भदौ २३ गते आन्दोलनको पहिलो दिन त्यतिखेर हामीलाई साढे १ बजेतिर सिभिल हस्पिटलबाट फोन आयो। आत्तिएर एक जना डाक्टरले फोन गर्नुभयो। त्यसपछि हामीले हाम्रो व्यवस्थापन मिलायौं। अनि त्यहाँका बिरामी यता पठाउन भन्यौं।
लगभग २ बजेको हाराहारीमा घाइते ल्याउन थालियो। त्यसपछि हामीले इमर्जेन्सी सेवालाई तीव्र बनायौं।
वास्तवमा हामीसँग संकटका बेला के गर्ने भनेर यस्ता खाले योजना पहिल्यै हुन्छ। विभिन्न खालका प्रकोपमा कसरी काम गर्ने भन्ने हाम्रो योजना हुन्छ। जब यस्ता आकस्मिक खालका ठूला दुर्घटना हुन्छन्, त्यसपछि हामीले नियमित उपचार सेवालाई बन्द गर्छौं।
हामीले घाइते तथा बिरामीलाई उसको अवस्था अनुसार वर्गीकरण गरेर आवश्यक उपचार गर्छौं। त्यो दिन ३ देखि साढे ३ घण्टा निकै खतराको स्थितिमा रहेर काम गर्यौं। साँझ पर्न थालेपछि विस्तारै कम हुँदै गयो।
घाइतेको उपचार गर्दैगर्दा बीचमा हामीलाई रगतको समेत अभाव भयो। लगत्तै हामीले अस्पतालका कार्मचारीमार्फत् रक्तदान गरेर रगतको व्यवस्था गर्यौं। फेरि हामीले यो रगतले मात्र पुग्दैन भन्ने ठानेर रेडक्रससँग पनि समन्वय गर्यौं र ब्लड बैंकबाट ल्याउन सुरू गर्यौं।
यसरी हामीले व्यवस्थित तरिकाले काम गर्यौं भन्ने लाग्छ।
पहिलो दिनको साँझसम्म ६६ जना घाइतेहरूलाई ल्याइयो। केही घाइतेहरूको ल्याउँदैमा मृत्यु भइसकेको थियो। हामीले सिपिआर दिएर हेर्न खोज्यौं तर भएन। कति आउँदा जिउँदै हुनुहुन्थ्यो तर बचाउन सकेनौं। ८ जना इमर्जेन्सीमै बित्नुभयो। त्यसबाहेक गम्भीर प्रकृतिका बिरामीहरू जसको टाउकोमा, छातीमा, घाँटीमा, पेटमा चोट लागेको थियो। त्यस्तै अत्यधिक रक्तस्राव भएको, फोक्सोमा चोट लागेकाहरूलाई सबैभन्दा पहिलो प्राथमिकतामा राखेर उपचार गर्यौं। अरू बिरामीलाई ब्याण्डेज गर्नेदेखि घाउको व्यवस्थापन गर्ने काम गर्यौं।
अहिले पनि हामीसँग ५० जना घाइतेहरू हुनुहुन्छ। पहिलो दिन ६६ अनि दोस्रो दिन अझै धेरै आउनुभयो तर गम्भीर घाइते कम थिए। यो बीचमा हामीले १ सय ६५ भन्दा धेरै घाइतेको उपचार गर्यौं।
अधिकांशको खुट्टामा धेरै चोट लागेको छ। केहीको पेट, छाती, घाँटी अनि टाउकोमा लागेको छ।
घाइतेलाई तीन प्रकारका गोली लागेको देखिन्छ। एउटा रबरको गोली पनि देखियो भने दोस्रो सर्ट गनको गोलीहरू देखियो भने तेस्रो जुन बढी ब्लाष्ट हुन्छ त्यो हानेको देखियो।
केही बिरामीमा राइफलबाट स्वचालित रूपमा आउने गोली पनि देखिएको छ। कसैलाई अश्रु ग्यासको सेलले लागेको छ। यसपटक हामीले लाठीको चोट कम देख्यौं भने बुलेटको चोट अलि बढी देख्यौं यो अलि असामान्य हो।
पहिलो दिनको घटनामा लाठीले हानेका घटना भएन भन्ने देखिन्छ। हामीलाई घटनास्थलबारे थाहा भएन। किनकी सामान्य चोट लागेका बिरामी सिभिलमा पठाएर गम्भीर चोटका बिरामी यता ल्याएको भएर पनि यस्तो हुनसक्छ।
अस्पतालमा ल्याइएका धेरै घाइतेहरू आन्दोलनमा गएकाहरू नै देखिए। तर केही मान्छेहरू छेउमा बसेर रमिता हेरिरहेको अथवा कतै गइरहेको अवस्थामा घाइते भएर पनि आए। आन्दोलनमा जाने युवाहरू धेरैले आफूहरू पहिलो पटक आन्दोलनमा गएको बताए।
आन्दोलनमा जानसाथ यसरी गोली हानिहाल्छ भन्ने लागेको रैनछ। घाइतेहरूमध्ये १७ वर्षदेखि २५ वर्षसम्मका धेरै छन्। केही अरू उमेर समूहका अनि केही बाटोमा हिँडेकाहरू समेत थिए। अकस्मात के/के भयो केही थाहा भएन भन्ने धेरै छन्। शंखमूलको बाटोमा भएकालाई पनि गोली लाग्यो भनेका पनि छन्।
हस्पिटलमा ल्याइएका घाइतेको ट्रेन्ड हेर्दा पनि सुरूमा रबरको गोली लागेर आएका थिए। ३ बजेपछि भने अलि गम्भीर प्रकृतिका घाइते धेरै आए।
अस्पतालमा केही बिरामीका आफन्तहरूको स्वाभाविक आक्रोश थियो। तर पनि कतिपयले अलि धेरै आक्रोश देखाउँदा हामीले पनि असुरक्षाको महसुस गरेका थियौं। यसका बाबजुद पनि हामीले यस पटकको संकटलाई राम्रैसँग व्यवस्थापन गर्न सक्यौं भन्ने लाग्छ।
गोली लागेको ठाउँमा संक्रमणको खतरा हुने भएकाले विशेष ख्याल पुर्याउनु पर्छ।
अहिलेको पुस्ताले सुशासन चाहेको हो अनि त्यसकै लागि आन्दोलन थियो। तर पहिलो दिन उनीहरूले धेरै चोट बेहोर्नु पर्यो, त्यसको बदला दोस्रो दिन लिएका हुन् कि जस्तो उनीहरूका कुराले बुझिन्छ। पहिला पहिला यस्ता घटनामा पानीको फोहोराले छेक्ने, लाठी हान्ने, अश्रु ग्यास, रबरको गोली हुँदै गोली हान्ने गरिन्थ्यो। तर यसपटक त्यस्तो नगरेको जस्तो देखिन्छ।
उनीहरू हामीले यो व्यवस्थाको विरोध गर्ने भनेर लागेको होइन भनेर भन्छन्। सिंहदरबार,अदालत जलाउने त हाम्रो कुनै नियत नै थिएन भन्छन्।
हामीले त ढिलासुस्ती अनि भ्रष्टाचार बढेको भनेर यो प्रदर्शन गरेको हो अनि देशमा सरकार स्थायी किन हुँदैन? अनि युवालाई राजनीतिमा ठाउँ किन छैन भनेर प्रश्न गरेको हो? गणतन्त्र ठीक छैन सिंहदरबार जलाउनु पर्छ, संसद जलाउनु पर्छ भन्ने योजना हाम्रो कहिल्यै थिएन। संयमित हुने ड्रेसमा आउने अनि पुलिसलाई फूल दिने भनेको आन्दोलन कसरी हिंस्रक भयो भनेर हामी आफै छक्क परेका छौं भनेर घाइतेहरूले भनिरहेका छन्। यस्तो भन्नेमा अधिकांश पहिलो दिन घाइते भएकाहरू छन्।
(जेनजी आन्दोलनका क्रममा भएका घाइते र उनीहरूको उपचारबारे हामीले राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत अर्थोपेडिक तथा ट्रमा सर्जन सह. प्राध्यापक डा. सन्तोष पौडेलसँग हामीले भिडिओ कुराकानी गरेका छौं।)