२०७६ को मंसिरमा नेपालमा आयोजना भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले भारोत्तोलनमा जितेको पहिलो स्वर्ण विशेष थियो।
सागको ३५ वर्षको इतिहासमा नेपालका लागि महिला खेलाडीले भारोत्तोलनमा पहिलो स्वर्ण जित्दै इतिहास रचेकी थिइन्। नेपालगञ्जकी सञ्जु चौधरीले महिला ५९ केजी तौल समूहमा श्रीलंकाका खेलाडीलाई पछि पार्दै स्वर्ण जितेकी थिइन्।
पोखरामा भएको प्रतिस्पर्धामा ऐतिहासिक स्वर्ण जितेपछि उनले सबैभन्दा पहिला भेरी अञ्चल अस्पतालमा काम गर्ने आफ्ना बुबालाई फोन गरेर खुसी साटेकी थिइन्। सुरूमा उनका बुबाले छोरीले स्वर्ण जितेको पत्याएका थिएनन्।
‘साँच्चिकै गोल्ड मेडल आयो त?,’ बुवाले सोधेका थिए।
सञ्जुले दंग पर्दै दोहोर्याएकी थिइन्- साँच्चै हो के बुवा।
बुवाले भनेका थिए, ‘ल ल अझै राम्रो गर्दै जाऊ।’
![](https://www.setopati.com/uploads/editor/Photos/2021/Sports/CRICKET/NSL%20players/all/1575551303Sanju_Chaudhary.jpg)
बुवाले भनेझैं सञ्जुले सागपछि पटक-पटक राष्ट्रिय कीर्तिमान बनाएकी थिइन्। नेपाली भारोत्तोलमा उत्कृष्ट खेलाडीको उपमा पाएकी उनीबाट एसियाली खेलकुदमा पदकको आसा गरिएको थियो।
उनी चीनमा हुने १९औं एसियाली खेलकुदका लागि छनोट भएकी थिइन्। त्यसकै तयारीमा रहेकी सञ्जु एसियाली खेलकुदमा पदक जित्दै बुबालाई अर्को ‘सरप्राइज’ दिने योजनामा थिइन्।
यो योजना अब पूरा नहुने भएको छ। सञ्जुले मंगलबार संसार छाडेकी छन्। नेपाली भारोत्तोलनकी उदयीमान खेलाडी सञ्जु मंगलबार बिहान मृत फेला परिन्।
ललितपुरको महालक्ष्मी नगरपालिका-८ लुभुमा भारोत्तोलन प्रशिक्षक सञ्जय महर्जनको घरको कोठाको सिलिङको फ्यानमा सलको पासो लगाएर झुन्डिएको अवस्थामा उनको शव फेला परेको छ।
नेपाल भारोत्तोलन संघका अध्यक्ष रामकृष्ण श्रेष्ठका अनुसार उनी एसियाली खेलको छनोटको तयारिका लागि प्रशिक्षक महर्जनकै घरमा बसिरहेकी थिइन्।
गत वैशाख १६ गते छनोट भएपछि उनी प्रशिक्षणका लागि सञ्जयसँगै रंगशाला जाने गरेको श्रेष्ठले बताए।
‘हिजो लुभुमा जात्रा भएका करण गुरूको घरमा पाहुना बोलाएको थियो। म पनि गएको थिएँ। अरू साथीहरू पनि आउनुभएको थियो। हामी सबै रमाइरहेकै थियौं। उनले हामीलाई खुवाउन सहयोग पनि गरिरहेकी थिइन्,’ श्रेष्ठले भने, ‘हिजोसम्म हामीले खुसी नै देखेका थियौं।’
साथीहरूलाई भने उनले ख्याल ठट्टामा ‘सुसाइड गर्छु’ भन्ने गरेको आफूले थाहा पाएको श्रेष्ठले बताए।
‘साथीहरूलाई ख्याल-ठट्टा गरेरै सुइसाइड गर्छु भनेकी रहिछन्। त्यसरी पहिला पनि ठट्टा गरेको थियो रे। तर अब मजाक मात्रै गरेको जस्तो लागेको थियो,’ श्रेष्ठले भने, ‘साँच्चै नै समस्या नै भएको भनेको भए त हामी गाइडेन्स दिने थियौं।’
सञ्जुको मृत्युले नेपाली खेलकुदमा ठूलो क्षति पुगेको श्रेष्ठले बताए।
‘हामीले उनीबाट धेरै आसा गरेका थियौं। भारोत्तोलनामा राष्ट्रको खम्बा नै थिइन्। तर दुर्भाग्यवश आज यस्तो घटना भयो। उनका सपनाहरू अधुरै रह्यो,’ श्रेष्ठले भने।
सञ्जुका साथी तथा खेलाडी प्रकाश केसीले पनि सञ्जुले कहिले पनि समस्या देखाउने नगरेको बताए।
‘म पनि हिजो त्यहाँ गएको थिएँ। हामी रमाइरहेकै थियौं। उसैले भोज खुवाउनको लागि घरमा सहयोग गरिरहेको थियो। त्यस्तो समस्या केही थियो जस्तोचाहिँ लागेको थिएन,’ उनले भने।
प्रशिक्षक सञ्जय महर्जनले पनि दु:ख व्यक्त गरे।
‘१५-२० दिनदेखि मेरोमै थिइन्। मलाई केही भनेको थिइन्। अरू साथीहरूलाई त्यो केही भनेको थियो कि!,’ उनले भने।
![](https://www.setopati.com/uploads/editor/Photos/2021/Sports/CRICKET/NSL%20players/all/sanju%202.jpg)
सञ्जुले भारोत्तोलन खेल्न थालेको भने धेरै भएको छैन। पाँच वर्षअघि उनी क्रिकेट र एथ्लेटिक्स छाड्दै भारोत्तोलनमा प्रवेश गरेकी थिइन्।
स्कुल पढ्दा सञ्जुले भारोत्तोलन खेलेर नेपालाका लागि ऐतिहासिक स्वर्ण जित्छु भन्ने कल्पना पनि गरेकी थिइनन्। उनी त बरू क्रिकेटको बल र ब्याट घुमाउँथिन्। दौडिने पनि उनको सोख थियो।
स्कुलमै पढ्दाताका २०६८ मा क्रिकेट र एथलेटिक्समा राष्ट्रिय प्रतियोगिता खेलिसकेकी उनले त्यतिबेलै स्वर्ण पदक जितिसकेकी थिइन्।
एसईई पास भएपछि उनको स्कुलमात्र बदलिएन खेल पनि परिवर्तन भयो। नेपालगञ्जमा क्याम्पस पढ्न थालेपछि उनी जिम जान थालिन्। जिममा फलामका डल्ला उचाल्दाउचाल्दै उनलाई आफू बलियो हुँदै गएको महशुस भयो। राम्ररी जिम गर्ने सञ्जुलाई नेपालगञ्जका भारोत्तोलन प्रशिक्षक सकिल अमद हलवाईले भारोत्तोलनमा ल्याए।
भेरी अञ्चल अस्पतालका कर्मचारी उनका बुबा क्वार्टरमै बस्थे। छोरीले पढ्न छोडेर खेलमा मन डुलाएको उनलाई त्यति मन पर्दैनथ्यो। ‘त्यतिबेला खेलकुदमा लाग्दा बुवाले निकै गाली गर्नुहुन्थ्यो,’ सञ्जुले सेतोपाटीसँग भनेकी थिइन्, ‘भागेर र लुकेर खेल्न जान्थ्यौं।’ उनी राष्ट्रिय टिममा परिसक्दा पनि प्रशिक्षणमा जाँदा उनले बुवाका आँखा छल्नु पर्थ्यो।
पछि उनी काठमाडौं आइन्। नेपालगञ्ज हुँदा त कम खर्च भए नि हुन्थ्यो। काठमाडौंमा खानादेखि कोठा भाडा सबै व्यहोर्नुपर्थ्यो। खेल र डाइटको खर्च त छँदै छ।
‘धेरै सामान चाहिने घरबाट मात्र पैसा मागेर नपुग्ने,’ उनले दुई वर्षअघि सेतोपाटीसँगको कुराकानीमा भनेकी थिइन्, ‘गेम खेलेर केही हुँदैन, खेलेर के हुन्छ र? बुवा भन्नुहुन्थ्यो-उल्टो घरबाट पैसा माग्छौ?’
बेलाबेला उनलाई पनि दिक्क लाग्थ्यो। सोच्थिन्- खेलकुद छोडेर अरू नै पेसा व्यवसायमा लागौं कि क्या हो। तर खेलकुदमा उनको मन बसिसकेको थियो चटक्कै बिर्सन सकिनन्।
राष्ट्रिय प्रतियोगितामा स्वर्ण जितेपछि घर परिवारबाट उनलाई पूर्ण समर्थन आउन थालेको थियो।
![](https://www.setopati.com/uploads/editor/Photos/2021/Sports/CRICKET/NSL%20players/all/26685111_566629503684442_2945682055283916696_o.jpg)
भारोत्तोलनमा एकल प्रयासमा राम्रो गर्न सकिने उनको बुझाइ थियो।
भारोत्तोलन खेल्न थालेको तीन वर्षमै उनले नेपाललाई सागमा ऐतिहासिक स्वर्ण दिलाएकी थिइन्।
तीन वर्षअघि पुलिसमा आबद्ध हुँदै भारोत्तोलन खेल्ने गरेकी सञ्जु पछिल्लो समय भने बाँके जिल्लाबाट खेल्ने गरेकी थिइन्।