म सानै हुँदा नै मेरो जीवनले ठुलो मोड लियो— बुबाको निधन। त्यो समयमा म बालक थिएँ। न बुझ्ने उमेर, न जिम्मेवारी सम्हाल्ने शक्ति। तर भाग्यले बाल्यकालमै जीवनको गहिरो पाठ सिकायो।
घरको आर्थिक अवस्था कमजोर थियो। कमाउने सदस्य कोही थिएनन्। बुबा नभएपछि घरको जिम्मेवारी आमाको काँधमा आयो। आमाले आँसु पुछ्दै खेतीपाती गर्न थाल्नुभयो। उहाँले दुःख सहेको म आफ्नै आँखाले देख्थेँ— बिहानदेखि साँझसम्म खेतमा पसिना बगाउनु हुन्थ्यो तर कहिल्यै हार मान्नु भएन। उहाँकै बलियो हौसला मेरो प्रेरणाको आधार बन्यो।
पढाइ नछोड्ने दृढ संकल्प लिएँ। बिहान स्कुल, बेलुकी काम— त्यही मेरो दिनचर्या बन्यो। कहिले गोरखा, कहिले काठमाडौँ, कहिले सर्लाही जहाँ काम मिल्थ्यो, त्यही जान्थेँ। लेबरको काम गर्दै पढाइलाई निरन्तरता दिएँ। कठिनाइ त धेरै आयो तर मनमा एउटा कुरा थियो— ‘जीवनमा केही गर्नुपर्छ, आमालाई गर्व गराउनुपर्छ।’
कक्षा १० पास गरेपछि सर्लाहीको मलंगवामा क्याम्पस पढ्न सुरु गरेँ। पढाइको खर्च, कोठा भाडा, खाना— सबै आफ्नै काँधमा थियो। त्यसैले पार्टटाइम काम गर्न थालेँ एउटा डेन्टल क्लिनिकमा सहायकको रूपमा। बिहान पढ्थेँ, दिउँसोदेखि रातिसम्म काम गर्थेँ। त्यसरी नै बिस्तारै +२ पास गरेँ। त्यो दिन घरमा खुसीको माहौल छायो— आमाको अनुहारमा देखिएको त्यो मुस्कान आज पनि मेरो प्रेरणाको स्रोत हो।
पढाइसँगै मैले सीप पनि सिक्दै गएँ। त्यसपछि मोटरसाइकल वर्कसपमा काम गर्न थालेँ। हरेक कामले मलाई आत्मनिर्भर बनायो, आत्मविश्वास बढायो। जीवनमा कहिल्यै ‘सानो काम’ भन्ने सोच राखिनँ किनभने म जान्दथेँ, प्रत्येक काममा इमानदारी राख्न सके त्यो ठुलो काम बन्छ।
केही समयपछि सर्लाही जिल्लाको कौडेना गाउँपालिकामा नगर प्रहरीको रूपमा नियुक्त भएँ। त्यो मेरो जीवनको पहिलो ‘सरकारी सेवा’ अनुभव थियो। मैले आफ्नो जिम्मेवारी इमानदारीपूर्वक पूरा गरेँ। अनुशासन, कर्तव्यनिष्ठ र जनसेवाप्रतिको समर्पणका कारण मलाई सबैले मन पराए। तर पछि राजनीतिक घुसपैठ र अन्यायका कारण मन दुख्यो र अन्ततः राजीनामा दिएँ। मलाई थाहा थियो इमानको बाटो कहिल्यै सजिलो हुँदैन तर त्यो नै साँचो बाटो हो।
नगर प्रहरीको पद छोडेपछि पनि हिम्मत हारिनँ। केही समयपछि द सहारा लोन सेविङ को–अपरेटिभ सोसाइटी लिमिटेड, मलंगवामा कार्यालय सहयोगीको रूपमा नियुक्त भएँ। इमानदारी र मेहनतले गर्दा काममा सबैको विश्वास जितेँ। एक वर्षपछि जीवनमा अर्को नयाँ अध्याय सुरु भयो— विवाह।
मैले पर्सा गाउँमा बस्ने पुष्पाकुमारी यादवसँग वैवाहिक जीवनमा प्रवेश गरेँ। अहिले मेरो जीवनमा खुसीको अर्को कारण छ— २ महिनाकी सुन्दर छोरी। उनी मेरो संसारको सबभन्दा ठुलो खुसी हुन्।
हाल म द सहारा सहकारी संस्थाको सेवा केन्द्र, गरुडा रौतहटमा कार्यरत छु। जिम्मेवारी बढ्दै गए पनि म अझै उही पुरानो बोधमा बाँधिएको छु— ‘आमाभन्दा ठुलो संसारमा कोही छैन।’
मैले बुवाको माया आमाबाटै पाएँ। उहाँले हरेक कठिन समयमा भनिरहनु हुन्थ्यो— ‘छोरा, तिमी केही गर्न सक्छौ।’ यही शब्दले मेरो हरेक रातको अँध्यारोमा उज्यालो ल्यायो।
मैले जीवनका धेरै दुःख देखेँ तर कहिल्यै हार मानिनँ। समय कमजोर हुँदा कोही चिन्ने रहेनछन्, तर मैले त्यो समयलाई नै आफ्नो गुरु बनाएँ। किताबले सिकाउन नसकेको कुरा जीवनले सिकायो।
आज म जहाँ छु, त्यो म आमाको आशीर्वाद, आफ्नो मेहनत र विश्वासको परिणाम हो।
जीवनले सिकाएको मेरो पाठ सरल छ — ‘कहिल्यै हार नमान, परिस्थिति जति नै कठिन किन नहोस्, विश्वास, मेहनत र आमा–बुवाको आशीर्वादले जीवन बदलिन्छ।’