बुद्धचित्त (बोधिचित्त) को दाना चोरी गर्ने समूहले ललितपुरमा एक जनामाथि खुकुरी प्रहार गरेका छन्।
गए राति सवा २ बजेतिर गोदावरी नगरपालिका वडा नम्बर ७ गुरूङचुले गैरीडोली भन्ने ठाउँमा रहेको बुद्धचित्त टिप्न एउटा समूह पुगेको थियो।
उक्त समूहले सिसिटिभीको तार काटेर बुद्धचित्तको दाना टिप्न थालेका थिए। तर कुकुर भुकेपछि घरधनी कृष्णबहादुर मार्फाले घरबाहिर निस्किए।
त्यसपछि उक्त समूहले घरधनी मार्फमाथि खुकुरी प्रहार गरेका थिए।
जिल्ला प्रहरी परिसर ललितपुरका एसपी चक्रराज जोशीका अनुसार बुद्धचित्तको दाना चोरी गर्ने समूहले सिसिटिभीको तार काटेर घरधनीमाथि खुकुरी प्रहार गरेका थिए।
‘त्यो समूहले बुद्धचित्त धनीको दायाँ हातमा खुकुरी प्रहार गरेका छन्, चोट लागेको छ। उहाँलाई अस्पताल लगिएको छ,’ उनले भने, ‘घरधनीलाई खुकुरी हानेपछि उनीहरू बुद्धचित्तको दाना लिएर भागेछन्।’
घाइते मार्फाको उपचारको लागि आनन्दवन अस्पतालमा लगिएको थियो। उनको हातमा पाँच वटा टाँका लगाइएको छ।
उनी उपचारपछि अस्पतालबाट डिस्चार्ज भइसकेका छन्।
घटनापछि खोजी गर्नेक्रममा आइतबार बिहान ५ बजेतिर प्रहरी वृत्त चापागाउँको टोलीले तीन जनालाई पक्राउ गरेको छ।
सिन्धुलीका ३० वर्षीय प्रतिमान गोले, काभ्रेका २६ वर्षीय बुद्ध तामाङ र सिन्धुपाल्चोकका २६ वर्षीय जीवन तामाङ पक्राउ परेका हुन्।
उनीहरूबाट प्रहरीले ९९ वटा बुद्धचित्तको काँचो दाना बरामद गरेको छ। पक्राउ परेका व्यक्तिहरूको आपराधिक पृष्ठभूमि समेत देखिएको छ।
यसअघि प्रतिमान गोले बाइक चोरीमा संलग्न रहेको देखिएको थियो। त्यस्तै बुद्ध सुनको चेन लुटपाटमा संलग्न रहेको देखिएको हो।
प्रहरी वृत्त चापागाउँले यस घटनासम्बन्धी थप अनुसन्धान अघि बढाएको छ। घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ।
गत असारमा काभ्रेको बनेपामा पनि बुद्धचित्त चोरी भएको थियो। बुद्धचित्त चोरी गरेको आरोपमा तीन जना पक्राउ परेका थिए। तर चोरी भएका बुद्धचित्त फेला परेको थिएन। उक्त घरबाट ८ लाख बराबरको चोरी भएको दाबी गरिएको थियो।
त्यसअघि २०८० चैतमा काभ्रेको रोशी गाउँपालिका ५ नागबेनीमा पनि बन्दुकधारी समूहले बुद्धचित्तको रूख नै ढालेर चोरी गरेका थिए।
के हो बुद्धचित्त?
बुद्धचित्तको वास्तविक नाम बोधिचित्त हो। यो बयर प्रजातिको बनस्पति हो। यसको काठ, पात, दाना, सबै धार्मिक प्रयोजनमा उपयोग हुन्छ। यसको बयर जस्तो देखिने तर कडा फल प्रयोग गरेर बौद्ध धर्मावलम्बीहरूले जप गर्न र लगाउन प्रयोग गर्ने माला बनाउने गरिन्छ।
तिब्बतमा बज्रयान बौद्ध धर्म स्थापित गर्ने गुरू पद्म सम्भवले नेपालको काभ्रे जिल्लामा पर्ने एउटा गुफामा ध्यान गर्न आउँदा बोधीचित्तको बिरूवा छोडेर गएको किम्बदन्ती छ। काभ्रेमा पाइने बुद्धचित्त बिरूवाको बाहिरी रूप बयर प्रजातिसँग मेल खाने र यो विश्वका अन्य ठाउँमा पाइनेभन्दा बेग्लै रैथाने प्रजाति भएको बताइन्छ।
बुद्धचित्त सामुद्रिक सतहबाट १२०० देखि २००० मिटर उचाइको जमिनको पाखोबारीमा पाइन्छ। पाखोबारी, सुख्खा, स-साना ढुंगा भएको स्थानमा समेत यो रोप्न मिल्छ। रोपेको तीन या चार वर्षबाटै फल दिन थाल्ने यो बिरूवालाई त्यति स्याहार चाहिँदैन।
नयाँ नीतिको खाँचो
पछिल्लो समय बनस्पतिको अन्य समूहमा रहेको बुद्धचित्तलाई यार्सागुम्बाजस्तै बनस्पतिमा समावेश गर्नुपर्ने खाँचो देखिएको विज्ञहरुले बताएका छन्। राजस्व कम र निर्यात गर्दा पाइने रकम आकाश जमिनको अन्तर भएकाले यसबाट किसानहरू लाभान्वित भएका छन् ।
बुद्धचित्तलाई कसरी वनस्पतिमा समावेश गर्ने र त्यसलाई व्यावसायिक रुपमा लैजाने भन्ने विषयमा सरकारको कुनै नीति नै छैन। व्यापार हुन थालेको डेढ वर्ष वितिसक्दा समेत सरकारको ध्यान अझै त्यहाँ पुगेको देखिदैन्। सरकारले अलिक ध्यान दिएर यसबारे नियमन गरे राजस्व बढी उठाउन सकिने विज्ञहरूको तर्क छ।