भारतको जम्मू-कस्मिरस्थित पहलगाममा भएको आतंकवादी हमला पछि पाकिस्तानसँग तनाव बढिरहेको बेला भारतले चेनब नदीमार्फत सीमापार जाने पानीको प्रवाह लगभग पूर्ण रूपमा रोकेको छ।
आइतबार बिहानदेखि पानीको प्रवाह सामान्यभन्दा लगभग ९० प्रतिशतले घटाइएको आरोप पाकिस्तानको इन्डस (सिन्धु) रिभर सिस्टम अथोरिटीका प्रवक्ता मुहम्मद खालिद इद्रीस रानाले लगाएका भनेर ब्लुमबर्गले लेखेको छ। भारतीय संचार माध्यमहरूले पनि आतंकवादी हमलाको बदलामा भारतले पानीको माध्यमबाट प्रहार गरेको बताएका छन्।
भारतले सामान्यतया बिजुली उत्पादनका लागि दैनिक केही पानी रोक्ने गरेको तर केही घण्टा पछि फेरि छोड्ने गरेको बताउँदै रानाले पछिल्लो कदम अभूतपूर्व भएको बताएका छन्। भारतको यो कदम अघि पनि पाकिस्तानले खेतमा पानीको आपूर्ति दुई महिनासम्म करिब २० प्रतिशतले घट्ने अपेक्षा गरेको रानाले जानकारी दिए। भारतको यो कदमपछि पाकिस्तानमा सिँचाइका लागि थप समस्या पर्ने भएको छ।
भारतको जम्मू-कस्मिरस्थित पहलगाम क्षेत्रमा आतंकवादी समूहले २६ जनाको हत्या गरेपछि दुई देशबीचको सम्बन्ध बिग्रिएको छ। पहलगामको पर्यटकीय क्षेत्रमा अप्रिल २२ मा आतंककारी हमला हुँदा बुटवलका सुदीप न्यौपानेसहित २६ जनाको मृत्यु भएको थियो।
पहलगाममा भएको आतंकवादी हमलाको दोष दिँदै भारतले पाकिस्तानमाथि प्रहार गर्ने धम्की दिइरहेको छ। अर्को तर्फ पाकिस्तानले भने सो हमलामा आफ्नो संलग्नता नभएको दावी गरिरहेको छ।
सो हमला पछि दुई देशबीच पानी बाँडफाँडका लागि ६५ वर्षअघि भएको सिन्धु पानी सन्धी भारतले एकतर्फी रूपमा तोडेको घोषणा गरेको छ।
भारतबाट छुट्टिएर पाकिस्तान बने पछि भारतबाट पाकिस्तानतर्फ बग्ने चेनब सहित छवटा नदीको पानी बाँडफाँटकालागि सो सन्धी गरिएको थियो।
भारतले आफ्ना तर्फ बग्ने पानी रोके त्यसलाई युद्ध छेडेको रूपमा लिने भनेर पाकिस्तानले धम्की दिए पनि अन्ततः भारतले चेनबको पानी रोकेको हो।
भारतसँग तनाव बढिरहँदा गत हप्ता पाकिस्तानी रक्षामन्त्री ख्वाजा मुहम्मद आसिफले युद्ध हुने खतरा भएको चेतावनी दिएका थिए।
चीन, साउदी अरब र अन्य खाडी राष्ट्रहरूले दुई देशबीच युद्ध रोक्न प्रयास गरिरहेका छन्। संयुक्त राष्ट्रसंघले पनि भारत र पाकिस्तानलाई संयमता अपनाउन अनुरोध गरिसकेको छ।
दुई देशबीच तनाव बढिरहेको बेला सीमा क्षेत्रमा दुई पक्षबीच गोली हानाहान समेत भएको थियो। कस्मिरको विवादित सीमा क्षेत्रमा भारतको एक जासुसी ड्रोन खसालेको पनि पाकिस्तानले दाबी गरेको थियो।
त्यस्तै भारतको नौसेनाले अप्रिल २७ मा आफ्ना जहाजहरूले लामो दूरीको सटीक प्रहार गरेर सफलतापूर्वक जहाज डुबाउने फायरिङको अभ्यास गरेको थियो।
अर्को तर्फ पाकिस्तानी सेनाले जमिनदेखि जमिनसम्म प्रहार गर्न मिल्ने ब्यालिस्टिक मिसाइलको शनिबार परीक्षण गरेको थियो। सो मिसाइलले करिब २८० माइलको दूरीसम्म प्रहार गर्न सक्ने पाकिस्तानले जनाएको छ।
पाकिस्तानले मिसाइल परीक्षण गर्दा भारतसँगको सीमा क्षेत्रतर्फ नगरेर सामान्यतया अरब सागर वा दक्षिणपश्चिम बलुचिस्तान प्रान्तको मरूभूमितर्फ प्रक्षेपण गर्छ।
अब्दाली हतियार प्रणाली अन्तर्गतको सो मिसाइलको परीक्षण सेना परिचालनको तयारी र मिसाइलको उन्नत ‘नेभिगेसन’ (जहाज चलाउने) प्रणाली सुनिश्चित गर्नका लागि गरिएको पाकिस्तानी सेनाले जनाएको छ।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)