पाकिस्तानी प्रचारबाजी र मिथ्या सूचना फैलाएको आरोप लगाउँदै भारतले केही चिनियाँ सरकारी मिडियाका सामाजिक सञ्जाल खाताहरू भारतभित्र ब्लक गरेको छ।
चीनको सरकारी समाचार एजेन्सी सिन्ह्वा र चिनियाँ कम्युनिस्ट पार्टीको अंग्रेजी मुखपत्र ग्लोबल टाइम्सको एक्स (पहिले ट्विटर) खाता बुधबार देखि भारतभित्र खोल्न नमिल्ने बनाइएको भनेर बेलायती पत्रिका द गार्डियनले लेखेको छ।
भारतले गत हप्ता हजारौं सामाजिक सञ्जाल खाताहरूलाई निशाना बनाएको थियो। यसमध्ये सिन्ह्वा र ग्लोबल टाइम्स पनि परेका छन्। टर्किस रेडियो एण्ड टेलिभिजन कर्पोरेसन (टीआरटी) पनि भारतले ब्लक गरेको छ।
भारतले जम्मू–कश्मिरको पहलगाममा भएको आतंकवादी आक्रमणको जबाफ मे ७ मा पाकिस्तानमाथि आक्रमण गरेर दिएपछि दुई देशबीच युद्ध सुरू भएको थियो। सो युद्ध रोक्न भारत र पाकिस्तान शनिबार सहमत भएका थिए।
भारत र पाकिस्तानले गत हप्ताको सैन्य झडपहरूबारे निकै फरक-फरक विवरण दिएका छन्। दुवैले आफ्नो क्षति कम भएको र अर्काको धेरै क्षति भएको दावी गरेका छन्।
पाकिस्तानले युद्धको क्रममा चिनियाँ हतियार र टर्कीका ड्रोनहरूको प्रयोग गरेको थियो।
पाकिस्तानले आफ्नो हतियार प्रयोग गरे पनि चीनले आधिकारिक रूपमा पाकिस्तानको समर्थन नगरेर तटस्ठ बसेको थियो। टर्कीले भने पाकिस्तानको खुलेर समर्थन गरेको थियो।
युद्धको क्रममा भारतका पाँचवटा लडाकू विमान खसालेको दाबी पाकिस्तानले गरेको छ। ती पाँचमध्ये तीनवटा फ्रान्समा निर्मित रफाल, एउटा रूसमा निर्मित मिग-२९ र अर्को रूसमै बनेको सुखोइ सु-३० भएको पाकिस्तानको दाबी छ।
पाकिस्तानी विदेशमन्त्री इशाक डारले चीनमा निर्मित 'जे-१० सी' लडाकू विमान प्रयोग गरेर भारतका ती पाँचवटा विमान खसालेको बताएका थिए।
पाकिस्तानका यस्ता दावी भारतले गलत भन्दै आइरहेको छ। पाकिस्तानले फैलाएको त्यस्ता मिथ्या सूचना फैलाएको भनेर ती चिनियाँ मिडियाको सामाजिक संजाल भारतले ब्लक गरेको हो। त्यसो त चीनले पश्चिमा सामाजिक संजाललाई प्रतिबन्ध लगाएकाले ती चिनियाँ मिडियाका एक्स खाता चीनमै पनि खुल्दैनन्।
चीनले भारतभित्र पर्ने स्थानहरूको चिनियाँ नाम बुधबार सार्वजनिक गरेकाले पनि भारतले चिनियाँ मिडियाका सामाजिक संजाल खाता ब्लक गरेको हुनसक्छ।
भारतको अरूणाचल प्रदेशभित्र रहेका लगायत २७ स्थानहरूमा आफ्नो दावी हुनेगरी चीनले बुधबार नै तिनको आधिकारिक चिनियाँ नाम प्रकाशित गरेको थियो। चिनियाँ नाम दिइएका ती स्थानहरूमा १५ हिमाल, पाँच आवसीय क्षेत्र, चार हिमाली घाटी (पास) दुई नदी र एक ताल रहेको हङकङबाट प्रकाशित हुने साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)