नेपाली राष्ट्रिय फुटबल टिमका पूर्वकप्तान विराट महर्जन च्यासल युथ क्लबमा आबद्ध भएका छन्।
क्लबले आजै प्राविधिक निर्देशक ली मान्सनसँग पनि अनुबन्ध सम्झैता गरेको छ।
अखिल नेपाल फुलटबल संघ (एन्फा) एकेडेमीका उत्पादन विराजले नेपाली राष्ट्रिय फुटबल टिमबाट ७३ खेल खेलिसकेका छन् । २००८ मा पोखरामा सम्पन्न पाकिस्तानविरुद्धको मैत्रीपूर्ण खेलबाट विराजले नेपालको राष्ट्रिय टोलीमा डेब्यू गरेका हुन् । विराजले नेपालका लागि १८ खेलमा कप्तानी गरिसकेका छन् ।
विराजकै कप्तानीमा नेपालले बंगबन्धु गोल्डकप र १२औं दक्षिण एसियाल खेलकुद (साग) को उपाधि जितेको थियो। त्यस्तै एएफसी सोलिराडिटी कपमा विराजले नै आर्म ब्याण्ड लगाएर टिमको नेतृत्व गरेका थिए । उक्त प्रतियोगितामा नेपालले उपाधि जितेको थियो।
विराजले यसअघि संकटा, एनआरटी, मनाङ मर्याङ्दी, थ्री स्टार र मछिन्द्र फुटबल क्लबबाट शहिद स्मारक ‘ए’ डिभिजन लिग खेलिसकेका छन्। विराजले मनाङ, थ्री स्टार र मछिन्द्र क्लबबाट लिगको उपाधि जितिसकेका छन्। मनाङ र मछिन्द्रले उपाधि जित्दा विराजले कप्तानी गरेका थिए।
स्कटलल्यान्डका ली मान्सन पछिल्लो २५ वर्षदेखी फुटबल प्रशिक्षणमा सक्रिय छन्। उनी पछिल्लो समय लाओस एफसीमा प्राविधिक निर्देशकका रुपमा आवद्ध थिए। उनीसँग फिलिपिन्सको पुरुष यु–२३ र महिला राष्ट्रिय टोली सम्हालिसकेको अनुभव छ। मान्सनले एएफसी च्याम्पियन्स कप खेलिसकेको टोली ग्लोबल एफसीमा ६ वर्ष मुख्य प्रशिक्षक भएर काम गरेका थिए ।
मान्सनले खेलाडी जीवनमा स्कटल्यान्डको ग्रेटना र क्विन अफ दी साउथबाट खेलेका थिए। उनले अमेरिकाको रिचमण्ड किकर्सबाट फुटबल खेलेका थिए।
क्लबले आगामी सिजनको सहिद स्मारक ‘ए’ डिभिजन लिगका लागि अन्तर्राष्ट्रिय खेलकुद सामाग्री उत्पादक कम्पनी ‘यूक्यान’सँग ‘किट’ प्रयोजक सम्झैता गरेको छ।
प्रायोजन सम्झैता पत्रमा यूक्यानका तर्फबाट सीटीएल कम्पनी प्रालीका प्रबन्ध निर्देशक राजेन महर्जन र च्यासल युथ क्लबका तर्फबाट अध्यक्ष रमेश बेञ्जनकारले हस्ताक्षर गरे। सम्झैताअनुसार सीटीएलले क्लबलाई आवश्यक खेल सामाग्री उपलब्ध गराउनेछ। त्यस्तै च्यासल युथ क्लबले सिजनभर यूक्यान ब्रान्डको सामाग्री प्रयोग गर्नेछ।
२०६४ सालमा सहिद स्मारक ‘सी’ डिभिजन लिगमा छनोट भएको च्यासल युथ २०६६ सालमा ‘बी’ डिभिजन लिगमा उक्लिएको थियो। २०७३ सालमा ‘बी’ डिभिजन लिगको विजेता बन्दै च्यालस युथ क्लब ‘ए’ डिभिजन लिगमा उक्लिएको हो।