले सत्ता आकांक्षी त्यसलाई आफ्नो अनुकुल व्याख्या गरिरहेका छन्।
विघटित प्रतिनिधि सभामा उपस्थित पुराना राजनीतिक दलहरूले यसलाई भयानक देशी–विदेशी षड्यन्त्रका रूपमा प्रस्तुत गर्न खोजेका छन्।
जनसाधारणको ठूलो समूह राजनीतिक दलका नेताहरूमाथि भएको आक्रमणमा कत्ति पनि दुःखी छैन। तर कुनै संगठनले नियोजित रूपमा विनाश गराएको हुनुपर्छ हो भन्ने मानिरहेको छ।
के साँच्चै हजारौं वा लाखौंको संख्यामा मान्छेहरू निश्चित उद्देश्यका लागि कुनै योजना र संगठन बिना परिचालित हुन सक्दैनन्? बृहत् स्तरमा कुनै रचनात्मक काम गर्न वा विध्वंश मच्चाउन सुगठित संगठन वा केन्द्रीय योजना नै चाहिन्छ?
चाहिँदैन।
पुँजीवादी अर्थ–राजनीतिक दर्शनमा एउटा स्वचालित काइदा (स्पन्टेनियस अर्डर) को अवधारणा छ। पुँजीवादीहरू यही स्वचालित काइदाकै कारण स्वतन्त्र बजार व्यवस्था सहितको सामाजिक राजनीतिक प्रणाली सम्भव हुन्छ भन्ने दाबी गर्छन्।
अस्ट्रियाली अर्थशास्त्री लुडविग भोन मिसेसले मानव समाजको दशा कुनै योजना (डिजाइन) बाट होइन, मानवीय कार्य (एक्सन) हरूको प्रतिफलबाट निर्धारण हुन्छ भनेका थिए।
पछि उनकै चेला एफ ए हायेकले मिसेसको यो भनाइको विस्तृत व्याख्या गरे।
यसको अर्थ हो — समाजमा धेरै उपयोगी संरचनाहरू मानवीय कार्यबाट क्रमिक रूपमा विकास हुन्छन्। आर्थिक कारोबार हुने बजार, मान्छेले बोल्ने भाषा र आधुनिक समाजमा प्रचलित कानुनहरू यस्ता केही उदाहरणहरू हुन्। यस्तो विकासको चाल कुनै बेला सुस्त र फराकिलो हुन्छ, कुनै बेला तीव्र र सघन।
कुनै एक व्यक्ति वा केन्द्रीय निकायको योजनाबाट बजार, भाषा वा कानुन बनेका होइनन्। बरू, करोडौं व्यक्तिले आ–आफ्नो व्यक्तिगत उद्देश्य पूरा गर्नका निम्ति गरेका आकस्मिक सहकार्यबाट ती संरचनाहरू आफै विकसित भएका हुन्।
हायेकको व्याख्या प्रायः सकारात्मक सामाजिक नतिजा (जस्तैः बजारको विकास) मा केन्द्रीत छ। यो व्याख्यालाई नकारात्मक सामाजिक नतिजा बुझ्न पनि प्रयोग गर्न सकिन्छ।
तलको तालिकामा हायेकको व्याख्या अनुरूप स्वचालित परिचालनमार्फत् हुने विध्वंशको सार खिचिएको छः

तालिका अनुसार सकारात्मक र नकारात्मक दुवै प्रतिफलका लागि केन्द्रीय नियन्त्रणको आवश्यकता देखिँदैन। दुवै प्रक्रियामा कुनै केन्द्रीय संगठन वा नेतृत्व आवश्यक पर्दैन।
बजारले जसरी कसैको निर्देशन बिना काम गर्छ, त्यसरी नै भिडको विध्वंशकारी कार्य पनि बिना संगठन अघि बढ्न सक्छ।
जसरी बजारमा हरेक व्यक्तिले आफ्नो नाफा खोज्दा अन्जानमा अर्कोलाई वा समग्र समाजलाई फाइदा हुन्छ, त्यसरी नै विध्वंशकारी परिचालनमा हरेक व्यक्तिले आफ्नो आक्रोश व्यक्त गर्दा वा मौकाको फाइदा उठाउँदा अनपेक्षित रूपमा ठूलो विध्वंश हुन्छ।
बजार कारोबारमा 'मूल्य' ले सूचनाको काम गर्छ। सामाजिक परिचालनमा कुनै भड्किलो घटनाले 'मूल्य' जसरी नै सूचनाको काम गर्छ, जसले मान्छेहरूलाई तुरून्त क्रियाशील हुन उत्प्रेरित गर्छ।
यसमा मानिसहरूले जानी जानी ठूलो विध्वंशको योजना नबनाए पनि उनीहरूको व्यक्तिगत आक्रोश वा झुकाव एउटा ठूलो उत्प्रेरक घटनामा परिणत हुँदा अनपेक्षित रूपमा विध्वंशको जन्म हुन्छ।
सन् १९५८ मा अर्थशास्त्री लियोनार्ड रिडले 'आई, पेन्सिल' शीर्षकको एउटा निबन्धबाट हायेकको व्याख्या प्रस्तुत गरेका थिए।
निबन्धले कसरी केन्द्रीय संगठन बिनै लाखौं मान्छे एउटा साझा उद्देश्यका लागि परिचालन हुन्छन् भन्ने स्पष्ट पारेको थियो।
'आई, पेन्सिल' मा एउटा सिसाकलमले आफ्नो जन्मको कथा सुनाउँछ।
उसले भन्छ —मलाई कुनै एक व्यक्ति वा केन्द्रीय संगठनले बनाएको होइन।
रिडका अनुसार अमेरिकामा एउटा पेन्सिल बनाउन आवश्यक काठका लागि ओरेगन वा क्यालिफोर्नियाका जंगलबाट रूख काटिन्छ। यसमा रूख काट्ने, ढुवानी गर्ने, काठ चिर्ने, मेसिन चलाउने थुप्रै मान्छे संलग्न हुन्छन्।
पेन्सिलको बीचमा हुने सिसा (ग्रेफाइट र क्लेको मिश्रण) श्रीलंका, चीन, दक्षिण अमेरिका वा कुनै अफ्रिकी मुलुकबाट ल्याइएको हुन्छ। ग्रेफाइटको खानीमा थुप्रै मान्छेले काम गरेका हुन्छन्। प्रशोधन कारखाना र ढुवानीमा पनि त्यतिकै मान्छे संलग्न हुन्छन्।
पेन्सिलको टुप्पोमा हुने धातुको सानो टुक्रा (जसले इरेजर समात्छ) तामा र जस्ताको मिश्रणबाट बन्छ। यसका लागि खानी, धातु पगाल्ने भट्टी र प्रशोधन गर्ने कारखानामा काम गर्ने थुप्रै मान्छे हुन्छन्।
इरेजरका लागि आवश्यक रबर मलेसिया वा इन्डोनेसियाबाट आपूर्ति हुन्छ। त्यहाँ रबर खेती गर्ने किसान हुन्छन्। रबरको रूखबाट कच्चा पदार्थका रूपमा प्रयोग हुने चोप संकलन गर्ने कामदार हुन्छन्।
भूगोलका विभिन्न भागमा रहेका यी मान्छेले एकअर्कालाई चिनेका हुँदैनन्। कुन जात, धर्म, पेसा, वर्णको हो भन्ने थाहा हुदैन। एकअर्काको अस्तित्वबारे कत्ति पनि जानकारी नभएका यी मान्छे केन्द्रीय योजना बिना केवल पैसा कमाउने आफ्नो व्यक्तिगत स्वार्थ पूरा गर्न काम गरिरहेका हुन्छन्।
तर ती सबै मान्छेको कामको परिणाम स्वरूप उनीहरूले नचिताएको पेन्सिल बन्छ।
पेन्सिल निर्माणका लागि विश्वभरका लाखौं मानिस परिचालित हुन्छन्। उनीहरूलाई एकअर्काको कामबारे खास चासो वा जानकारी हुँदैन।
अर्थशास्त्री एडम स्मिथले भनेको बजारको 'अदृश्य हात' र हायेकको 'स्वचालित काइदा' ले यी अपरिचितहरूको क्रियाकलापलाई समन्वय गर्छ। हरेक मान्छेको व्यक्तिगत निर्णयले एउटा जटिल तर व्यवस्थित परिणाम (पेन्सिलको जन्म) दिन्छ।
विध्वंशकारी परिचालनमा भने 'आई, पेन्सिल' को जस्तै संयन्त्रको नकारात्मक र अराजक पक्ष प्रकट हुन्छ।
निर्माणमा मान्छेहरू आफ्नो लाभका लागि स्वतन्त्र रूपमा काम गर्छन् जसको प्रतिफल सकारात्मक नतिजा (पेन्सिल) हुन्छ। विध्वंशमा मान्छेहरू आफ्नो आक्रोश वा मौकापरस्त मक्सदका लागि काम गर्छन् र यसको परिणाम अव्यवस्था र विनाश हुन्छ।
दुवै अवस्थामा केन्द्रीय आदेशको सट्टा विकेन्द्रीकृत व्यक्तिगत निर्णयले काम गर्छ। कुनै भाव वा सूचनाको प्रसारणले महत्त्वपूर्ण काम गरेको हुन्छ।
पेन्सिल बनाउन बजारको मूल्य प्रणालीले सूचनाको काम गर्छ। विध्वंशकारी परिचालनमा सामूहिक भावना, अफवाह वा उत्तेजक श्रव्यदृश्य वा पाठ्य सामग्रीले काम गर्छ।
जसरी 'आई, पेन्सिल' मा बजार मूल्यले सबैलाई आवश्यक कार्य गर्न प्रेरित गर्छ, त्यसरी नै एउटा भावनात्मक सन्देशले धेरै मानिसहरूलाई एकै समयमा विध्वंशकारी कार्यमा लाग्न उत्प्रेरित गर्न सक्छ।
ठूलो विध्वंशकारी परिचालन स्वचालित काइदाको अराजक अनुहार हो — जहाँ आक्रोश वा त्रास प्रेरित लाखौं व्यक्ति स्वतन्त्र र अनियन्त्रित ढंगले ध्वंसात्मक कार्य गर्न उद्दत हुन्छन्।
एकैचोटि ठूलो विध्वंश गर्ने गरी बिना संगठन धेरै मान्छेहरू परिचालन हुनुमा व्यक्तिगत कारण, भावना, आस्था, अवस्था कारक हुन्छ।
धेरै मान्छेमा पहिल्यैदेखि कुनै खास विषय — शोषण, भ्रष्टाचार, अन्याय, अत्याचार, असमानताप्रति गहिरो असन्तुष्टि वा आक्रोश हुन्छ। असन्तुष्टि र आक्रोशको यो भावले उनीहरूलाई एकताबद्ध बनाउँछ।
असन्तुष्टि चुलिँदै गइरहेको अवस्थामा अत्याचार वा दमनको एउटा ठूलो घटनाले एउटा चर्को विन्दु (ट्रिगर इभेन्ट वा टिपिङ प्वाइन्ट) को काम गर्छ। त्यो विन्दुमा पुगेपछि आक्रोश बिस्फोट हुन्छ, धर्तीमुनि लुकेर बसेको ज्वालामुखी बिस्फोट भए जस्तै।
सामाजिक सञ्जाल वा आम सञ्चारका माध्यमबाट फैलिने चरम अत्याचार वा दमनका घटनाको विवरणले सुख्खा मौसममा सल्किएको डढेलोले जस्तै काम गर्छ।
मान्छे सबभन्दा बढी नक्कल गर्ने प्राणी हो। केही मान्छेले थालेका काम देख्ने अरूले पनि सिको गर्छन्। अशान्तिको अवस्थामा सामान्यतया मान्छेले एक्लै हुँदा नगर्ने किसिमका काम भिडसँग मिसिएर गर्छन्। भिडबाट उनीहरूलाई आफ्नो पहिचान लुकेको अनुभूति प्राप्त हुन्छ।
भिडकै आवरणबाट आफू सुरक्षित हुने गरी प्रहार गरिरहेको छु भन्ने मनोविज्ञानले काम गर्छ। यो मनोविज्ञान र यसले जन्माउने क्रियाकलापको नक्कल एक व्यक्तिबाट अर्कोले गर्दै जाँदा सानो समूहबाट ठूलोमा फैलिँदै जान्छ।
सामूहिक कार्यको एउटा ठूलो चुनौती भनेको धेरै मान्छेलाई एकै समयमा, एकै ठाउँमा कसरी ल्याउने भन्ने हो।
स्वचालित काइदामा एउटा साधारण र स्पष्ट सन्देश वा एक ठूलो घटना आफैमा समन्वयको उपकरण बन्छ। त्यस्ता सन्देश वा घटनामाथि तुरून्तै प्रतिक्रिया जनाउनुपर्छ भन्ने सबैलाई लाग्छ।
माथिको छलफललाई वास्तविक संसारका अरू दुई वटा उदाहरणमार्फत् अगाडि बढाउन सकिन्छ।
एउटा सकारात्मक उदाहरण क्रिप्टोकरेन्सी हो।
क्रिप्टोकरेन्सीहरूमा बिटकोइन सबभन्दा चर्चित छ। यो एउटा विद्युतीय मुद्रा हो जुन कुटलेखन (क्रिप्टोग्राफी) मा आधारित हुन्छ।
मान्छेले हजारौं वर्षदेखि कुनै सूचना आफू र आफूले चाहेको पक्षबाहेक अरूले नबुझ्ने गरी कुटलेखनमा रूपान्तरण गरी राख्ने, पठाउने र प्राप्त गर्ने काम गर्दै आएको थियो। आधुनिक संसारमा गणित र कम्प्युटर विज्ञानमा यसको प्रयोग व्यापक बन्दै गयो।
यही कुटलेखन विधि प्रयोग गरेर सन् २००९ मा सातोसी नाकामोतो नामका व्यक्तिले बिटकोइन चलनमा ल्याए। नाकामोतो को हुन्, अझै खुलेको छैन। नाम सुन्दा जापानी लागे पनि उनी जापानी हुन् वा होइनन्, महिला हुन् वा पुरूष, एउटै व्यक्ति हो कि समूह हो भन्नेबारे विभिन्न अनुमान छन्।
जोसुकै भए पनि नाकामोतो एक ‘साइबरपंक’ हुन्।
साइबरपंक अराजकतामा विश्वास गर्छन्। सरकारलाई विश्वास गर्दैनन्। प्रविधिको व्यापक प्रयोग गरेर समाजलाई लोकतान्त्रिक बनाउन सकिन्छ भन्ने अभियान निरन्तर चलिरहेकै छ।
बिटकोइनपछि इथेरियम, लाइटकोइन, टिथर, सोलोना, टेरा लगायत थुप्रै क्रिप्टोकरेन्सी चलनमा आएका छन्। हाल यस्ता दसौं हजार क्रिप्टोकरेन्सी चलनमा छन्।
क्रिप्टोकरेन्सीका लागि केन्द्रीय बैंकको खाँचो हुँदैन। यस किसिमको मुद्रा जारी गर्ने, प्रसार गर्ने, विनिमय तथा भुक्तानीका लागि प्रयोग गर्ने, विनिमय दर निर्धारण गर्ने कुनै केन्द्रीकृत संयन्त्र हुँदैन।
ब्लक–चेनमा आधारित सार्वजनिक कम्प्युटर सञ्जालमा प्रयोगकर्ता जोडिएका हुन्छन्। यसमा आवद्ध सबैले आफूलाई उपलब्ध स्रोतसाधन अनुसार त्यस्ता मुद्राको उत्पादन, प्रयोग र मूल्य निर्धारणमा प्रभाव पार्न सक्छन्।
बिटकोइन लगायत क्रिप्टोकरेन्सीको सिर्जना र प्रयोगले देखाउँछ — कुनै केन्द्रीय निकायको योजना र केन्द्रीकृत संगठन बिना, विकेन्द्रीकृत प्रविधिमार्फत् भव्य तवरले कुनै समूह, अभियान वा लहर सञ्चालन हुन सक्छ!
अर्कोतिर नकारात्मक उदाहरण छ, दुई दशकअघिको एउटा दुःखद घटना — इराकमा आतंककारी समूहबाट १२ जना नेपालीको हत्या भएपछि काठमाडौंमा फैलिएको आक्रोश। २०६१ भदौ १६ का दिन त्यो आक्रोशको तारो बनेका थिए काठमाडौंमा रहेका म्यानपावर कम्पनी, मस्जिद, केही निजी घर, व्यावसायिक भवन र सञ्चारगृह।
रोजगारीको खोजीमा इराक पुगेका १२ जना नेपाली भदौ ४ गते आतंककारीको अपहरणमा परे। भदौ १५ मा उनीहरूको विभत्स हत्या भयो। हत्या भएको दृश्यको भिडिओ फैलिएपछि काठमाडौंमा तोडफोड, आगजनी भयो। केही घन्टामै अर्बौं रूपैयाँ बराबरको सम्पत्ति नष्ट भयो। स्थिति सामान्य बनाउन कर्फ्यु लगाउनुपर्यो।
विदेशी भूमिमा आफ्ना दुःखी दाजुभाइको विभत्स हत्या भएको दृश्यले मान्छेलाई उत्तेजित बनायो। त्यो उत्तेजनामा के गर्नुपर्छ भन्ने प्रत्येक व्यक्तिलाई जे लाग्यो, त्यही गरे। उनीहरूले तोडफोड र आगजनी गरेका संरचनालाई नै तारो बनाएर आक्रमण गर्नू भनेर कसैले आदेश दिएकै थिएन।
अहिले जेनजी आन्दोलनका क्रममा भएको विध्वंशमा पनि कुनै एकल संगठन र केन्द्रीकृत योजनाको हात छ भन्नु अज्ञानता हो।
आफ्नो गल्तीबाट छुटकारा पाउन पुराना नेताहरूले यस्तो भाष्य बनाउन खोज्छन्। उनीहरूले जानेकै गलत भाष्य बनाउने र छट्टु परिचरमार्फत् सोझा जनतामाथि शासन गर्ने हो।
रोजगारी नपाएर दुःखी, उपचार नपाएर रोगले आक्रान्त, कम ज्याला पाएर रूष्ट, घुसखोरी र ढुलासुस्तीबाट पीडित, महँगीले पिल्सिएका, सरकारी कर्मचारी र प्रहरी प्रशासनको दुर्व्यवहार भोगेका, नागरिकता र पासपोर्ट नपाएका, बाटोघाटोदेखि पानी, बिजुली, टेलिफोनको दूरावस्थाले दिक्क भएका, राम्ररी पढ्न नपाएका, जातीय, लैंगिक, धार्मिक र अरू विभिन्न आधारमा विभेद खेपेका र हेपिएका मान्छेका समस्या समाधान गर्नेतर्फ कुनै पनि शासक प्रशासकको ध्यान गएन।
मान्छेले आ–आफ्नै भोगाइ र बुझाइका आधारमा हाम्रा हैरानीको कारण ती हेपाहाहरू हुन् भन्ने किसिमले पहिचान गरिसकेका थिए।
ती पीडितहरूका नजरमा जो दोषी थिए, उनीहरू भने सुखसयलमा थिए। भव्य घरमा बसेका थिए, महँगा गाडी चढेका थिए, विदेश शयर गरेका थिए, दिनहुँ भोजभतेर गरेका थिए, लवाइखवाइ अलग्गै थियो।
राणा शासक जस्तै राजा भएको, राजाजस्तै कांग्रेस भएको, कांग्रेसजस्तै एमाले, माओवादी र अरू दल भएको जनताले झल्झली देखेका थिए। दलहरूले देश–विदेश सबैतिर असन्तोषको बारूद छरेका थिए।
हाम्रो समाज अभाव, अन्याय, अत्याचार, भ्रष्टाचार, असन्तोष, असमानताको बारूदी सुरूङमाथि बसेको थियो। भदौ २३ मा कलिला किशोरहरूको हत्याले त्यो बारूदी सुरूङ बिस्फोट गरायो।
सामाजिक सञ्जाल कहिले खुल्ला भनेर व्यग्रतासाथ कुरिरहेका प्रत्येकको मोबाइलमा तिनै केटाकेटी मारिएको हृदयविदारक दृश्य दौडिन थालेको थियो। त्यो दृश्यले झिल्कोको काम गर्यो। कुनै संगठन चाहिएन, कुनै योजना चाहिएन, मान्छेका मनमा थुप्रिएको आक्रोश यत्रतत्र पोखिन थाल्यो।
आफूलाई स्मार्ट ठान्ने तत्कालीन सरकारका अधिकारीहरूले एकपछि अर्को गल्ती गर्दै गए।
जनतामा भ्रष्टाचार र कुशासनको आक्रोश छँदै थियो। सामाजिक सञ्जाल बन्द गराएर उनीहरूले जनआक्रोश झन् बढाए। त्यसपछि उनीहरूले केटाकेटीको हत्या गरे। अनि त्यो विभत्स दृश्य हेर्न सामाजिक सञ्जाल खुला गरिदिए।
अब भन्नुहोस् विध्वंशको योजना कुन संगठनले बनायो, कसरी बनायो?
त्यस कारण यसपालि पुराना दलका नेता राजकीय वा दलीय सत्ताबाट च्युत हुनुमा कुनै संगठन र योजनाको हात छैन।
त्यस किसिमको भाष्य निर्माण गर्न खोज्नु भनेको उनीहरूले सच्चिन नचाहेको वा सत्ता छोड्न नचाहेको भन्ने प्रस्टै बुझिन्छ। भुइँफुट्टा वर्गले आत्मसमर्पण गर्न नखोजेको देखिन्छ!
***

क्सः @muraharip
(मुराहरि पराजुलीका अन्य लेखहरू पढ्न यहाँ क्लिक गर्नुहोस्)