आइपिएलमा आइतबार राति भएको खेलमा दिल्ली क्यापिटल्स र किंग्स-११ पञ्जावले समान रन बनाएका छन्।
दुवै टिमले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा समान १५७ रन जोडेपछि स्कोर बराबरी भएको थियो। त्यसपछि भएको सुपर ओभरमा दिल्ली विजयी भयो।
टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले खराब सुरुवात गरेको थियो। तर मार्कोस स्टोइनिसले उत्कृष्ट ब्याटिङ गरेपछि दिल्लीको स्कोर बढेको थियो।
उनले २१ बलमा ५३ रनको योगदान गरे। जसमा ७ चौका र ३ छक्का समावेश छन्।
त्यसअघि दिल्लीले चार ओभरमा ३ विकेट गुमाउदा १३ रन मात्र जोड्दा दबाबमा परेको थियो।
१५८ रनको लक्ष्य पछ्याएको पञ्जावले पनि ७ विकेटको क्षतिमा १५७ रन ने जोड्यो। उसका लागि ओपनर मयंक अग्रवालले ८९ रन जोडे पनि जितका लागि पर्याप्त हुन सकेन।
जितका लागि पञ्जावलाई अन्तिम ओभरमा १३ रन चाहिएको थियो भने ४ विकेट बाँकी थियो। अन्तिम ओभरमा पञ्जाव लागि अग्रवाल र क्रिस जोर्डन ब्याटिङमा थिए। दिल्लीका स्टोइनिसले बलिङ गरेका थिए।
जसमा पहिलो बलमा अग्रवालले छक्का हिर्काएका थिए। दोस्रो बलमा २ रन लिएपछि पञ्जावलाई जितका लागि चार बलमा पाँच रन चाहिएको थियो।
तेस्रो बलमा अग्रवालले चौका हाने। जितका लागि एक रन चाहिएको अवस्थामा चौथो बलमा रन लिन सकेनन्। पाँचौ बलमा अग्रवाल आउट भए। अन्तिम बलमा क्रिस जोर्डन पनि आउट भउपछि खेल बराबरी भयो।
त्यसपछि भएको सुपर ओभरमा दिल्लीका कागिसो रबाडाले बलिङ गर्दा पञ्जावका लोकेश राहुलले पहिलो बलमा २ रन लिए। दोस्रो बलमा राहुल आउट भए। तेस्रो बलमा पञ्जावका पूरनलाई रबाडाले बोल्ड गरे।
पञ्जावले २ रन बनाउदा दुई विकेट गुमाएपछि दिल्लीले ३ रनको लक्ष्य पायो।
जसमा पञ्जावका मोहमद सामी बलिङमा आए। ब्याटिङमा दिल्लीका कप्तान श्रेयर इयर र रिशव पन्त थिए। पहिलो बलमा पन्तले रन लिएनन्। दोस्रो बल वाइड भयो भने तेस्रो बलमा दुई लिएपछि दिल्लीले खेल जित्यो।