टेलिभिजन सिरियलका दर्शकमाझ चर्चित कलाकार मरिचमान श्रेष्ठ (बल्छी धुर्बे) फिल्म 'गोबर गणेश' निर्माणको तयारीमा छन्।
उनको निर्देशनमा बन्न लागेको फिल्मको मंगलबार औपचारिक घोषणा गरिएको छ।
बल्छी धुर्बे फिल्मसको प्रस्तुति रहने फिल्मको रिलिज मिति समेत तय गरिएको छ। फिल्म माघ १ गतेदेखि प्रदर्शनमा आउनेछ।
'मेरी बास्सै' बाट दर्शकमाझ लोकप्रिय बनेका मरिचमान पछि आफै टेलिचलचित्र निर्देशनमा आएका थिए। उनका टेलिचलचित्र 'हल्का रमाइलो' र 'जुठे' दर्शकमाझ लोकप्रिय छन्। अहिले उनले पहिलोपटक फिल्ममा पाइला चालेका हुन्।
मरिचमान आफैं भने आफूले निर्देशन गर्ने फिल्ममा अभिनय गर्नेछन् वा छैनन् उनले खुलाएका छैनन्।
फिल्मको अभिनेत्रीमा वर्षा सिवाकोटी अनुबन्धित भइसकेकी छन्। यस्तै अन्य कलाकारहरूमा पदम तामाङ, सन्तोष बानिया, माओत्से गुरूङ, सीतादेवी तिमल्सिना, पुजन घिमिरे (पुकु) लगायत छन् । सीतादेवी हास्य कलाकार केदार घिमिरेकी श्रीमती हुन्। पुजन ‘हल्का रमाइलो’ सिरियलकी कलाकार हुन्। पदम र सन्तोष 'होस्टल ३' बाट चर्चामा आएका कलाकारहरू हुन्। निर्माणपक्षले कलाकारबारे आधिकारिक जानकारी भने दिएको छैन।
निर्देशक मरिचमानले कलाकार र प्राविधिकको नाम विस्तारै सार्वजनिक गर्दै जाने बताए।
उनले भने, 'अहिलेलाई टाइटल घोषणा गर्दै रिलिज डेट लक मात्रै गरेका हौं। हाम्रो फिल्मको कथा के हो पनि हामी आगामी दिनमा खोल्दै जाने नै छौं। तर, जनरा भने नामबाटै प्रष्ट भइसकेको छ, हामी हसाउन आउने हो। कमेडीको जगमा गोबर गणेश आउनेछ।'
टौवा स्टुडियोको पब्लिसिटी डिजाइन रहने फिल्मको डिजिटल पार्टनरमा ओएसआर डिजिटल छ। नेपालमा यो फिल्मको वितरण श्री ब्याकटेस इन्टरटेनमेन्टले गर्नेछ।