अमेरिका र युरोपेली संघबीच व्यापार सम्झौता भएको छ।
स्कटल्याण्ड पुगेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टर्नबेरीमा आइतबार युरोपेली संघकी अध्यक्ष उर्सुला भान देर ल्यायनसँग व्यापार सम्झौता गरेका हुन्।
सम्झौताअनुसार अमेरिका अब युरोपेली वस्तुहरूमा १५ प्रतिशत आयात शुल्क लगाउनेछ। भन्सार दर ट्रम्पले पहिले धम्की दिएको आधा हो। ट्रम्पले यसअघि इयुलाई ३० प्रतिशत भन्सार लगाउने धम्की दिएका थिए।
ट्रम्पको निजी गल्फ कोर्समा एक घन्टा भएको छलफलपछि १५ प्रतिशत भन्सारमा सहमति भएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ।
ट्रम्पले यस सम्झौताबाट अमेरिका र युरोपबीचको व्यापारिक सम्बन्ध नयाँ चरणमा प्रवेश गर्ने बताएका छन्। उनले सम्झौतामार्फत इयुले अमेरिका भित्र करिब ७५० अर्ब डलरको ऊर्जा तथा सयौँ अर्ब डलरको हतियार खरिद गर्ने योजना बनाएको पनि दाबी गरेका छन्।
इयुका अध्यक्ष उर्सुला भोन डर ल्यायनले ट्रम्पलाई कडा वार्ताकार भन्दै १५ प्रतिशत करलाई इयुले पाउन सक्नेभन्दा राम्रो भनेकी छन्।
यद्यपि उनले केही क्षेत्रहरूमा छुट कायम गरिएको पनि उनले बताएकी छन्। हवाइजहाज र पार्टपुर्जा, कतिपय रसायन, केही कृषि उपज, औषधि, अर्धचालक उपकरण र कच्चा पदार्थमा कर भन्सार छुट दिइएको बताएकी छन्।
यस सम्झौताबाट जर्मन कम्पनीहरूलाई खास लाभ हुने अनुमान गरिएको छ। एयरबस, मर्सिडीज, भिडब्ल्यूजस्ता कम्पनीहरू ट्रम्प प्रशासनको २७.५ प्रतिशत गाडी तथा पार्टपुर्जा आयात करले विगतमा ठूलो मार खेपिरहेका थिए। जर्मनीका चान्स्लर फ्रेडरिक मर्जले इयू र अमेरिकाबीच भएको व्यापार सम्झौताको स्वागत गरेका छन्।
तर, युरोपेली संसदका व्यापार समिति प्रमुख बेर्न्ड लाङ्गेले भने सम्झौता असन्तुलित भएको प्रतिक्रिया दिएका छन्। उनले अमेरिकाभित्र लगानीको ठूलो प्रतिवद्धता गर्नुपर्ने भएकाले यसले युरोपमै आर्थिक असर पार्ने चेतावनी दिए।
सम्झौता भएको खबर सार्वजनिक भएपछि युरो मुद्रा अमेरिकी डलर, स्टर्लिङ र येनको तुलनामा ०.२ प्रतिशतले बढेको छ।
ट्रम्पले यसलाई आफ्नो 'सबैभन्दा ठूलो सम्झौता' भन्दै प्रशंसा गरेका छन्।
उनले केही दिनअघि मात्र जापानसँग ५५० अर्ब डलरको व्यापार सम्झौता पनि गरेका थिए। तर विश्लेषकहरूले यो सम्झौतालाई "राजनीतिक सहमति मात्र" भन्दै स्पष्ट कानुनी ढाँचामा रूपान्तरण नगरेसम्म भ्रम र विवाद रहिरहने बताएका छन्।