नेपालमा मनसुन याम अन्तिम अन्तिमतिर आइपुगेको छ। तर यसपटक सरदर पनि वर्षात भएको छैन।
जल तथा मौसम विज्ञान विभागअनुसार भदौ मसान्तसम्म औसतको ९० प्रतिशत वर्षा भइसक्नुपर्ने थियो। यसपटक सरदरभन्दा बढी वर्षा हुने सम्भावना ६५ प्रतिशतसम्म आकलन गरिएको थियो।
मौसम विभागको आकलनअनुसार यसपटक पूर्वी डोल्पादेखि गण्डकीका केही भूभागसम्म औसतभन्दा बढी वर्षा हुने प्रक्षेपण गरिएको थियो।
तर अहिलेसम्म ११८३.२० मिलिमिटर वर्षा भएको छ। यो भदौ ३१ सम्मको तथ्यांक हो।
नेपालमा मननसुन याममा १४७२ मिलिमिटर सरदर वर्षा हुने विभागले जानकारी दिएको छ। अहिलेसम्म सरदरको ८०.० प्रतिशत वर्षा भएको छ।
विभागका अनुसार नेपालका २० वटा वर्षा मापन केन्द्रमध्ये जुम्ला केन्द्रमा मात्रै सरदरभन्दा बढी वर्षा भएको छ।

डडेल्धुरा केन्द्रमा सरदर वर्षा भएको छ। घोराही केन्द्रमा पनि सरदर वर्षा भएको देखिन्छ। जोमसोम, धरानमा औसत वर्षा भएको छ। बढी पानी पर्ने कास्कीको लुम्लेमा समेत औसतभन्दा मुनि नै वर्षा भएको छ।
त्यस्तै, नेपालगञ्ज, जनकपुर, सिमरा, विराटनगर, धनकुटा, ताप्लेजुङमा मात्र होइन पोखरामा पनि सरदरको तुलनमा निकै कम वर्षा भएको छ।
भदौ सकिन लागेपछि मनसुन सक्रिय भएको छ। पछिल्ला केही दिन देशभरि हल्कादेखि मध्यम र कतै त भारी वर्षा भएको छ। पछिल्ला केही दिनमा बर्दिया लगायत स्थानमा अति भारी वर्षा पनि भएको छ।
मौसमविद् विनोद पोखरेलले यो साता नेपालभरि मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको बताएका छन्। अहिले मनसुनको न्यूनचापीय रेखा (पानी पार्ने प्रणाली) सरदरकै स्थान (भारत) तर्फ रहे पनि बंगाल र अरब सागरबाट पर्याप्त मोइस्चर (जलवाष्प) आइरहेको छ। त्यसले नेपालको धेरै ठाउँमा पानी पार्न मद्दत पुर्याएको छ।
अर्को साता भने पानी पर्ने सम्भावना देखिएको छैन।
‘सुरूमा सक्रिय हुन नसकेको मनसुन भदौको अन्तिम दिनसम्म पनि पूरै सक्रिय देखिन्छ। यो साता नेपालभरि राम्रैसँग पानी पर्ने र अर्को साता मनसुनले केही विश्राम लिने देखिन्छ,’ उनले भने।
त्यसकारण अहिले नै सरदरभन्दा कम वर्षा भयो भन्न मिल्दैन। सामान्यतयाः मनसुन सुरू हुने र अन्त्य हुने बेला ठूलो पानी पर्ने पनि गरेको छ। गत वर्ष पनि असोज १० देखि १३ गतेसम्म परेको अविरल वर्षातले ठूलो धनजनको क्षति गरेको थियो।
भारतको दक्षिणपश्चिमबाट मनसुन बाहिरिन थालेको छ। भारतीय मौसम विज्ञानका अनुसार त्यहाँ १४ सेप्टेम्बर (भदौ २९) गते मनसनु बाहिरिदिएको थियो। नेपालमा यसवर्ष मनसुन सरदर भन्दा १५ दिनअगाडि (जेठ १५) मै मनसुन भित्रिएको थियो। नेपालमा सरदर जुन १३ मा मनसुन भित्रने गर्थ्यो।
अक्टोबर १५–१६सम्म बाहिरिइसक्छ। यसवर्ष १० अक्टोबरसम्म बाहिरिने अनुमान गरिएको छ।
अघिल्लो वर्ष १२ अक्टोबरमा बाहिरिएको थियो। नेपालमा सन् २०१३ मा अक्टोबर १९सम्म मनसुन रहेको थियो।
मौसमविद पोखरेलले मनसुन अझै दुई सातासम्म रहने बताएका छन्।
