तिहारमा व्यग्यात्मक देउसी भैंलो हुँदै पछिल्लो समय सुशासन र भ्रष्टाचार विरूद्ध व्यग्यात्मक खबरदारी गर्दै आएको 'सिस्नुपानी नेपाल'ले शुक्रबार कुशें औशी अर्थात बाबुको मुख हेर्न दिनको अवसर पारेर बाबुहरूप्रति समर्पित कार्यक्रम गर्यो।
राजधानीको प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभागृहमा भएको सो कार्यक्रममा कलाकार, कवि तथा गायकहरूले बाबुहरूप्रति समर्पित श्रृजना प्रस्तुत गरेका थिए।
करिब २ घण्टा चलेको कार्यक्रममा स्रष्टा कलाकारहरूले आफ्ना प्रस्तुतिबाट दर्शकहरूलाई हसाउने र भावुक दुबै बनाउने काम गरे।
बाँसुरीवादक नगेन्द्रविक्रम र तबलावादक प्रमोद उपाध्यायको समूहले बाँसुरीको धुनमै राष्ट्रगान बजाएर सुरु भएको कार्यक्रममा गायिका आनी छोइङ डोल्माले आफ्नो बुवा र गुरुप्रति समर्पित गर्दै सांगीतिक प्रस्तुति दिइन् ।
यस्तै भजन शिरोमणी भक्तराज आचार्यका गायकद्वय छोराहरू सत्यस्वरूपले आफ्ना पिताको सम्झनामा ‘बाबा’ बोलको गीत गाएर माहोललाई भावुक बनाए ।

यस्तै कहिले बाबुको अनुहार हर्न नपाएका कलाकार मनोज गजुरेलले आफ्नो नागरिक्तामा रहेको बाबुको नाम र उनले दिएको 'मायानाथ' नाम गरी दुईवटा चिनो आफूसँग रहेको बताउँदै 'बा पुराण' सुनाउँदा प्रेक्षालयमा उपस्थितहरू झनै भावुक बनेका थिए। मनोजले सुरूमा हसाउँदै अन्तमा आँखा रसाउने बनाए।
त्यस्तै लोकप्रिय कलाकार मदनकृष्ण श्रेष्ठले पनि मनोज झैं सुरूमा ठट्यौलीपारामा बाबुका बारेमा भन्दै उपस्थितहरूलाई अन्तमा भावुक बनाए।
सो कार्यक्रममा कार्यक्रममा हेम प्रवासले 'मेरा बा किसान' हुन् शीर्षकको कविता सुनाए भने कवि डा. रामप्रसाद ज्ञवाली, बिना थिङ, विप्लव प्रतीक, डा. विप्लव ढकाल तथा सिस्नुपानी नेपालका महासचिव टंक राज आचार्यले बुवाको नाममा कविता सुनाएका थिए।
कार्यक्रममा सिस्नुपानीका अध्यक्ष लक्ष्मण गाम्नागेले मेरा बा शीर्षकको कविता सुनाएर सबैलाई हँसाए। कार्यक्रममा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, अर्थमन्त्री युवराज खतिवडा, मन्त्री लालबाबु पण्डितलगायतको उपस्थिति रहेको थियो ।