भर्खरै भएको भारत-पाकिस्तान युद्धमा ड्रोन प्रयोग सफल भएपछि दुबै दक्षिण एसियाली छिमेकी राष्ट्रले ड्रोनमा अझै लगानी बढाउने भएका छन्।
तीन वर्षदेखि भइरहेको रूस-युक्रेन युद्धमा ड्रोनको सफल प्रयोग भएको देखेपछि विश्वभरिका सेनाले ड्रोनमा लगानी बढाउँदै लगेका हुन्। लडाकू विमानभन्दा धेरै सस्तो र दुश्मनले आक्रमण गरेर खसाल्दा पनि पाइलटको मृत्यु नहुने भएकाले मानव-रहित ड्रोन सबैका लागि आकर्षक बन्दै गएको छ।
त्यही भएकाले भारत र पाकिस्तानले पनि ड्रोन किन्ने र उत्पादन गरिरहेका थिए। केही हप्ताअघि भएको युद्धमा भारत र पाकिस्तान दुबैले सयौं ड्रोनको प्रयोग गरेका थिए।
भारतले जम्मू–कश्मिरको पहलगाममा भएको आतंकवादी आक्रमणको जबाफ मे ७ मा पाकिस्तानमाथि आक्रमण गरेर दिएपछि दुई देशबीच युद्ध सुरू भएको थियो।
पहलगामको पर्यटकीय क्षेत्रमा अप्रिल २२ मा आतंककारी हमला हुँदा बुटवलका सुदीप न्यौपानेसहित २६ जनाको मृत्यु भएको थियो। त्यसको दुई हप्तापछि पाकिस्तानभित्र आक्रमण गरेर भारतले जबाफ दिएको थियो। त्यसपछि चार दिनसम्म युद्ध भएपछि भारत र पाकिस्तान युद्धविरामका लागि सहमत भएका थिए।
सो युद्धका क्रममा आफैले बनाएका बाहेक भारतले विशेष गरी इसराइल र पोल्याण्डमा बनेका र पाकिस्तानले टर्की र चीनमा बनेका ड्रोन प्रयोग गरेका थिए।
अर्बौं रूपैयाँ पर्ने लडाकू विमान र करोडौं पर्ने मिसाइल लामो समयसम्म प्रयोग गरिरहन दुवै देशलाई आर्थिक रूपमा मुश्किल थियो। आर्थिक संकट खेपिरहेको पाकिस्तानका लागि झन् गाह्रो थियो। त्यसैले दुवै देशले ठूलो संख्यामा ड्रोनको प्रयोग गरेका थिए।
सस्ता ड्रोन खसाल्न महँगो एअर-डिफेन्स प्रणालीको प्रयोग गर्नु बुद्धिमानी नहुने र मानव-रहित ड्रोन बन्दुक वा तोप-मोर्टारले खसाले पनि मानवीय क्षति नहुने भएकाले दुवै देशले ड्रोनको प्रयोग गरेका थिए।
सो युद्धमा ड्रोनको प्रयोग सफल भएकाले भारत र पाकिस्तान दुवैले ड्रोनमा लगानी अझै बढाउन लागेको भनेर समाचार संस्था रोयटर्सले लेखेको छ।
रूससँग युद्ध लडिरहेको युक्रेनपछि भारत अहिले विश्वको सबभन्दा धेरै हतियार किन्ने देश हो। भारत र पाकिस्तानले गत वर्ष ९६ अर्ब डलरभन्दा बढी हतियारमा खर्च गरेका थिए।
दुई देशका सुरक्षा अधिकारीहरू, उद्योगका कार्यकारीहरू र विश्लेषकहरूसहित १५ जनासँग कुरा गरेको आधारमा दुवै देशले ड्रोनमा लगानी विस्तार गर्न लागेको रोयटर्सले जनाएको छ।
भारतले आगामी १२ देखि २४ महिनामा ड्रोनमा ४७ करोड डलरसम्म खर्च गर्न सक्ने रोयटर्सले लेखेको छ। यो द्वन्द्वपूर्वको तुलनामा लगभग तीन गुणा हो।
पाकिस्तानसँग युद्ध भएपछि भारतले यो महिना आपतकालीन सैन्य खरिद कोषका लागि करिब चार अर्ब ६० करोड डलर स्वीकृत गरेको थियो। त्यो कोषको रकम पनि अरू देशसँगको सहकार्यमा ड्रोन बनाउन र विदेशमा बनेका ड्रोन किन्न खर्च हुने रोयटर्सले लेखेको छ।
पाकिस्तानले ड्रोनमा कति खर्च गर्ने भनेर सो समाचारले रकम नखुलाए पनि सत्ताको बागडोर आफ्नै हातमा भएको सेनाले पनि ड्रोन बनाउन र किन्न व्यापक लगानी विस्तार गर्ने अपेक्षा गरिएको छ।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)